गिरधारी ‘विरही’ रिजाल
कसैलाई वनभोज भनेको के हो भनि सोध्यो भने सीधा उत्तर आउँन सक्छ कि घरदेखि बाहिर वनजंगलको छेउछाउमा गरिइने भोजको कार्यक्रम भनेर तर सीधा रुपमा त्यो अर्थ लगाइए पनि यो शब्दको अर्थ त्यत्तिमै मात्र सीमित हुदैन होला शायद । घरदेखि टाढा कुनै अपरिचित स्थान जुन रमणीय एकान्त मनमोहक प्राकृतिक रुपले सुन्दर र खुल्ला वातावरणयुक्त हुन्छ चाहे त्यो वनजंगलको छेउछाउ होस् या पार्क चौर देउराली भाज्याङ्ग बेसी अनकन्टार पहाड तथा मरुभूमितुल्य उच्च समस्थली र सामुदि्रक बीच तट किन नहोस् त्यसमा पाकृतिक रुपले आफ्नै विशेषता लुकेको हुन्छ । हो त्यस्तै ठाउँहरुमा गै गरिइने भोज नै वास्तविक वनभोज हो जसले विभिन्न तवरले वितृष्णा जागेका कामबाट हैरान र थकित भएकाहरुलाई केही क्षण भएपनि मन प्रफुल्ल बनाइदिन्छ र सबै दुःख बिसे्रर त्यही दुनियामा हराएको थाहा पनि हुदैन । अब प्रसंग बदलौं । यूएईको अबुधाबी स्थित मदिना जायेदको अगाडिबाट नेपालीहरुको एक हुल एनआरएन यूएईको व्यानर हल्लाउँदै बस चढेर बिहानको करीब नौ बजेतिर उम अल नार हुँदै सहामातर्फ लाग्यो वनभोज कार्यक्रम गर्ने भनेर । सन् २०१० को जनवरीको पहिलो दिन थियो जुन अँग्रेजी नयाँ वर्षको रुपमा मनाइने गरिइन्छ । लक्ष्यविहीन र गन्तव्यविहीन हावाको रुपमा १२० कि।मी। प्रतिघण्टाको दरले हुत्तिदै थियो त्यो हुल शायद जाँदा-जाँदा जहाँ पुगिन्छ त्यही गन्तव्य बनाउँने सुरसार थियो उनीहरुको । म पनि त्यही हुलमा हातेमालो गर्दै होस्टेमा हैंसे दिँदै थिएँ । जब बस सहामादेखि घान्तुत तर्फ लाग्यो तब साथीहरुले एकापसमा मनोराजन गर्न थालिसकेका थिए । कसैले मोबाइलमा नेपाली गीत घन्काउँन थाले त कसैले मादल बजाएर आफ्नै आवाजमा गीत रन्काउँन भने कतिपय सोही गीतमा नाच्न पनि थाले । कतिपयलाई नयाँ ठाउँका नयाँ दृश्यहरु आफ्नो क्यामेरामा कैद गर्नमै समय पुगेको थिएन । शायद सोच्दै थिए होलान् यो बस अलिक ढिलो कुदे पनि हुन्थ्यो । कुन ठाउँमा कतिखेर पुगिने हो र त्यो ठाउँ वास्तवमै कस्तो होला भनेर सोच्न पनि पुूस्रद थिएन त्यो जमातलाई । सबै आ-आफ्नै दुनियामा हराइरहेका थिए । यत्तिकैमा अबुधाबी र दुबईको बीचमा रहेको मिडवे पेट्रोल पम्पमा गएर बस टक्क अडियो । त्यहाँ अन्य त्यस्तै साथीहरुसँग भेट भयो । सबैले आ-आफ्नो पेट पूजा गर्ने तरखरमा कसैले स्याण्डविच त कसैले चिया कफी हातमा लिएर बसको सीटमा बसे । घडीको सुईको रफ्तारसँगै बसले पनि आफ्नो गति अघि बढाइरहेको थियो । जाँदै गर्दा बसमा विभिन्न रमाइला कुराहरु गर्ने क्रममा रोबोट वैज्ञानिक साकिर अलीका अध्ययनका रमाइला क्षणहरु ईाजनियर