नेपाली पासपोर्टमा बंगलादेशी

रोजगारीका लागि कतार आएका एक युवक दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन दिनसम्म अलपत्र परे । उनी काम गर्न आएको कम्पनी लिन नआएपछि विमानस्थलमै कहिले यता त कहिले उता गरेर बसे । त्यही विमानस्थलमा काम गर्ने नेपालीहरूले तिनको हालत देखेर सोधखोज गरे । युवक धनुषाका रहेछन् तर उनलाई न नेपाली भाषा आउँथ्यो न मैथिली न त हिन्दी नै ।पछि उनलाई नेपाली दूतावासले उद्धार गर्‍यो ।

बुझ्दै जाँदा थाहा भयो, उनको त राहदानीमात्र नेपाली रहेछ । उनी रहेछन् बंगलादेशी । मेरो नाम नजरुल मण्डल, घर बंगलादेशको पप्ना जिल्ला हो,एक दोभाषेमार्फत यी २८ वर्षे युवाले भने, मैले राहदानी नेपालमा व्यापार गर्ने आफ्नै गाउँका दाइ पर्नेमार्फत नेपाली एजेन्टबाट किनेर ल्याएको हुँ । उनी धनुषा, सिनुरजोडा ५ का सञ्जीवकुमार मण्डलको २१६१३२५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर आएका हुन् । राहदानी खरिदसहित एजेन्टलाई २ लाख ३० हजार टाका रकम बुझाएको उनले बताए । मण्डलले आफूलाई मेसिनको काम गर्ने भनेर पठाएको जनाएका छन्, तर उनको पेपर भिसामा लेबर काम भनेर उल्लेख छ ।

मलाई कम्पनीले महिनाको २० हजार टाका बराबरको तलब दिन्छ भनेर पठाएका हुन्, उनले सुनाए, म एक साता काठमाडौं बस्दा मेसिनको काम गर्न पनि सिकाएका थिए ।आठ दिनदेखि दूतावासको आश्रयस्थलमा रहेका मण्डल त्रिभुवन विमानस्थलको अध्यागमनबाट फागुन ३ गते दोहा उत्रेका थिए । नेपालका कुनै पनि भाषा नजान्ने व्यक्ति नेपाली राहदानीमा कसरी त्रिभुवन विमानस्थलबाट दोहा आए भनेर उनलाई भेट्नेहरूले आश्चर्य मानेका छन् । त्रिभुवन विमानस्थलमा नेपाली राहदानी देख्नासाथ नानाथरि प्रश्न सोधेर हैरान पार्छन्, उनी (बंगलादेशी) लाई कसरी आउन दिए ?

१२ वर्षदेखि दोहामा काम गर्दै आएका महोत्तरी गौशालाका राजकुमार ठाकुरले कान्तिपुरसँग भने । उनले यसअघि अर्का एक बंगलादेशी कंगाल सिंह (तपन) भन्ने व्यक्ति झापाका कुलवीर लिम्बूको राहदानीमा कतार आएको बताए । दूतावासले नेपाली राहदानी किनेर विदेशी कामदार आउनाले नेपालीको भिसा कोटा र रेमिट्यान्स गुम्ने चिन्ता व्यक्त गरेको छ ।
राहदानी बिक्री गर्न पठाउने एजेन्ट वा एजेन्सीलाई कारबाही नगरे अन्तर्राष्ट्रिय रूपमा यस्ता घटनाले नेपालको प्रतिष्ठामा समेत आँच पुग्ने दूतावासका अधिकारीहरूको भनाइ छ ।नेपाली राहदानी किनेर वैदेशिक रोजगारीमा आउने समस्या कतारमा मात्र छैन । साउदी अरब र कुबेतमा उत्तिकै छ । साउदी अरेबिया दूतावासले विशेष गरी भारतीय युवतीहरू नेपाली सीमा क्षेत्रका जिल्लामा पासपोर्ट किनेर आउने गरेको बताउँदै आएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s