काठमाडौ, फाल्गुन १९ – सरकारले रोजगारीमा कतार जाने नेपाली कामदारको न्यूनतम मासिक पारिश्रमिक ८ सय रियाल -करिब १६ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियामा जानेका लागि ६ वर्षअघि तोकिए पनि त्यसयता न्यूनतम पारिश्रमिक तोकिएको थिएन । सरकारले त्यतिबेला मलेसियाका लागि तोकेको १ सय २५ अमेरिकी डलर -करिब ९ हजार रुपैयाँ) लाई आधार बनाएर अरू मुलुकका लागि पनि श्रम स्वीकृति दिँदै आएको थियो । श्रममन्त्री मोहमद अफ्ताब आलमको अध्यक्षतामा बुधबार बसेको मन्त्रीस्तरको बैठकले पारिश्रमिक तोकेको हो । सबैभन्दा धेरै नेपाली कामका लागि गएको कतार दोस्रो मुलुक हो ।
श्रम सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार ५७ क्षेत्रमा जाने कामदारलाई चार तहमा वर्गीकरण गरी पारिश्रमिक तोकिएको छ । ‘अदक्षलाई ८ सय, अर्धदक्षलाई १३ सयदेखि १८ सय र उच्च दक्षलाई ३ हजार ७ सयदेखि १० हजार २ सय कतारी रियाल तोकिएको छ,’ उनले भने, त्यहाँको श्रम बजारको आवश्यकता, माग र नेपाली जनशक्तिको आपूर्तिको आधारमा पारिश्रमिक तोकिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारको तलब ६ वर्षदेखि परिमार्जन भएको छैन । ‘अब बाँकी मुलुकको पनि छिट्टै पारिश्रमिक तोक्ने प्रक्रियामा सरकार छ, भट्टराईले कान्तिपुरसँग भने, ‘वैदेशिक रोजगारीमा प्रमुख गन्तव्य मानिएका मुलुकहरूको अब छुट्टाछुट्टै पारिश्रमिक दर निर्धारण हुनेछ ।’
मन्त्रालयले प्रमुख गन्तव्य मानिएको खाडीका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुबेत, मलेसियामा रहेका नेपाली दूतावासहरूलाई ‘समयअनुकूल तलब बढाउनुपर्ने अवस्था भए नभएको’ भनेर सुझाव दिन डेढ महिना अगाडि नै पत्र पठाइसकेको बताएको छ । ‘वैदेशिक रोजगारीमा जान लाग्ने लागत, प्रतिस्पर्धी मुलुकको ज्याला हेरफेर, संख्यात्मक, गुणात्मक तथा रेमिट्यान्सको अनुपात र रोजगारीको अवसरलाई दृष्टिगत गरी पारिश्रमिक निर्धारण गरिनेछ,’ उनले भने ।
दोहास्थित नेपाली दूतावासले सिफारिस गरेको आधारमै पारिश्रमिक तोकिएको छ । सरकारले तोकेको पारिश्रमिकबाट सबैभन्दा बढी अदक्ष कामदारलाई राहत पुगेको छ । त्यहाँ जाने कामदारमध्ये अदक्ष ७०, अर्धदक्ष २७, दक्ष र उच्च दक्ष गरी ३ प्रतिशत छन् । अर्धदक्षमा पनि सबैभन्दा बढी लेबर, क्लिनर, हेल्पर, स्विपर र वाचम्यान पर्छन् । कतारमा ४ लाख २५ हजार कामदार रहेको सरकारी तथ्यांक छ ।
दूतावासले गत जनवरी १ देखि लागू हुनेगरी खानामा दुई सय थपेर अदक्ष कामदारको तलब आठ सय रियाल पुर्याएको थियो । मन्त्रालयले त्यसैलाई वैधता दिएको छ । दूतावासले दुई वर्षअघि पनि एकतर्फी रूपमा चार सयबाट दुई सय थप गरी छ सय रियाल बनाएको थियो । पछिल्लो निर्णयलाई पनि त्यहाँ कार्यरत कामदारलेे स्वागत गरेको थिए । उनीहरूले यसलाई छिटोभन्दा छिटो मान्यता दिन दबाब दिएपछि सरकारले वैदेशिक रोजगारीको अन्य प्रमुख गन्तव्य मुलुक छाडेर कतारको मात्र पारिश्रमिक तोकेको हो ।















