सुरेश उपाध्यायका जीवनका अनुभवहरु अर्का रमाइला मित्र प्रज्वल श्रेष्ठका ठट्यौली कुराहरु तथा जेपी सापकोटाका जँड्याहा मूसो र साधु बिरालोका कथाहरुले बाटो काटेको पत्तै भएनछ क्यारे एकैचोटि आर्मीले बस रोकेर चेक गर्न लाग्दा पो थाहा लाग्यो ओमान र यूएईको बोर्डरमा पुगिएछ । हामी त्यहाँ पुग्नु अघि नै दुबईतिरका दुई बस साथीहरु त्यहाँ पुगिसकेका रहेछन् । उनीहरुको चेकिङ्ग चलिरहेको बेला हाम्रो बसमा एक आर्मी पसेर सोधखोज गर्न थाल्यो । हामी यात्रा गरेको बसमा आइमाइ र केटाकेटी सहित भएको देखेपछि कुल्लु फ्यामिलि सबै परिवार हो भनेर प्रश्न गरयो र थाहा लागेपछि ओके जेन् ठीक छ भनेर छाडिदियो । त्यसपछि जब बस अगाडि बढ्यो तब मोबाइल मा म्यासेज आउँन थाल्यो कि ओमानमा ल्बधचबक नेटवर्कसँगै स्वागत छ र आवश्यक परेमा ओमानको कस्टुमर सर्विस नम्बर इमर्जेन्सी नम्बर ओमानमा यूएईको दूतावासको नम्बर ओमानदेखि यूएई फोन गर्नुपरेमा लाग्ने ओमानी रकम यूएई एक दिर्हाम्स बराबर यूएईको मुद्राको फरक सहित ओमानमा तपाईको बसाइ आनन्दित रहोस् भनेर पढ्न पाउँदा अचम्मको खुशी पनि लाग्यो । कति छरितो तथा कति विकसित विज्ञान प्रविधि र नेटवर्क । एकछिन त लाग्यो हाम्रो देशले पनि यतिसम्म विकास गर्न सफल भएको भए शायद आज हामी ओमान यूएईमा नभै ओमान यूएई बासीहरु नेपालमा हुन्थे होलान् र यो सर्विसको उपभोग गरिरहेका हुन्थे होलान् अनि हामी नेपालीहरुको शान कस्तो हुन्थ्यो होला भन्दै कल्पनामा डुब्न बाध्य बनायो भने हामी त्यतिबेला ओमानको भूमिमा रहेको हाम्रो मोबाइलको म्यासेजले संकेत गरिरहेको थियो ।
जब बस अगाडि बढ्यो तब मरुभूमिको जहाजहरुको लाम देखिन थाल्यो । मरुभूमिमा सयौं वर्षसम्म पनि बाँचिरहन सक्ने पोथ्रा प्रकारका झाडीयुक्त रुखहरु जसलाई कालिगढले काटेर मुठारेर आपुले चाहेजस्तो बनाउँन खोजे जस्तो देखिने तर प्रकृतिमा आफै त्यस्तो बन्न सफल विरुवाहरु त्यहाँको हावापानी र वातावरणमा बाँच्न संघर्ष गरिरहेका देखिन्थे भने मुश्किलले काँढाका साथ मसिनो हरियो पातलाई मरुभूमिका जहाजहरुले घाँटी तन्काएर पुगेर आफ्नो पेट पाल्न खाइरहेका देखिन्थे र त्यसैको अर्धछहारीमा आपुूलाई विश्राम दिलाइरहेका पनि हुन्थे । पर-पर सौखिन अरेबिक मानिसहरु आ-आफ्ना कारहरु बालुवामा जबर्जस्ती कुदाएर रमाइरहेको देख्दा अझै आनन्दको अनुभूति हुन्थ्यो । जब-जब बस त्यहाँबाट टाढिदै थियो तब-तब पहाडका ढिस्काहरु नजिकंदै आउँन थाले । पर क्षितिजमा हेर्दा नेपालकै हिमश्रृंखलाहरु लश्कर लागेर उभिएजस्तो देखिने तर एउटै मात्र अभाव त्यहाँ झल्किन्थ्यो । त्यो अभाव थियो हिउँ । कताकता