मनोज काफ्ले ‘मनसुन’ (कुवेत)
हुनत नेपाली भाषामा गजल भनेको कुनै नौलो बिधा त रहेको छैन तर राम्ररी हेर्ने हो भने अंग पुर्याएर र यसका संरचनाका निश्चित नियम र परिधि भीत्र बसेर लेख्नेको संख्या भने निकै कम छ । गजल पढ्न र सुन्न जती मनोरन्जक, रोमान्चक र कर्णप्रिय हुन्छ वास्तबमा लेख्न त्यत्तीकै जटिल, मुश्किल र दूरुह । दौंतरीमा केहि समय यता यसको बारेमा निक्कै बहस शुरु भएको र म आफू पनि गजल प्रेमी (जानकार हैन भन्ने कुरा पहिलै खुलस्त गरौं) भएको नाताले यो हप्ताको फुर्सदको समयलाई यहि बिधाको सामान्य संरचनाको अध्ययनमा लगाएँ । केहि समय यता दुई-दुई लाईनका तुक मिलाएर लेखिएका भावनाहरुलाई ‘गजल’ भनेर लेखीन र छापिन थालिएका छन । दौंतरी मात्रै हैन, धेरै अनलाईन र साहित्यिक पत्रिकाहरुमा समेत गजलको नाममा कविताहरु धेरै पटक प्रकाशीत भएका छन । गजलको उद्वम र परिभाषा बारेमा भिन्न-भिन्न मत भएपनि गजल अरब बाट शुरु भएको अनी बिस्तारै काव्यको यो विधा फारसी, उर्दू हुँदै हिन्दी, नेपाली र अन्य भषामा पुगेको कुरामा धेरै शोधकर्ताहरुको एक मत छ ।
यो सानो पोष्टमा गजलसंग सम्बन्धित केहि आधारभूत शब्दावलिको चर्चा गर्ने कोशीस गरिने छ । साधारणतया गजलका यि शब्दाबलीलाई अर्थ्याउन गालिब वा जफर गोरखपुरी वा त्यस्तै कोहि प्रख्यात गजलकारका गजललाई प्रस्तुत गरिन्छन । तर ति सबै उर्दू वा अन्य कुनै भषामा हुने भएकोले म मेरै एउटा सरल गजल यहाँ राख्दैछु :
गजल-
आशा जती निरासामा मोडिएर भार भयो
हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो
साथसाथै रुनेहास्ने खाएनौ र कसमपनी
लत्तायेर गयेउ पर छोडीएर भार भयो
रानीबनको प्रेमपत्र रानीबनमै छोडीएछ
सपनाका टुसा हरु गोडिएर भार भयो
टुटे बरु हल्का हुन्थ्यो पथ्थर रैछौ तिमी
गंतब्येमा ढुंगा मुड़ा जोडिएर भार भयो
कहिँ त पुग्थे म एक्लै एक्लै हिंडेपनी
हिंडे तिम्रो साहाराले लोडिएर भार भयो
शेर: गजल शेरहरुको समुह हो र गजलमा प्रयुक्त दुई हरफकको यौटा श्लोक लाई शेर भनिन्छ। गजलको बनोटको हिसाबले एउटा गजलमा कममा पाँच र बढिमा एघार ओटा सम्म शेर रहेको पाईएको छ । जहाँ कविताका १०-१२ हरफसम्म यौटै विषयको बारेमा व्याख्या हुनसक्छ, तर गजलमा भने हरेक शेरले भीन्दा भीन्दै कुरा बयान गर्छ । यसैले हरेक शेर आफैमा पूर्ण हुनु पर्छ, यौटा शेरमा पुरा गर्न नसकिएको विषयबस्तुलाई अर्को शेरमा हाल्नु वा तान्नु हुँदैन ।
मिसरा: शेरको प्रत्यक लाईनलाई मिसरा भनिन्छ। त्यसमा पनि पहिलो लाईन, जुन पूर्ण स्वतन्त्र हुन्छ लाई मिसरा उला (मिसरा ए उला) भनिन्छ भने दोस्रो लाईन, जसमा तुक मिलाउने मात्रै नभई गजलकारले आफ्नो अधुरो कुरालाई दमदार तरिकाले पुरा गर्छन लाई मिसरा सानि (मिसरा ए सानी) भनिन्छ ।
जस्तै माथिको गजलको पहिलो शेर: आशा जती निरासामा मोडिएर भार भयो हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो मा आशा जती निरासामा मोडिएर भार भयो ” भन्ने हरफ मिसरा उला हो भने “हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो” भन्ने दोस्रो लाईन मिसरा सानि हो ।
