आइसल्यान्ड ज्वालामुखीको असर / नेपालले ३ हजार पर्यटक गुमायो / २ हजार नेपालमै अड्किए

काठमाडौं, आइसल्यान्डमा ज्वालामुखी विस्फोटपछि युरोप र्फकनुपर्ने झन्डै २ हजार पर्यटक नेपालमा नै अड्किएका छन् भने दैनिक रूपमा नेपालले ४ सय युरोपेली पर्यटक गुमाएको छ। त्रिभुवन विमानस्थल अध्यागमन विभागका प्रमुख खडानन्द ढकालका अनुसार सामान्य दिनमा दैनिक ५ सय भिसा लाग्ने गरेकोमा एक हप्तायता दैनिक डेढ सय मात्र भिसा लाग्ने गरेको छ। यसबाट करिब ३ हजार पर्यटक नेपालले गुमाउनुपरेको छ।
यद्यपि अन्य राष्ट्रमा आइरहेका पर्यटकहरू युरोप र्फकन नसक्ने भएपछि नेपालमा आउन थालेका छन्। तुलनात्मक रूपमा अन्य राष्ट्रमा भन्दा नेपाल वातावरणीय रूपले मौसम अनुकूल भएकाले पर्यटकहरू नेपाल आउन थालेका छन्। अन्य देश घुमिसकेको अवस्थामा र युरोप फर्किन नसक्ने परिस्थितिमा सार्क क्षेत्रमा र पूर्वी एसियामा रहेका पर्यटकलाई तान्न सकेको खण्डमा गुमेको पर्यटक संख्या पाउन सकिने आँकलन पर्यटन व्यवसायीहरूले गर्न थालेका छन्। नजिकिँदो बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम राख्न सकेको खण्डमा र मौकामा एसियाली राष्ट्रमा प्रचारप्रसार तीव्र पारी ती देशहरूमा रहेका ट्राभल एजेन्सीहरूसँग सर्म्पर्क कायम गर्न सकेको खण्डमा पर्यटक संख्या बढ्ने देखिन्छ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठका अनुसार युरोपबाट सीधै नेपाल आउने विमान नभएकाले नेपालको अन्तर्राष्ट्रिय उडानमा कुनै प्रभाव परेको छैन। सबै विमान सेवाले निरन्तर रूपमा उडान भरिरहेकाले यसको फाइदा नेपालले लिन सक्नुपर्ने ठम्याइ उहाँको रहेको छ।
नेपाललाई कनेक्टिङ गरेर गल्फ एयर, थाइ एयरवेज, ड्रागन एयर, इत्तेहाद एयरवेज, एयर अरेबिया, कोरियन एयर, कतार एयरवेज, फ्लाइ दुबईलगायतले उडान भर्दै आएका छन्। ती विमानसेवाहरू युरोप नगए पनि नेपालमा भने आइ नै रहेका छन्।
नेपालमा नेदरल्यान्डबाट सीधा उडान भर्ने आर्के विमान मात्रै रहेको छ। सोमबार आउनुपर्ने सो विमान आइसल्यान्डको ज्वालामुखी र त्यसले युरोपेली आकाशमा पारेको प्रभावका कारण नआएको त्रिभुवन विमानस्थलले जनाएको छ।
अप्रिल महिना नेपालको पर्यटकीय मौसमको रूपमा नपर्ने भएकाले यो मौसममा खासै पर्यटकको आगमन नहुने तथ्यांक नेपाल पर्यटन बोर्डको रहेको छ। यद्यपि ४० प्रतिशत पर्यटक आगमनको हिस्सा बोकेको युरोपमा आएको प्राकृतिक विपत्तिका कारण नेपालको पर्यटन व्यवसायमा गम्भीर असर पर्ने भएकाले नेपाली पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताउनुभयो।
यसैबीच नेपालमा रहेका पर्यटकहरूले पनि भिसा सकिन लागेपछि भिसा थप्न थालेका छन्। १५ दिनको भिसा शुल्क ३० डलर मात्रै रहेकाले पर्यटकहरूलाई खासै आर्थिक भार नपर्ने भएकाले भिसा शुल्कमा कटौती नगर्ने अध्यागमन विभागले जनाएको छ। यसअघि नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटो) ले भिसा शुल्क कम गर्न आग्रह गरेको थियो।
अध्यागमन विभाग प्रमुख ढकालले अध्यागमन ऐन र नियमावलीले प्राकृतिक प्रकोप, दैवी विपत्तिमा परिस्थिति हेरी भिसा बढाउन सक्ने प्रावधान रहेको बताउनुभयो। सात दिनसम्मका लागि विभागले नै त्योभन्दा बढी समयावधिका लागि मन्त्रालयले भिसा थपिदिने व्यवस्था रहेको छ।
विदेशमा फसेका नेपालीहरूलाई कुनै पनि विकसित मुलुकले भिसा शुल्क घटाउने वा मिनाहा गर्ने सूचना आइ नसकेको परिस्थितिलाई मध्यनजर गरी नेपालले पनि तत्काललाई भिसासम्बन्धी थप निर्णयनगर्ने त्रिभुवन विमानस्थल, अध्यागमन विभाग प्रमुख ढकालले बताउनुभयो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s