कस्तो कांग्रेस ? कसको कांग्रेस ?


(प्रदीप पौडेल)

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै छ, चौतर्फी क्षय भोगिरहेको यो पार्टीमा महाधिवेशनलाई मध्यनजर गरी जुन ढंगको विचारधारात्मक र नीतिगत बहस सुरु हुनुपर्ने हो, त्यो हुन सकेको छैन । महाधिवेशनको जे जति चर्चा भएको छ, त्यो मूलतः व्यक्तिकेन्दि्रत छ । कांग्रेस जुन परिस्थितिमा छ, त्यसलाई हेर्दा केबल नेतृत्व छनोटले मात्रै महाधिवेशनको ऐतिहासिक दायित्व पूरा हुँदैन ।

यतिबेला कांग्रेस प्रश्नै प्रश्नको घेरामा छ । किन घटिरहेको छ यसको जनाधार ? किन मुर्जाएको छ कांग्रेसको रूख ? किन हतास छन् कार्यकर्ता ? जनजाति किन तर्किएको छ ? किन भागेको छ दलित कांग्रेससँग ? सबैभन्दा ठूलो आधार क्षेत्र मधेसमा कांग्रेस किन हरेक दिन कमजोर हुँदै गएको छ ? यतिखेर बिस्फोट भइरहेका जातीय, क्षेत्रीय, वर्गीय आकांक्षालाई कांग्रेसको जवाफ के हो ? सबैभन्दा मुख्य प्रश्न कांग्रेस कस्तो पार्टी हो र कसको पार्टी हो ? महाधिवेशनले यी प्रश्नको जवाफ खोज्नै पर्छ ।

कांग्रेस नेपालको इतिहासमा केवल एउटा पार्टीको नाम होइन, समग्र प्रजातान्त्रिक र अग्रगामी आन्दोलनकै नाम हो । ६ दशकअघि दलितको बस्तीमा कथित उच्च जातिले भात खाने र छूवाछुतविरुद्धको अभियान चलाउने, बाहुनको हातमा अनौ थमाउने, महिलाले हलो जोत्ने अभियान चलाउने अनि छ दशकअघि दलितलाई महामन्त्री बनाउने पार्टीसँग आज दलितले किन शंकापूर्वक हेर्छ ?  जनजाति, महिला, मधेसी सबैको हक र अधिकारका निम्ति लड्ने र त्यो समुदायबाट राज्य सञ्चालनमा पहिलो पटक प्रतिनिधित्व गराउने पार्टीसँग आज त्यही समुदाय किन अविश्वास गर्छ ? तीन-तीन पटक लोकतन्त्रको लडाइँको सफल नेतृत्व गरेको र सबैभन्दा पहिले संविधानसभामार्फत संविधान निर्माण गर्न आवाज उठाउने पार्टी किन पछाडि धकेलिँदैछ ? जसको जोत उसको पोत नारा दिने र भूमि सुधारको अगुवाइ गर्ने कांग्रेससँगै विपन्न वर्ग किन आश्वस्त हुन सकेको छैन ? मुलुकको सबैभन्दा गौरवशाली इतिहास भएको पार्टीको वर्तमानचाहिँ किन गरिमामय छैन ? आखिर कांग्रेसले त्यस्ता के गल्ती गर्‍यो जसले उसलाई संविधानसभामा दोस्रो पार्टी बनायो ? यी प्रश्नसँग भागेर होइन, सामना गरेर मात्रै कांग्रेसको पुनरुत्थान सम्भव छ । अन्यथा मुलुक संघीयतामा गएपछि बन्ने क्षेत्रीय पार्टीहरूले मूलतः कांग्रेसकै आधार अटाउने सम्भावना छ, किनकि पहिरो त्यही पहाडमा जान्छ जुन कमजोर छ । यो भौगोलिक सत्य राजनीतिमा पनि लागू हुन्छ भन्ने प्रमाण मधेसमा कांग्रेसको अवस्था हो ।