हेर्दा पिरामिड जस्तो पनि देखिने ती बालुवा र गेग्रेटो मिश्रित पहाड निकै बलियो रहेको भान हुन्थ्यो र तिनीहरुलाई नियालेर हेर्दा सानोतिनो चोटले फुट्न पनि मुश्किल नै थियो । जति पर पुग्यो त्यति बढी पहाडहरु एकपछि अर्को र एकभन्दा अर्को झन् अग्लो देखिदै जान्थ्यो र यस्तो भान हुन्थ्यो कि काठमाडौ तथा पोखरा उपत्यकालाई चारैतिरबाट डाँडाहरुले घेरेको जस्तो ।
जाँदाजाँदै बाटोमा फोन आयो कि हाम्रो एकजना मित्रलाई ओमान बोर्डरबाट आर्मीले छोडेन रे । त्यसपछि हामीहरुलाई केही खल्लो पनि लाग्यो । बुभुदै जाँदा थाहा लाग्यो कि उहाँको परिचय पत्र रहेनछ र रोकिनु भयो भनेर । यूएईमा हामी जता जाँदा पनि आफ्नो परिचय पत्र कदापि भुल्नु हुँदैन भन्ने पनि यो सबैको लागि एउटा शिक्षा भयो । तैपनि हामीहरुमध्ये कोही गएर आफ्नो आईडी कार्ड या राहदानी धरौटी राखेर छुटाउँने कुराहरु पनि नभएका होइनन् । यत्तिकैमा थाहा लाग्यो कि उहाँका अरु मित्रहरु जुन सोही वनभोज कार्यक्रममा आउँदै हुनुहुँदोरहेछ र उहाँहरु मफत् उहाँको पासपोर्ट लिएर आउँने भएपछि बल्ल लागेको खल्लो केही हदसम्म भएपनि हल्का भयो तर उहाँ हामीहरुसँग नभेटिदासम्म भने अझै मन प्रफुल्ल भएको थिएन किनकि त्यति टाढासम्म सँगै रमाइलो गर्न भनी गएको साथी छुट्नु भनेको नून विनाको तरकारी खाएजस्तै हुन्थ्यो शायद् ।
जाँदै गर्दा हामी ओमान छाडेर फेरि यूएईको हत्ता भन्ने ठाउँमा पुगिएछ जहाँ खुल्ला तथा शान्त वातावरण थियो र बसबाट बाहिर ओर्लिदा नेपालका देउराली तथा भाज्याङ्गहरुमा जस्तै सरर्र चिसो हावा चलेको थियो जसले हामी सबैजना नेपालको कुनै एउटा भाज्याङ्गको चौतारीमा विश्राम गरिरहेका छौं जस्तो भान हुन्थ्यो । त्यही ठाउँमा एकछिन बसेर आनन्द लिने काम भयो भने केही सामूहिक फोटोहरु खिच्ने क्रम पनि जारी रह्यो । यसै क्रममा पोथ्राको काँडाले एकजना साथीको कमीजको धागो तान्यो । यसो नियालेर हेर्दा नेपालमा पाइने ऐसेलु र वयरको काँडा जस्तो लाग्थ्यो तर बोट भने अर्कै थियो ।
जब हामी हत्तादेखि अगाडि बढ्यौं त्यसपछि त्यो क्षेत्रमा पहाडका लश्करहरुको लेखाजोखा गरेर साध्य भएन । हत्ताको अन्तमा पुगेपछि भने अब कच्ची सडक शुरु भयो । यतिबेला नेपालमा हालसालै खुलेका लक्ष्यविहीन कच्ची सडकहरु यी आँखामा नाच्न थाले । बसको भुयालबाट यसो माथितिर पहाडमा हेर्दा बाख्रा आकारको मूर्ति उभिए जस्तो लाथ्यो तर केही क्षणपछि पो थाहा लाग्यो हाम्रो आँखाले धोका खाएको रहेछ । त्यो साँच्चिकै बाख्रा रहेछ । खुरुर्र दौड्दा मात्र थाहा भयो । एउटा अचम्मको कुरा के लाग्यो भने पहाडी भेगको प्रत्येक आधा कि।मी। दूरीमा पहाडका ढुङ्गाहरुमा यूएईको झण्डा कलरपेण्ट गरिएको देखिन्थ्यो अनि हामी यूएईकै भूभागमा छौं भन्ने थाहा हुन्थ्यो ।
