नेपाल टेलिकमले आर्थिक वर्षभित्र ७० लाख ग्राहक पुर्‍याउने घोषणा

नेपाल टेलिकमले चालू आर्थिक वर्षभित्र आफ्नो ग्राहक आधार संख्या ७० लाख पुर्‍याउने घोषणा गरेको छ । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा टेलिकमले ग्राहक आधार विस्तार गरेर ७० लाख पुर्‍याउने घोषणा गरेको हो । साउनदेखि मंसिरसम्मको ५ महिनामा मात्र ५ लाख ८७ हजार १ सय ७८ ग्राहक थपेर ग्राहक आधार संख्या ४८ लाख ३२ हजार ८ पुर्‍याएको टेलिकमले यसै वर्षभित्र सबै जिल्लामा द्रूतगतिको इन्टरनेट सेवा एडिएसएल र पिएसटिएन विस्तार गर्ने भएको छ ।

टेलिकमले चालू वर्षको ५ महिनामा ५ लाख १९ हजार २ सय ६९ लाइन जिएसएम, ६० हजार ८ सय ८३ लाइन सिडिएमए र ७ हजार २६ लाइन पिएसटिएन सेवा विस्तार गरेको प्रबन्धनिर्देशक अमरनाथ सिंहले जानकारी दिए । यस अवधिमा इन्टरनेट आधार संख्या ७७ हजार ३ सय १५ बढेको छ । इन्टरनेट ग्राहक आधार १ लाख ७२ हजार ८ सय ८ पुगेकोमा एडिएसलको मात्र २८ हजार ३ सय ४६ रहेको छ । टेलिकमले ५ महिनामा थप ९१ गाविसमा सेवा विस्तार गरी कुल ३ हजार ४ सय २३ गाविसमा सेवा पुर्‍याएको छ ।

२४ पुसदेखि रुकुम र जाजरकोटमा पनि पिएसटिएन सेवा विस्तार गरेर ७५ वटै जिल्लामा पिएसटिएन सेवा विस्तार गरिसकिएको सिंहले जानकारी दिए । नेपाल टेलिकमले अन्य दूरसञ्चार सेवाप्रदायकसँग पूर्वाधार साझेदारी गर्न आफ्नो आर्थिक नियमावली संशोधन गर्ने भएको छ । नेपाल टेलिकम र अन्य दूरसञ्चार सेवाप्रदायकले एउटै पूर्वाधार साझेदारी गरेर सेवा प्रवाह गर्ने विषयमा केही वर्षदेखि छलफल हुँदै आएको छ । पूर्वाधार साझेदारीका लागि नियमावली बाधक देखिएपछि सञ्चालक समितिबाट संशोधन गरी साझेदारीको बाटो खोल्न लागिएको हो । नीति-नियमका कारण पूर्वाधार साझेदारी गर्न नसकिएको बताउँदै आएको टेलिकमले नियमावली संशोधन प्रस्ताव सञ्चालक समितिमा लगिसकेको प्रबन्धनिर्देशक अमरनाथ सिंहले जानकारी दिए ।

‘दुई/तीन दिनभित्र नियमावली संशोधन भइसक्छ,’ उनले भने, ‘त्यसपछि पूर्वाधार साझेदारी गर्न सहज हुन्छ ।’ लोडसेडिङ समयमा मोबाइल टावरमा राखिएका ब्याट्री चार्ज हुन नपाई मोबाइल सेवाको गुणस्तर खस्कन थालेपछि सेवाप्रदायकले पूर्वाधार साझेदारीको आवाज उठाउँदै आएका थिए । सहकार्यमार्फत पूर्वाधारमा लगानी गर्न सके ब्याट्री ब्याकअफ क्षमता वृद्धि हुने र सबै सेवाप्रदायकको सेवा अबरुद्ध नहुने भएकाले टावर साझेदारीको अवधारणा अघि सारिएको हो । सोही अवधारणाअनुरूप अन्य पूर्वाधार पनि मिलेर प्रयोग गर्न सकिने सिंहले बताए । ‘विभिन्न मोडलमा धेरै पूर्वाधार साझेदारी गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि नै नियम चेन्ज गर्न लागेका हौँ ।’ हाल सञ्चालनमा रहेका ६ वटै दूरसञ्चार सेवाप्रदायक पूर्वाधार साझेदारी गर्ने विषयमा एक छन् । तर, हालसम्म साझेदारी प्रक्रिया अघि बढ्न सकेको छैन । टेलिकमको नियमावली परिवर्तन भएपछि भने पूर्वधार साझेदारी अघि बढ्ने सिंहले बताए । ‘यसबाट हामीले पनि अरूको पूर्वाधार प्रयोग गर्ने अवसर पाउँछौँ,’ उनले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s