देशदेखी बिदेशसम्म नेपालीको पिडा “छोटो टिप्पणी”


नबराज पन्थी (कुवेत)        

देशको राजनैतिक परिस्थिती, त्यही राजनीति गर्ने नेता भनाउँदाहरुले सिकाएको फोहोरी खेल ! त्यसैबाट फैलिएको बढ्दो हत्याहिंसा जस्ले जे गरे पनि हुने सँस्कृतिको बिकासले नेपाली जनतालाई आफ्नो कुटो कोदलो गरेर आफ्नै झुपडिमा परिवारको साथ रमाउन समेत छैन । गलत कुराको खण्डन र  सहि कुराको तारिफ गर्नु पनि पाईंदैन केहि बोल्यो कि त कुटिनु पो पर्ने होकी, मर्नु पर्ने पो होकी भन्ने डरै डर र त्रासले सहि र सत्य कुरामा पनि बोल्नलाई पछि हट्नु परेको छ ।

बिहान घरबाट हिंडेको मान्छे बेलुका घर फर्किने होकी होईन परिवारलाई त्रास मात्र । यस्तो स्थितीको श्रीजना गराउने हाम्रै देशका नेताजी भनाउँदाहरु हुन भन्न म पछि पर्दिन ।  नेपालमा बहुदल आयो, २०६२/६३ को आन्दोलन भयो, थुप्रै नेपाली सहिद भए । माओवादी १० बर्षे जनयुद्द अन्त गरेर शान्ति प्रकृयामा आयो । संबिधान सभाको चुनाव भयो । नेपालमा गणतन्त्रको घोषणा भयो, कयौं पटक राजनीतिक पार्टीहरुले बैठक गरेर कयौं शान्ति सम्झौताको बिषयमा हस्ताक्षर भए, कयौं समितिहरु बने, नेताजीहरु एउटै मन्चबाट पनि कुर्लिए, नेपालको मुहार हसाउँछौं, देशको बिकास गर्छौ,  शान्ति सुरक्षा कायम गर्छौ, दण्डहिनताको अन्त्य गरी कानुनी राज्यको नमुना देखाउँछौं । आखिर सबै राजनीतिक पार्टीको भाषणमा मात्र सिमित रह्यो ति बचनहरु ।

“जुन जोगी आए पनि कानै चिरेको” नेपालीलाई जती पटक सरकार फेरिए पनि, जुन पार्टीको नेत्रित्वमा सरकार आए पनि हात्तिले देखाउने दाँत जस्तै भयो । महङ्गी बढेको बढै आम्दानिको कुनै श्रोत छैन । जती पढेलेखे पनि जागिर पाउन उही सास्ती, बेरोजगारी समस्याले आतुल भएपछी के गर्ने ? मोर्नु भएन एक पेट खानै पर्‍यो, जहान परिवार पाल्नै पर्‍यो ।  घरमा बसे कि राजनीतिक पार्टीको झण्डा बोक्नु पर्‍यो, कि वाइसियल, कि युथफोर्श नत्र तरुण दलमा हिंड्नु पर्‍यो, कि त गाउँनै छोड्नु पर्‍यो । सानो-सानो कुरामा हुने गरेको बन्द, हड्ताल, चक्काजाम र बिरोधको संस्कारले गर्दा केही पेशा परीश्रम गरेर खाने वातावरण पनि छैन । कुखुरो मरे पनि आन्दोलन गर्ने प्रविर्ती मौलाउँदै गएकोछ, गल्ती गर्नेलाई कारबाही गरे कुनै राजनीतिक पार्टीको कार्यकर्ता भए अपराधीलाई छुटाउन उनै राजनीतिक पार्टीको बिरोध जुलुस दुनियाँ नानाथरी आन्दोलन, नेपाल बन्द गर्न राजनीतिक दलहरु नै अघी सरि हाल्छन । यस्तो देशको परिस्थितीमा हामी जस्ता सोझा-साझा जनता के गर्ने त ? काम गरौं नेपाल बन्द र हड्ताल, रोजगारीको कुनै अवसर नै छैन अनी वाध्य भएर हामी नेपाली बिदेशिन पुग्छौं । वर्षेनी लाखौं नेपाली बिदेशिएका हुन्छन्, रिण काढेर “अरब गएर खरब कमाउने” सपना बोकेर कस्तो काम हो, तलब कती हो, के को लागि बिदेश जाने कुनै कुरा नबुझी टपक्क दलाललाई पैसा बुझाएर मलेशिया, खाडी मुलुक साउदी, कुबेत, दुबई, कतार लगायतका देशहरुमा रोजगारिको लागि जान्छौ ।