कच्ची सडकमा कारहरु त आरामसँग जान सक्थे तर बसहरुलाई भने निकै हम्मे परिरहेको थियो किनकि कहीं सडक ओरालो लागेर खोल्सामा पुगिन्थ्यो भने ठीक त्यहींबाट फेरि बस उकालो लाग्नुपर्दथ्यो अनि पछाडिका टायरहरुलाई ढुँगा को सपोर्ट दिनुपर्दथ्यो नत्रभने बस माथि चढ्न असमर्थ हुन्थ्यो । एवम् रीतले धेरै उकाला र खोल्सा पार गर्दै हजारी पहाडी इलाकामा पुगियो अनि त्यहीं गन्तव्य बनाएर सबैजना उत्रियौं जहाँ केही समथर तथा अलिकति भिरालो भूभाग थियो । चारैतिरबाट डाँडाहरुले घेरिएको र बीचमा केही समथर अनि स-साना पत्थरहरु जो खोलाको छेउछाउमा पाइने गर्दछ मिश्रित उच्च समस्थलीय प्रकारको जमीन थियो तर त्यहाँ माटो थिएन । दुबैतर्फबाट साना खोलाहरु जसमा छिपछिपे पानी भेटिन्थ्यो अनि बीचमा गल्छी परेको भूभाग हामीले रोज्यौं र त्यहीं हाम्रो आजको वनभोज कार्यक्रम गर्ने निर्णय भयो । साना खोलाहरुको छिपछिपे पानी निकै चिसो थियो भने तिनीहरुको उद्गम स्थल खोज्दै जाँदा केही माथि पत्थरको अन्तरबाट पानीको मूल निस्केको भेट्यौं । एउटा अनौठो कुरा जहाँ बोटविरुवाको निशाना नै छैन अनि पहाडै पहाडको बीचमा त्यसरी पत्थरहरुको अन्तरबाट पानी कलकल गरि बगेको देख्दा हाम्रै देशको पहरा कन्दराहरुमा हामी डुलेको भान हुन्थ्यो तर त्यस ठाउँलाई पकृतिले एउटा कुराले मात्र ठगिरहेको आभास हुन्थ्यो त्यो थियो बोट विरुवा । त्यो पहाडी खोंचमा बगेका खोलाहरुको अनुसन्धान पनि हामीले गर्न थालिसकेका थियौं कि त्यहाँ बग्ने पानीको श्रोत कहाँबाट आएको छ भनेर । यसै क्रममा धेरैपछि अन्दाज लगायौं कि ती डाँडा पारीपट्टि ओमानको भूभागमा ठीक त्यही सतहमा समुद्र हुनुपर्दछ र त्यहीं भित्रबाट छिरेर यो पानीको मूल जरुवा स्वरुप यहाँ निस्केको हुनुपर्दछ । त्यस चिसो पानीलाई नियालेर हेरिसकेपछि त्यसको स्वाद कस्तो छ त भनेर हामीलाई अर्को कौतुहल लाग्यो अनि अजुलीमा पानी लिएर त्यसको स्वाद लिँदा अर्को नौलो अनुभूति भयो । नेपालका पहरा कन्दराहरुको खोंच बीचबाट निस्केको पानीको स्वाद अनुपम त छ नै एकपेट पानी पियो भने एकछिन भोक पनि मेटिएको आभास हुन्छ ठीक त्यही अनुभव हामीलाई भयो किनकि त्यो पानीको स्वादले नेपालको तिस्रना केही हदसम्म भएपनि बिस्रन बाध्य बनायो भने मनलाई एक प्रकारको आनन्दको अनुभूति पनि हामीहरुलाई भयो ।
