नबराज पन्थी “पाल्पाली” (कुबेत)
पत्रकार सधैँ निडर र निर्भीक हुन्छन् र हुनुपर्छ । तर, अहिले देशको परिस्थिति त्यस्तो छैन । त्यसै पनि चुनौतीपूर्ण यो पेशा पछिल्लो समय असुरक्षित समेत छ । पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकारहरू लेखेकै भरमा कुनै पनि बेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीच बाँच्न विवश छन् । स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन ।
देश पुनर्संरचनाको मोडमा भएका बेला पत्रकारले निर्वाह गर्नुपर्र्ने जिम्मेवारी र दायित्व धेरै छन् । तर, हातहरू तरबारले काटिन र औंलाहरू ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम, कसरी गर्ने स्वतन्त्र र निष्पक्ष पत्रकारिता ? अहिले पत्रकारले आफ्नो धर्म निर्वाह गर्न पनि धेरै पटक सोच्नुपर्छ । कुनै-कुनै घटनाबारे लेख्नु अघि प्रतिक्रिया कस्तो आउँछ भन्ने पूर्वानुमान गरेर आफूलाई सेन्सर गर्नुपर्ने बाध्यता छ । हरेक विकृति र विसङ्गतिका पछाडि कुनै न कुनै रूपमा राजनीतिक दलको संरक्षण वा संलग्नता देखिन्छ ।
डेकेन्द्र थापादेखि शुरु भएको मोफसलका पत्रकारमाथिको आक्रमण वीरेन्द्र साह, उमा सिंह हुँदै टीका बिष्टमा आइपुगेको छ । अहिलेसम्म यी कुनै घटनाका अपराधी माथि कारबाही भएको छैन । दण्डहीनता यति मजबुत छ, मुलुकमा सरकार छ- छैन, कानुनले काम गर्छ- गर्दैन थाहा हुन छाडिसकेको छ । दुर्घटनामा परेपछि समवेदना प्रकट गरिदिने बाहेक पत्रकारको सुरक्षाको कुनै ग्यारेन्टी छैन । आफ्नो अनुकूल भए जनपत्रकारिता नभए प्रतिगामीकारिता ! कुनै न कुनै पार्टीको छातामुनि नबसे पत्रकारहरू सुरक्षित हुने अवस्था छैन । प्रेस चौतारीमा हुने पत्रकारको युथ फोर्सले, प्रेस युनियनमा हुनेको तरुण दलले, क्रान्तिकारी पत्रकारको वाईसिएलले सुरक्षा गर्लान्; तर कसैको छातामुनि नभएका स्वतन्त्र र व्यावसायिक पत्रकारको सुरक्षा कसले गर्ने ? यस्तो त्राहिपूर्ण वातावरणको असर भर्खर यो क्षेत्रमा उत्साहपूर्वक आइरहेका पत्रकार माथि अझ् बढी छ । पत्रकारितामा आउन र आए पनि प्रतिबद्ध भएर टिकिरहन नसकेका पत्रकार माथि एकपछि अर्को आक्रमण र हत्या हुन थालेपछि परिवारले पनि उनीहरूलाई यो पेशामा आउन रोक लगाइरहेका छन् ।
सशस्त्र समूहको त्रास, मुलुकको दण्डहीनता, सरकारको अक्षमताले पत्रकारलाई स्वतन्त्र रूपमा कलम चलाउन नदिएको हो । कृष्ण सेनलाई गुमाउने थिएनौ, डेकेन्द्र थापाका अपहरणकारी र हत्यारालाई कारबाही भएको भए वीरेन्द्र साह, उमा सिंहले मर्नुपर्ने, टीका बिष्ट माथि आक्रमण हुने थिएन; कलम चलाउनेले तरबार चलाउनेसँग डराउनुपर्ने थिएन, संचारकर्मीले हत्केलामा ज्यान राखेर काम गर्नुपर्ने थिएन । तैपनि पत्रकार यी चुनौतीको सामना गर्दै अग्र मोर्चामा रहेर तथ्यसत्य समाचार प्रवाह गरिरहेका छन् र गरी नै रहने छन्, डरले पत्रकारले लेख्न छाड्दैनन् र छोड्न पनि हुँदैन । रोकिदैन पत्रकारको कलम सधैं नदी झै सलल सलल बगिरहनेछ !!!














































नबराज जी, हजुरको कलम सधैभरी चलिरहोस हामी पाठकहरुको तर्फबाट २०१० को शुभकामना साथै सधैभरि हामी तपाई जस्ता पत्रकारको साथमा रहने छौं ।
बिरही
navaraj ji very good artical.i wish you all the best ahead in your life.keep it up and write what is true and what come from heart.also thanks lot for joineing kuwaitnepal.com.
Thanks bhai ….keep it up…really i like this ………hope you write more.
ati nai ramro lagyo tapaiko lekh.Thanks tapaiko prativa ko lagi.