बिदेश जान पाए त आकाशको तारा नै झराल्थें, बिदेशमा पैसाको बुटो हुन्छ, नेपालबाट उडन मात्र पाए टप्प टिपेर ल्याउँथें जस्ता सपना देखेर परदेशिन्छौं हामी । कती त छरछिमेकिको देखेर रामेले कतारबाट टन्न दाम ल्याएर घडेरी किन्यो रे, माथिल्लो घरको हर्केले दुबईबाट आएर शहरमा घर किन्यो रे, पल्लो घरको भुन्टेले साउदीमा मस्त दाम कमाएको छरे त्यसैले छोराछोरी बोर्डिङ्ग स्कुलमा पढाउन थाल्यो रे जस्ता कुराले पनि हामीले बिदेश जाने सपना देखेका हुनछौ, रहर बोकेका हुन्छौं तर बिदेशमा आई सकेपछि बल्ल हामिले चाल पाउँछौं अनि भगवान पुकार्न थाल्छौ । आफ्नो जन्मभूमी, आफ्नो परिवार, उकालि ओरालि, भन्ज्याङ्ग चौतारी, त्यो रोधि घर अनि हरियाली वातावरण अनि आफ्नै रहन-सहन, आफ्नै परिवेश सम्झदै बिदेश जाने पैसाले नेपालमै लगानि गरेको भए केहि त गर्न सकिन्थ्यो, जहान परिवारको साथमा रमाइन्थ्यो जस्तो कल्पना गरिन्छ ।

बिदेशिने नेपाली दाजुभाई-दिदीबहिनिहरु केहीले मात्र सजिलो काम राम्रो दाम समयमै तलब पाउनु भएको होला तर धेरै जसो नेपाली दाजुभाई-दिदीबहिनिको पिडालाई म यहाँ चर्चा गरेर पनि सक्दिन । सिङ्गो पुस्तक नै तयार हुन्छ । “नखाउँ भनि दिनभरिको शिकार खाउँ भनें कान्छो बाउको अनुहार” भनें झैं दलाललाई लाखौं रुपियाँ चढाएर आएको फर्केर जाउँ भने पैसा फिर्ता पनि पाईंदैन, नेपालको स्थितिले वाक्क भएर बिदेशिएको तर अरु कुरै छोडौं आएको रिण तिर्न पनि बर्सौ कुर्नु पर्छ । मरुभूमिमा भेंडा, उँट हेर्ने झाडु देखि रोड सफा गर्ने काम नेपाली दाजुभाइको भागमा पर्दछ । त्यती मात्र होइन समयमा तलब नपाउने, खान समयमा नपाइने, मालिक भनाउँदाको शोषण, अत्याचार, कुटाई, पिटाई खेप्नु परेको छ ।

अझै घरेलु कामदारका रुपमा रहेका नेपाली चेलिबेटिको हालत झनै कष्टकर र पिडादायी रहेको छ । कति मालिकको शारिरीक तथा मानसिक यातना सहन बाध्य छन त कति दलालको फन्दामा परि कोठिहरुमा सजिन पुगेका छन भनें कतिले पिडा सहन नसकेर ज्यानै पनि गुमाएका छन् । के यस्को बारेमा हाम्रा राजनैतीक दल र मै हुँ नेपाली राजनीतिक हस्ती भन्नेहरुलाई नेपालीले पाउन सम्म दु:ख नेपालमै पाए, भएन भनेर बैदेशिक रोजगारिमा जानेले सास्ती खेप्नु परेको बारेमा थाहा होला त ? कुनै चासो लिएका होलान त ? किन लिन्थे सात पुस्तालाई पुग्ने सम्पती जोडे, महलमा बसेका छन, पजेरो गाडीमा कुदेका छन, छोराछोरी बिदेशमा पढाएका छन होइन र ? लौन भगवान हाम्रा नेताजीहरुको घैंटोमा घाम लगाईदेउ, देशमा शान्ती गराईदेउ, बन्द हड्ताल सधैंको लागि अन्त्य गरिदेउ, सबै नेपाली सुख र शान्तिले परिवारको साथ पाखुरा बजारेर खाने बस्ने वातावरण बनाईदेउ । त्यती मात्र भए पनि हामी नेपालीलाई पुग्ने थियो । यसरी बिदेशी अन्जान भूमिमा रोएर बस्नु त पर्ने थिएन । आफ्नै जन्म्भुमिमा रमाउन पाउने थियौं । अन्त्यमा सबैलाई चेतना भया !!!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s