हाम्रो पुस्ता सत्ताका कारण होइन, संघर्ष र निष्ठाप्रतिको समर्पणका कारण प्रभावित भएर कांग्रेसमा लाग्यो । यो पुस्ताले चिनेको कांग्रेस सहिदको कांग्रेस थियो, जेल र निर्वासनमा असंख्य दुःख भोगिरहेकाहरूको कांग्रेस थियो । प्रजातन्त्रका निम्ति हाँसीहाँसी जेल, नेल र मृत्युदण्डसमेत वरण गरिरहेकाहरूको कांग्रेस  थियो । समाज परिवर्तनका पक्षमा र निरंक्ुश अन्यायका विरुद्ध निस्वार्थ भावले लड्नेहरूको संगठित स्वरूप थियो कांग्रेस । त्यो बीपी कोइरालाको कांग्रेस थियो, जोसँग सत्ता थिएन, नैतिक बल थियो । प्रजातन्त्रप्रति अटल आस्था र त्यसका लागि जुनसुकै मूल्य तिर्ने नैतिक साहस थियो । दुःखपूर्वक भन्नुपर्छ, सडक, जेल र निर्वासनमा समेत कहिल्यै नहारेको कांग्रेस ०४७ पछि बालुवाटार र सिंहदरबारमा हार्‍यो । महाधिवेशनले यो हारको समीक्षा गर्नैपर्छ ।

०१५ र ०४७ मा पनि नेपाली कांग्रेस दलितहरूको पार्टी थियो, जनजातिहरूको पार्टी थियो, गरिब र निम्न वर्गहरूको पार्टी थियो, परिवर्तनकामीहरूको पार्टी थियो । त्यसैले त्यतिखेरका अभिजातहरूले नचाहेर पनि कांग्रेसले ०१५ मा दुई तिहाइ र पछि पनि प्रस्ट बहुमत ल्यायो । ०१५ मा कांग्रेसले सत्तालाई परिवर्तनका लागि, आम जनताका लागि  प्रयोग गर्‍यो र त्यही कारणले तर्सिएर राजा महेन्द्रले निर्वाचित सरकार र संविधानसमेत अपदस्थ गरेर पञ्चायती व्यवस्थाको शुत्रधार गरे । त्यतिखेर कांग्रेससँग प्रजातान्त्रिक समाजवादको प्रस्ट बाटो थियो, बीपी कोइरालाको नेतृत्व थियो । जनताका आकांक्षालाई बुझ्ने र पूरा गर्ने नैतिक साहस थियो । कांग्रेस किसानका बीचमा थियो, गाउँबस्तीमा थियो । तर, कांग्रेस बस्ती नछिरेको धेरै भइसक्यो । दलितहरूको, जनजातिहरूको, किसानहरूको, विपन्नहरूको पार्टी सत्ताको चास्नीमा डुब्दाडुब्दै केबल सुकिला मान्छेहरूको पार्टीजस्तो भयो । योजना आयोगको कार्यकक्षमा हलो जोतिरहेको किसानको तस्बिर राख्न लगाउने बीपी कोइरालाको कांग्रेस प्रजातान्त्रिक समाजवादका लक्ष्यबाट बिचलित किन भयो ? महाधिवेशनले यसको जवाफ खोज्नुपर्छ ।