यतिबेला हाम्रो नाडीको घडीले तीन हानिसकेको थियो भने अर्कातिर सबै उपस्थित साथीहरु वनभोजको तयारीमा जुट्न थालिसकेका थिए । महिलावर्ग स्याण्डवीच तयारीमा लागिरहेका थिए भने पुरुषहरु चिया उमाल्नतिर । बगरमा दाउरा बालेर नेपाली पाराले पकाउँने कार्य देख्दा पक्कै पनि नेपालको झल्को थियो । केटाकेटीहरु पहाडी खोंचहरुमा गएर केही हदसम्म भएपनि पहाड चढ्ने जमर्को गर्दै थिए भने बाँकी मानिसहरु कोही खशी काट्न त कोही तरकारी तथा पुलाउ तयार गर्नमा व्यस्त देखिन्थे । केही झुण्ड मानिसहरु बार्बिक्यू पट्टि झुम्मिदै थिए । उतातिर जेनेरेटरको प्रयोग गर्दै अर्को समूह म्यूजिकतिर लागिसकेको थियो । मानिसहरु आ-आफ्नो कार्यमा व्यस्त थिए जहाँ के केटाकेटी के लोग्नेमान्छे के आईमाई । सबैजना एकापसमा ठट्टा गर्दै काम गरिरहेका हुन्थे जहाँ ठूलोसानो या कुनै पदीय हैसियत तथा स्वार्थ देखिन्थेन जबकि सर्वसाधारण श्रमिकदेखि लिएर ईन्जिनियर अफिसर र पाइलटसम्म त्यहाँ उपस्थित थिए र सबैजना मिली निसंकोच काम गरिरहेका देखिन्थे । उपस्थितमध्ये कतिपयले बार्बिक्यूको स्वादमा रम्दै थिए त कति नेपाली म्यूजिक लगाएर नाच्दै पनि थिए ।
यत्तिकैमा एनआरएन यूएईले तयारी गरेको कार्यक्रमको लिस्ट सहित जेपी सापकोटा माइक्रोफोनबाट रमाइलो कार्यक्रमको शुरुवात हुन लागेको घोषणा गरे । कार्यक्रमको पहिलो चरणमा हास्यव्यंग्य सहितको कार्यक्रम अचम्मको पोको शुरुआत भयो । यो एउटा भिन्नै प्रकारको रमाइलो कार्यक्रम थियो जसमा कसैलाई नाम पुकारेर अगाडि बोलाइन्थ्यो अनि बाकसबाट एउटा चिठ्ठा निकालिन्थ्यो र त्यो चिठ्ठामा जे लेखिएको हुन्थ्यो उक्त व्यक्तिले सोही कुरा अनिवार्य रुपले अभिनय गर्नै पर्दथ्यो ताकि आइमाइ या लोग्नेमान्छे र ठूलोसानो भनेर सो कुरा टार्ने व्यवस्था भने त्यहाँ थिएन जस्तै – जे बज्छ त्यसैमा नाच्ने लोग्ने स्वास्नीबीच प्रेरणा जगाउँने गीत गाउँने आफ्नी श्रीमतीलाई श्रीमान्ले बिहेमा झैं उचालेर घुम्ने स्याल कराएर सुनाउँने प्रेमिकाको वियोगको अभिनय गर्ने जिब्रोले नाक छुन कोशिश गर्ने अर्काको चश्मा झिकेर आफूले लगाएर बेस्मारी हाँस्ने क्याट वक गर्ने जँड्याहा श्रीमान्सँग गरिइने व्यवहारको नक्कल गर्ने जाँडको नशा लागेपछि गरिइने व्यवहारको नक्कल गर्ने आदि…आदि ।
अचम्मको पोको कार्यक्रम सकिएपछि प्रज्वल श्रेष्ठ र गौतम के।सी। द्वारा अर्को एक रमाइलो कार्यक्रम भाग्य चिठ्ठा लिएर स्टेजमा उपस्थित भए जुन कार्यक्रमलाई अर्को भाषामा पैसा फेको तमाशा देखो भन्दा पनि फरक नपर्ने खालको थियो । यो कार्यक्रमबाट प्रष्ट रुपमा यो झल्किन्थ्यो कि नेपालमा बाटोमा भाग्य चिठ्ठाको नाममा केही कार्यक्रम लिएर मानिसहरुलाई झुम्मिन बाध्य बनाउँछन् ठीक त्यही पाराको दर्शकहरुलाई तर फाइदा पनि हुने