लेबनानमा नेपाली युवतीमाथि पारिवारिक बलात्कार


काठमाडौ, चैत्र ५ – सरकारले सुरक्षित गन्तव्य भन्दै पुनः खुलाउन लागेको मध्यपूर्वी मुलुक लेबनानमा सामूहिक पारिवारिक बलात्कारमा परेकी एक युवती न्याय माग्दै अदालत जाने भएकी छन् । नेपाली महिला असुरक्षित भएको भन्दै वैदेशिक रोजगार विभागले गत मंसिरदेखि लेबनान जान रोक लगाएको थियो । घरेलु काम (हाउसमेड) मा लेबनान गएकी ३० वर्षीय युवती घरमालिक र उनका दुई छोराहरूको सामूहिक बलात्कारमा परेकी थिइन् । अध्यागमन विभागले पीडकहरूलाई कारबाही गर्न नसकेपछि उनी नेपाली कन्सुलर र नेपाली समुदायको सहयोगमा लेबनानी अदालतमा जान लागेकी हुन् । यहाँको अध्यागमनले यो मुद्दा टुंग्याउन सकेन, लेबनानस्थित अवैतनिक दूत दीपेन्द्र उप्रेतीले कान्तिपुरलाई फोनमा भने, अध्यागमनले अनुसन्धान गरिसकेको छ । अब हामी नेपाली चेलीलाई न्याय दिलाउन पहिलो पटक यहाँको अदालतको ढोका ढक्ढकाउँदै छौं ।

घरमालिक्नीको सहयोगमा घरमालिक र तिनका छोराहरूबाट बलात्कृत भए, पीडितले अध्यागमन अधिकारीहरूलाई दिएको बयान उद्धुत गर्दै उप्रेतीले भने, बलात्कार कहिले एक व्यक्तिबाट त कहिले सामूहिक रूपमा हुन्थ्यो । पीडित युवतीका अनुसार काम सुरु गरेको तीन महिनादेखि नै घरमालिक्नीले आफ्ना श्रीमान र छोराहरूसँग शारीरिक सम्पर्क राख्न दबाब दिएकी थिइन् । उनी डेढ वर्षअघि त्यहाँ पुगेकी थिइन् । सँगैको घरमा काम गर्ने नेपाली युवतीको सहयोगमा त्यस घरबाट भागेर उनी नेपाली कन्सुलरमा पुगेपछि घटना सार्वजनिक भएको हो ।

प्रवासी कामदारमा हुने यस्ता अपराधमा महिलासमेत संलग्न भएको यो पहिलो भएको अध्यागनका अधिकारीहरूले बताएका छन् । विभागले घरमालिक र उनका जेठा छोराको नागरिकता जफत गरेको छ । माइला छोरा फरार छन् । अदालत जाने भएपछि नागरिकता जफत गरी पक्राउ परेका जेठो छोरा मारवानलाई बुधबार तारेखमा छाडिएको छ, उनले भने ।

उप्रेतीका अनुसार १० दिनको बीचमा पारिवारिक बलात्कारमा परेका अर्का दुई नेपाली युवती पनि कन्सुलरको सम्पर्कमा आएका छन् । मंगलबार राति झापाकी २७ वर्षीया एक युवती शरणमा आएकी छन् । १० दिनअघि फोन सम्पर्कमा आएकी ती युवतीको अवस्था भने अज्ञात छ । ती युवतीले आफू गर्भवती भएको बताएकी थिइन्, उनले भने, ‘उनी निकै हडबढाएकी थिइन् । ठेगाना स्पष्ट भनिनन् । उनले फोन गरेको नम्बरमा गर्दा लेबनानी पुरुषले उठाउँछ ।’

उनका अनुसार लेबनानमा घरेलु महिला कामदारलाई श्रम कानुन नलाग्ने भएकाले ती महिलाहरूको सुरक्षा गर्ने निकाय बलियो नहुँदा नेपाली महिला बढी समस्यामा छन् । लेबनानीहरूमाझ नेपाली चेलीलाई जे गर्दा पनि सुरक्षित भइन्छ भन्ने छ, उनले भने, त्यसकारण उनीहरू ढुक्कसँग नेपाली चेलीमाथि अन्याय गर्छन् । बलात्कृत घटनाहरू दर्जनौं आइसके । सबैलाई मालिकसँग टिकट मागेर स्वदेश फिर्ती गर्ने काम मात्रै हुन्थ्यो, गैरआवासीय नेपाली समवन्य समिति लेबनानका अध्यक्षसमेत रहेका उप्रेतीले भने, अब उनीहरू (घरमालिक) लाई छाडिँदैन । जति चेली पीडित भएर आउँछन् । उनीहरूलाई न्याय दिन अदालत जानेछौं ।  

घरमालिकको यातना सहन नसकेर कात्तिक मसान्तसम्म ५ साता अवधिमा ९ नेपाली महिलाले आत्महत्या गरिसकेका छन् । लेबनानमा हाल १७ हजार नेपाली कामदार छन् । तीमध्ये ९५ प्रतिशत घरेलु कामदार हुन् । उनीहरू काम गर्ने घरमा हाम्रो पहुँच छैन, उनले भने, पीडित भएका अधिकांश महिलाहरूको पहुँच हाम्रो छैन । थोरै मात्रै फट्टाफुट्टामा हामीमाझ आइपुग्छन् । अहिले त्यसरी भागेर आएका सात जना महिलाहरू एक संस्थाले सञ्चालन गरेको सेफ हाउसमा बसिरहेका छन् । उनका अनुसार लेबनामा महिला कामदारहरू असुरक्षित भए पनि कामदार पठाइरहेको प्रति चिन्ता व्यक्त गर्छन् । यहाँ महिला कामदारको अवस्था दयनीय छ तर सरकार यसलाई सुरक्षित र आकर्षक गन्तव्य देख्छ, उनले भने, यहाँ नेपालको आधिकारिक निकाय कोही छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s