संसारभरि साम्यवादका किल्लाहरू ढलिसकेका छन् । दुनियाँले कम्युनिस्टको मृत्युको उद्घोष गरिसकेको छ । साम्यवादले जनतालाई रगत र आँसुबाहेक केही दिँदैन भन्ने प्रमाणित भइसकेको छ । तर, नेपालमा भने उल्टो गंगा बगिरहेको छ । कांग्रेसजस्तो लोकतान्त्रिक, जनमुखी र गौरवशाली पार्टीको विकल्पमा कम्युनिस्टहरूको दबदबा हुनु आफैंमा आश्चर्यजनक छ । २१ औं शताब्दीमा सामाजिक परिवर्तन र आर्थिक सम्वृद्धिका नाममा देश कम्युनिस्टको उल्टो बाटोतिर किन आत्मघाती ढंगले अग्रसर भइरहेको छ ? लोकतन्त्र र समाजवादको झन्डा उठाउने कांग्रेस यथास्थितिवादी जस्तो देखिने अनि पुरातन, जडता र ध्वंशबाहेक कुनै लक्ष्य नभएका कम्युनिस्ट परिवर्तनकामी देखिने उल्टो तस्बिर नेपालमा किन रचना भइरहेको छ ? यो किन भइरहेको छ भने कांग्रेस निरन्तर प्रश्नहरूसँग भागिरहेको छ । कांग्रेसका

नीतिगत र कार्यक्रमिक असफलता, समाजवादबाट पलायनकै कारण यो अवस्था आएको छ । 

लोकतान्त्रिक समाजवाद कांग्रेसका लागि पार्टी अफिसमा झुन्ड्याइने साइनबोर्ड होइन, जीवन पद्धति हो । तर, कांग्रेसमा खुल्ला हावा नछिरेको धेरै भइसक्यो । कांग्रेसले आफ्नो पहिचान कमजोर बनाउँदै गएको ०४८ पछि हो । बीपीले भन्नुभएको थियो, राजनीतिक क्रान्तिपछि आर्थिक, सांस्कृतिक र सामाजिक क्रान्तिको चरण आउँछ । ०१५ मा बीपी कोइरालाको मन्त्रिपरिषद्ले गरेका युगान्तकारी, परिवर्तनकामी र जनमुखी कार्यक्रमहरूसँग त्यसपछिको सरकारका कार्यक्रमको तुलना गर्ने हो भने एउटा क्रान्तिकारी पार्टी कसरी सतही भयो भन्ने नजिर मिल्नेछ । ०४८ पछि कांग्रेसले भूमिसुधार किन गरेन ? छूवाछुतरूपी कलंकविरुद्ध राष्ट्रिय अभियान किन चलाएन ? सतहमा आएका जातीय, सामाजिक, आर्थिक, लैंगिक र वर्गीय विभेदका मुद्दालाई सम्बोधन गर्ने प्रयास किन गरिएन ? विकासलाई सबैभन्दा तल्लो पंक्तिको जनतासम्म पुर्‍याउने प्रयास किन भएन ? ०४८ पछिको कांग्रेस समाजवादको झन्डा उठाउन लायक रह्यो कि रहेन ? जुन पार्टी संघर्षमा कहिल्यै थाकेन त्यो सत्ता सञ्चालनमा बिचलित किन भयो ? आजभन्दा साठी वर्ष पहिले नै जातीय,

सामाजिक, आर्थिक, लैंगिक र वर्गीय विभेदका मुद्दालाई उठाउने पार्टी अरूले तिनै मुद्दा खोस्दा किन निरीह भयो ? किन ती मुद्दामा स्वामित्व कायम राख्न सकेन ?

