काठमाडौ, - भारतीय राजदुत राकेश सुदले आफ्नो मुलुकसंग असल सम्बन्ध कायम गर्न माओवादीले भारतबिरोधी अभिव्यक्ति तत्काल रोक्नुपर्ने बताएका छन् । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको अनुरोधमा भएको भेटवार्तामा उनले माओवादीका पछिल्ला गतिबिधि द्धिपक्षीय सम्बन्धका लागि अहसयोगी रहेको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका हुन् । ‘माओवादीका पछिल्ला अभिव्यक्ति असहयोगी छन् । यदी माओवादी भारतसंग असल सम्बन्ध चाहन्छ भने उसले भारतबिरोधी अभिव्यक्ति रोक्नुपर्छ,’ राजदुत सुदले अध्यक्ष दाहालसंगको भेटवार्तामा भनेको दुतावास स्रोतले कान्तिपुरलाई बिहीबार बताए ।
करिव एक घण्टा भएको भेटमा राजदुत सुदले माओवादीले भारतीय संयुक्त लगानीका उद्योगलाई निशाना बनाएको मुद्दा बिशेष रुपमा उठाएका थिए । त्यस अवसरमा अध्यक्ष दाहालले भारतसंग असल सम्बन्ध पुर्नस्थापित गर्न चाहेको इच्छा व्यक्त गरेको र राजदुतले त्यस्तो सम्बन्ध ठोस कार्यबाट गर्न सकिने जबाफ दिएको समेत श्रोतले जनाएको छ ।
राजदुत सुदले शान्ति प्रक्रिया र संविधान निर्माणमा भइरहेको ढिलाईप्रति चासो ब्यक्त गर्दै बहुदलिय प्रजातन्त्रप्रति व्यक्त प्रतिबद्धतालाई पुर्नस्थापित गर्न माओवादीलाई आग्रह पनि गरे । श्रोतका अनुसार, राजदुतले त्यस्तो बिश्वास ठोस र बिशेष पहलबाट मात्र प्राप्त हुनेसमेत बताएका थिए ।













































