टोयोटा १ करोड ६४ लाख डलर तिर्न तयार


विश्वकै सबैभन्दा विशाल कार निर्माता टोयोटाले अमेरिकी सरकारले तोकेको १ करोड ६४ लाख डलरको ऐतिहासिक जरिवाना तिर्ने भएको छ । यो जरिवाना टोयोटालाई ग्यास पेडालको समस्या लुकाएकोमा तिराएको हो । टोयोटाले जरिवाना तिर्ने सम्झौताको कागजपत्रमा सोमबार हस्ताक्षर गरेको हो ।“टोयोटाले सुरक्षा त्रुटि लुकाएर कानुनको उल्लंघन गरेकोले जरिवाना तिर्दैछ”, एक उच्च अमेरिकी सरकारी अधिकारीले भने । टोयोटाका एक प्रवक्ताले यसबारे टिप्पणी गर्नका लागि अस्वीकार गरे पनि कम्पनी जरिवाना तिर्नको लागि सहमत भएको हो ।  कम्पनीले यो जरिवाना ३० दिनको अवधिमा तिर्ने बताएको छ । “उपभोक्तालाई खतरा आउन सक्ने सम्भावना भएको कुरा थाहा पाए पनि ४ महिनासम्म टोयोटाले खतरनाक स्टिकी पेडालका बारेमा जानकारी गराएको थिएन”, राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले भनेको छ । यातायात विभागले कार निर्मातालाई तिराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।
यो भन्दाअगाडि पेडाल त्रुटिका कारण कम्पनिले अमेरिकाबाट २३ लाख कार फिर्ता गरिसकेको छ ।
विभिन्न समस्याका कारण विश्वव्यापी रूपमा कम्पनिले ८० लाखभन्दा बढी कार फिर्ता गरिसकेको छ । फिर्ता गरिएका प्रायः कारमा स्टिकिङ एक्सिलेरेटर पेडालको समस्या छ । ग्यास पेडाल त्रुटिका कारण अचानक एक्सिलेरेसनमा समस्या आएको र यसले अमेरिकामा ५० जनाको मृत्यु भएको आरोप छ ।
सान डियागो अदालतले अमेरिकाभरिबाट २ दर्जन महान्यायधिवक्ताको तर्क अध्ययन गरिरहेको छ । उनीहरूले संयुक्त रूपमा १ अर्ब डलर जरिवाना तिराउनुपर्ने तर्क राखेका थिए ।
मार्चमा अमेरिकी सरकारले टोयोटा र अन्य ब्रान्डका कारमा देखिएको अनिच्छुक एक्सिलरेसनका बारेमा अनुसन्धानलाई निरन्तरता दिने घोषणा गरेको थियो । यसका लागि अमेरिकी सरकारले नासाको पनि सहयोग माग गरिएको छ ।
यातायात विभाग स्वयं पनि टोयोटालगायतका कारमा देखिएको समस्याका बारेमा समीक्षा गर्न असक्षम भएकोमा चर्को आलोचनाको सामना गरिरहेको छ, तर यो विषयमा जापानी कार निर्माताले भने बढी नै आलोचना सहनु परेको छ ।
टोयोटाले सन् २००८ मा अमेरिकाको जीएम मोटर्सलाई उछिनेर विश्वको सबैभन्दा ठूलो कार निर्माताका रूपमा स्थापित भएको थियो, तर सुरक्षा कारणले टोयोटामाथि बढ्दो आरोपले उसलाई यो स्थानमा कायमै राख्न सफल होला वा नहोला भन्ने विषय अहिले बढी चर्चामा छ ।
टोयोटाका कार्यकारीहरू यो वर्षको सुरुमै सुरक्षा मामलामा जानकारी दिन अमेरिकी कांगे्रसमा धाउनुपरेको थियो ।
कम्पनीको ख्यातिमा आघात पु¥याउने किसिमबाट गत साता फेरि अर्को घटना दोहोरिएको छ ।
खेलकुद प्रयोजनको टोयोटाको अर्को ब्रान्ड लेक्सास जीएक्स–४६० लाई पनि गत साता मात्र अमेरिकी म्यागेजिनले सुरक्षाका कारण किन्न नहुने सूचीमा राखेको थियो ।
यो सवारीमा जगेडाका रूपमा राखेको टायर खियाका कारण बाटोमा झर्न सक्ने र यसले अन्य सवारी चालकलाई खतरामा पार्न सक्ने सम्भावना भएको यातायात विभागले जनाएको छ, तर यसबारेमा टोयोटाले उपभोक्ताबाट कुनै पनि किसिमको गुनासो नआएको स्पष्ट पारिसकेको छ । अमेरिकी यातायात विभागले भने उपभोक्ताबाट यो समस्याका बारेमा ६ ओटा गुनासो आएको बताएको थियो ।
गत साता मात्र टोयोटाले अमेरिका र क्यानडाबाट खिया समस्याका कारण ८ लाख ७० हजार सियना मिनिभ्यान फिर्ता गर्ने घोषण गरिसकेको छ ।
टोयोटाले सियना मिनीभ्यान चिसो वातावरणमा चलाएमा यसमा राखिएको जगेडा टायरको तारमा खिया आउने अनुभव गरेको बताएको छ । टोयोटाले प्राप्त उजुरीहरूउपर पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s