जब राष्ट्रमा आर्थिक, सामाजिक, सांस्कृतिक, क्षेत्रीय, जातीय र लैंगिक मुद्दा उठ्छन्, कसैले कांग्रेसतिर हेर्दैन । कांग्रेससँग कुनै पनि प्रश्नको जवाफ छैन भन्ने जनमत झन्झन् फराकिलो भइरहेको छ । न नीतिले जोड्ने, न नेतृत्वले जोड्ने पार्टी कतिञ्जेल जीवित रहन्छ ? निरंकुशकालमा समेत राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको र कहिल्यै दोस्रो नभएको कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री बनाउन सक्नुलाई समेत उपलब्धि मान्नुपर्ने बिडम्बनाका लागि को जिम्मेवार छ ? के जिम्मेवार छ ? बचेखुचेको सीमित साख पनि सत्ता लिप्साले समाप्त हुने स्थिति आउनुअघि कांग्रेसले आत्मसमीक्षा गर्नैपर्छ । हो, आत्मसमीक्षाको यो प्रक्रिया कष्टकर हुनेछ किनकि प्रत्येक कांग्रेसले आफूलाई इजलासमा खडा गर्नुपर्नेछ । तर, अब यसको विकल्प छैन । कांग्रेस  हिजोजस्तै हातमा लगाम भएको पार्टी बन्ने कि रथ पछाडि घिसि्ररहेको पार्टी ? फैसला लिने कांग्रेसका कार्यकर्ताले नै हो । कांग्रेसको यो अवस्थालाई नियती मानेर स्वीकार गर्ने कि यसका कारणहरू खोतल्ने ? कांग्रेस जति फैलियो सडकमा हुँदानै फैलियो, सत्तामा आएपछि निरन्तर खुम्चियो, खुम्चने क्रम जारी छ र रहन्छ पनि प्रश्नहरूसँग भागिराखियो भने ।

अबको महाधिवेशनले कांग्रेसको भविष्य निर्धारण गर्नुपर्छ । राजनीतिक वृत्तको केन्द्रमा कांग्रेसलाई राख्ने वा सत्ताको च्याखे थापेर सहभागी बन्ने पार्टी बनाउने । लाखौं कार्यकर्ताको त्याग र बलिदानले सिञ्चित भएको यो पार्टीलाई फेरि ब्युताउनु जरुरी छ । नेपालमा समाजवादी लोकतान्त्रिक धारलाई सशक्त बनाउन आवश्यक छ । गुट उपगुटको दलदलमा फसेको कांग्रेसलाई नीति र विधिको बहसको थलो बनाउन आवश्यक छ । कम्युनिस्टहरूको प्रभावका कारण जबर्जस्त जनगणतन्त्रतिर उन्मुख भएको अवस्थामा कांग्रेसको सुधारसँगै नयाँ सञ्चारका साथ लोकतान्त्रिक बाटोतिर र्फकनेछ । त्यसकारण, यसपटकको महाधिवेशनमा सुतुरमृर्ग नबनौं । महाधिवेशनलाई केबल नेतृत्व छनोटमा सीमित नगरौं । नेतृत्वमाथि प्रश्न गरौं । नीतिमाथि प्रश्न गरौं । जब कसैले सोध्ने छ, कसको कांग्रेस ? कस्तो कांग्रेस हामीसँग जवाफ हुनुपर्छ । प्रजातन्त्रको निम्ति लडेको इतिहास देखाएर मात्र कांग्रेसले आफूलाई पुनःसंगठित गर्न सक्दैन । त्यसको सामाजिक, आर्थिक र राजनीतिक व्याख्या हुनुपर्छ । कांग्रेस अब विकास, परिवर्तन र आर्थिक समृद्धिको आन्दोलन भएर जनतामा जान सक्नुपर्छ । नेताको उचाइ अग्लो भएर समन्वयकारी भूमिकामा कांग्रेस देखिएको हो । तर सधैँ नेता विशेषलाई केन्द्र बनाएर कांग्रेस अघि बढ्न सक्दैन । नीतिमै प्रष्टता आवश्यक छ ।

समाजवादी पार्टी समाजवादका सम्पूर्ण चरित्रहरू च्यूत भएर मात्र सत्तावादी भयो । सत्ता नै कांग्रेसको साध्य बन्यो । केबल सत्तामा मात्र सीमित हुने प्रवृत्तिले कांग्रेसलाई समाप्तिको बाटोतिर लान्छ । कांग्रेस आत्मोउत्सर्ग र आत्म धैर्यमा विश्वास भएको पार्टी थियो । कांग्रेस कहा हिँडेको थियो कहाा आइपुग्यो ? के थियो र के भयो ? महाधिवेशनले यसको जवाफ खोज्नै पर्छ ।

लेखक नेविसंघका अध्यक्ष हुन् ।

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s