फागुन २१- जापान सरकारले सामुदायिक पहुँच सुधार परियोजना कार्यान्वयन गर्न नेपाललाई ८१ करोड ७७ लाख ४० हजार रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ।
सहयोगस्वरुप प्राप्त हुने उक्त रकम बनेपा–सिन्धुली–बर्दिवास सडकलाई जोड्ने १३ वटा सहायक मार्गमा हरेकयाममा सवारीसाधन सञ्चालन गर्न सकिने ३५ वटा पुल निर्माणमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ।
अनुदान सहायतासम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत तात्सुओ मिजोनो र अर्थ सचिव रामेश्वरप्रसाद खनालले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।
आगामी दुई वर्षमा समाप्त गर्ने लक्ष्यका साथ स्थानीय विकास मन्त्रालयले उक्त परियोजना कार्यान्वयन गर्नेछ।















































