नारायणहिटीका सामान गायब

इश्वरराज ढकाल, (काठमाडौं), नारायणहिटी राजदरबारलाई संग्रहालयमा रूपान्तरण गर्नुअगाडि बेपत्ता बनाइएका १ सय ५१ थान पुरातात्त्विक, ऐतिहासिक र बहुमूल्य सामग्रीका बारेमा अझै पत्तो लाग्न सकेको छैन।

पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्नुअगाडिको लगत र दरबार छाडिसकेको अवस्थाको लगत जाँच गर्दा उक्त परिमाणको सामग्री नपुग भएको पाइएको छ।

तत्कालीन प्रमुख राजदरबार समारोह प्रबन्ध कार्यालयबाट नारायणहिटी दरबारको सम्पत्ति नेपाल सरकारको जिम्मामा ल्याउन सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव डा. गोविन्द कुसुमको अध्यक्षतामा गठित समितिले आयोगमा बुझाएको लगत र हाल प्रदर्शनमा रहेको तथा आगामी दिनमा प्रदर्शनमा आउने कक्ष र सोसँग सम्बन्धित लगतबमोजिम स्थलगत रूपमा रुजु गर्दा ती सामानहरू नपुगेको भन्दै नारायणहिटी संग्रहालयले प्रशासन शाखालाई पत्र लेखेको छ।

हराएका सामानहरूमा हाल प्रदर्शनमा रहेका २० वटा कक्षमध्ये सबैभन्दा बढी इलाम कक्षमा रहेका र्याकमा भएका महत्त्वपूर्ण किताब रहेका छन्। पूर्वराजा ज्ञानेन्द्रले अफसि कक्षको रूपमा प्रयोग गरेको उक्त कक्षबाट महत्त्वपूर्ण ७७ थान किताब र दस्तावेज गायब भएका छन्। सोही कक्षमा राखिएको बुद्धको ऐतिहासिक मूर्तिसमेत हराएको छ।

संग्रहालयको प्रशासन शाखालाई दिएको हराएको सामानको सूचीसहितको अति गोप्य प्रतिवेदनमा पूर्वराजा ज्ञानेन्द्रले पुस्तकालय र विश्रामकक्षका निम्ति पुस्तकालयका रूपमा प्रयोग गरेका रुकुम कक्षको र्याकमा राखिएका २१ थान किताब हराएका छन्। त्यसै गरी राजा त्रिभुवनले संग्रह गरेका सामग्री राखिएको मुगु कक्षको र्याकमा राखिएका १० थान विभिन्न सामग्री हराएका छन्। त्यस्तै विशेष आकर्षाको रूपमा रहेको धनुषा बैठक कक्षबाट विभिन्न गण, गुल्म र बाहिनीका चिहनहरू, क्युरियो सामान गरी १० थान बहुमूल्य सामग्री गायब गरिएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले दशैंमा टीका लगाउने, मान, पदवी र तक्मा प्रदान गर्ने कक्षको रूपमा रहेको धनुषा बैठक कक्षबाट महत्त्वपूर्ण सामग्री हराएको स्रोतले बतायो। विदेशी राष्ट्रबाट आउने राष्ट्रध्यक्षको स्वागत, राजदूत नियुक्ति हुँदा ओहदाको प्रमाणपत्र प्रदान गर्ने र संवैधानिक अंगका प्रमुखलाई शपथग्रहण गराउँदा प्रयोग गरिने कास्की बैठक कक्षबाट विभिन्न सजावटका ६ थान सामान हराएका छन्।

विभूषण वितरण कार्यक्रममा बर्दी नभएका राजपरिवारका अन्य सदस्य बसी कार्यक्रम अवलोकन गर्ने डोल्पा कक्षबाट ३ थान सजावटका सामान, लमजुङ कक्षबाट केड नाइफ, डेजर्ड चम्चा, पर्वत कक्षबाट सजावटका सामान, सिराहा कक्षमा राखिएको सिगेरट केस, झापा कक्षबाट चाइनिज माटाको भित्तेघडी, गणेश हिमाल कक्षको करिडोरमा राखिएको छालाको मेच, टेलिफोन सेट, धनुषा कक्षको भित्र भान्सामा राखिएको ठूलो टेबल २ थान, प्युठानस्थित सिनेमा हल रहेको कक्षबाट क्रिस्टल एस्टे्र ३ थान, अन्नपूर्ण कक्षको करिडोरमा राखिएको स्वर्गीय महेन्द्रको तस्वीर, धनुषा कक्षभित्र नीलो भर्याङको भित्तामा झुन्डयाइएको ढाल, पाल्पा कक्षमा राखिएको पशुपतिनाथको फ्रेम, राजारानीको तस्वीर, तनहुँ कक्षमा राखिएको तस्वीर र किस्तीलगायतका सामग्री गायब भएका छन्।

हराएको सामान खोजी गर्ने विषयमा संग्रहालय प्रशासनले वास्ता नगरेको बताउँदै स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- ‘अझै खोल्न बाँकी केही कक्षका समेत सामान हराएको हुन सक्छ।’

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s