खालको थियो । पहिले दश दिर्हाम्समा चिठ्ठा बिक्री गरिसकेपछि नम्बर खिच्दाखेरि ठाडो तेसो्र पूरा कोठाका नम्बरहरु मिलेमा लक्की विजेतालाई तुरुन्तै पुरस्कार दिइन्थ्यो र अन्तिममा तीनजनालाई विशेष पुरस्कारको व्यवस्था पनि मिलाइएको थियो । यस्तैगरी केटाकेटीहरु र आइमाइहरुको म्युजिकल चेयरको खेलको लगत्तै लोग्नेमान्छेहरुको पनि रोमान्टिक तरीकाले म्युजिकल चेयरको खेल राखिएको थियो भने विजेताहरुलाई आकर्षक पुरस्कारको व्यवस्था रहेछ । साँझ भैसकेपछि फेरि खाना खाने कार्यक्रम थियो भने जाडोले गर्दा खानाको स्वाद पनि झनै स्वादिष्ट लागिरहेको थियो । सबैजना आगो बालेर फेरैमा बसेर खाना खाँदा छुट्टै आनन्द आइरहेको थियो भने जाडोमा आगो तपाइको आनन्दले नेपालमा पुस माघमा मुढा जोतेर आगो ताप्दाको आभास भैरहेको थियो । अर्कोतिर मानिसहरु म्युजिक लगाएर डान्स गर्दै ज्यान तताउँने धुनमा व्यस्त थिए । त्यस ठाउँमा बिजुलीको असुविधा भएर अँध्यारोमा गाडीका हेडलाइटहरु बालेर उज्यालो बनाउँदा गाउँतिर मेन्टोल पेट्रोम्याक्स बालेर उज्यालो वनाएझैं लाग्थ्यो ।
समयले नेटो काट्दै रातको नौ बजाइसकेछ । सबैजना आ-आफ्नो गन्तव्यतिर लाग्ने तर्खरमा थिए । आ-आफ्नो कार तथा बसमा बसेर गीत गाउँदै रमाइलो गर्दै हत्तातिर लागियो । हत्ताको स्टेशन काटेपछि पनि हजारी इलाकाका पहाडका छायाँहरु अझै हाम्रो आँखाबाट ओझेलमा परेका थिएनन् । जब हत्ताबाट धेरै पर दुबई इलाकापट्टि पुगियो तब पहाडका छायाँहरु नजरमा नपरेपनि त्यसका प्रतिबिम्बहरु मानसपटलमा घुमिरहेको भान हुन्थ्यो । मन त गरिरहेथ्यो कि यो ठाउँ छोडेर टाढा हुन नपरोस् तर बिधिको विधानमा त फरक पर्ने नै हुन्छ । त्यो ठाउँको यादलाई मनको एक कुनामा थाँती राखी आफ्नो गन्तव्यतिर लाग्यौं ।
यता मनको अर्को कुनामा मेरो आफ्नो देश नेपालको माया अरु भरिएर आयो । आज विदेशमा रहेर पनि विदेशी दृश्यहरु मनमा कैद गरेर आफ्नो देशको तिस्रना मेटाउँनुपर्ने । मेरो देश यो भन्दा लाखौं गुनाले स्वर्ग छ जसले परम आनन्द र चरम सुख दिन्छ । आज आफ्नो देशको काखमै यो आनन्द र सुख बाँड्न पाएको भए कस्तो अनुभूति हुँदो हो ! धन्य छौ नेपाल आमा तिमी । तिम्रो काखमा धित मरुजेल जिन्दगी भरि रमाउँन पाउ र सदैव तिम्रै नाम जपी मर्ने आशीर्वाद देऊ ।
जेहोस् फेरि त्यो रमणीय ठाउँमा पुग्ने सुअवसर मिलोस् नमिलोस् त्यहाँ पुर्याएर यहाँ बसी आफ्नो देश बिसे्रका हामीलाई नेपालआमा सम्झन बाध्य बनाएर मातृभूमिको मायाले स्वदेश फिर्ता हुन प्रेरणा जगाउँने आयोजक टिमलाई हृदयदेखि नै धेरै-धेरै धन्यवाद ।













