काफिया: यो गजलको एकदमै महत्वपूर्ण अंग हो । यदाकदा यसलाई गलको मुटु वा ज्यान पनि भनेर परिभाषित गरिन्छ । काफियाको शाब्दिक अर्थ पछि पछि आउनु भन्ने हुन्छ । माथिको गजल हेर्दा ‘मोडिएर तोडिएर गोडिएर आदि शब्द’ जुन हरेक मिसरा सानिमा पछिल्तिर आएका छन र फरक-फरक छन, लाई काफिया भनिन्छ । गजलमा साधारणतया अर्थ फरक आउने शब्द अपबाद हुने बाहेक उहि अर्थ आउने काफियाको प्रयोग गरिंदैन । हुनत केहि नाम चलेका गजलकारहरुले पनि काफिया दोहर्याएर गजल लेखेका छन, तर हरेक शेरमा भिन्न भिन्न काफियाको प्रयोगले नै कुनै पनि गजलकारको भाषिक ज्ञान, प्रखरता, र प्रतिभाको पूर्ण प्रदर्शन गर्छ । अनी दोहोरिएको काफियाले गजलकारको मात्रै हैन, जुन भाषामा गजल लेखिएको छ त्यो भाषाको शब्दकोषको समेत गरिवि पनि झल्कयाउँछ । त्यसैले काफियालाई तुक मिलाउने मेसोको मात्र उपयोगीतामा हेर्नु गल्ति हुनेछ ।
रदीफ: काफिया संगै आउने शब्द वा शब्द समुहलाई रदिफ भनिन्छ । जुन शेर पिच्छे बदल्न मिल्दैन र गजलको अन्त सम्म अपरिवर्तित रहन्छ ।
जस्तै माथिको गजलमा: “आशा जती निरासामा मोडिएर भार भयो, हाँसीखुसी बाँच्ने रहर तोडिएर भार भयो” मा ‘भार भयो’ रदिफ हो, जुन अन्तसम्म एउटै छ ।
मत्ला: मत्लाको शाब्दिक अर्थ “आरम्भ” वा शुरुवात भन्ने हुन्छ, अत: कुनै पनि गजलको पहिलो शेरलाई मतला भनिन्छ ।
जस्तै माथिको शेरमा: “आशा जती निरासामा मोडिएर भार भयो, हांसीखुसी बाच्ने रहर तोडिएर भार भयो” भन्ने शेर यो गजलको मतला हो । यहाँ याद गर्नु पर्ने कुरा के छ भने मतलाका दुबै मिसरामा काफियाको प्रयोग भएको हुन्छ । तर गजलका अन्य शेरमा भने मिसरा सानिमा मात्रै काफिया हुन्छ ।
मक्ता: मक्ताको अर्थ समाप्त हुनु हो, अर्थात जुन शेरबाट गजल अन्तहुन्छ गजलको त्यहि अन्तिम शेरलाई मक्ता भनिन्छ ।
तखल्लुस: प्राय गजलकारहरु गजलको मक्तामा आफ्नो नाम, उपनाम वा टाईटलको प्रयोग गर्छन। अर्थात अन्तिम शेरमा आफनो नाम पनि गजल भित्र हाल्छन, यसैलाई लखल्लुस भनिन्छ । यसले त्यो गजल कस्को हो भन्ने कुरा सुन्ने बित्तिकै थाहा हुन्छ भने आर्को कुरा तखल्लुसको प्रयोग कहिले काहि द्विअर्थि समेत हुँदा यसले सिधै गजलकारको नाम मात्रै नभई अरुनै कुनै संकेत वा ईशारा पनि गर्न सक्छ । अनी कतिपयले भने तखल्लुस सहितको अन्तिम शेरलाई मात्रै मकताको दर्जा दिने गरेको पनि पाईन्छ ।
यो गजलको बारेमा एकदमै साधारण जानकारि मात्रै हो यसका मानक र संयोजनका अन्य पक्ष जस्तै: बहर, रुक्न, वज्न आदि बारेमा पनि यथेष्ट ज्ञान भएमा सोहि अनुरुप लेखीए मात्रै गजलमा उत्कृष्टता आउन सक्छ, नत्र बेजोड भाव, समानान्तर तुक र गेय भएपनि काव्य, गजल नबनी कबिता मात्र हुने वा कहिले काहि न कबिता न गजल भै बिचमै लटकिन पनि सक्छ ।
समयले साथ दिएमा त्यस बारेमा आगामी पोष्टमा लेख्ने प्रयास गर्ने छु । आजलाई भने जाँदा जाँदै गजल सम्बन्धमा केहि रमाईला तथ्य र किम्बदन्तिहरु:
•यौटा किम्बदन्ति अनुशार अरबमा एकजना ‘गजल’ नाम गरेका शायर थिए जसले प्रेमको गित बनाउनमै आफ्नो जिवन बिताए। शुरु शुरुमा गजल केवल प्रेमको बारेमा मात्रै लिखिन्थ्यो त्यसैले पछिका दिनमा यस प्रकारको प्रेमको गित नै उसैको नामले चिनिन थाल्यो ।
•दसौं शताब्दिमा ईरानमा जन्मेका ‘रौदकी’ नामका शायर (जो जन्मजात अन्धो रहेको बिश्वास गरिन्छ) लाई नै गजलको जन्मदाता पनि मानिन्छ ।
•उर्दूका प्रशीद्ध शायर जानिसारले गजललाई:
“हमसे पूछो कि ग़ज़ल क्या है ? ग़ज़ल का फन क्या है ? चंद लफ्जों में कोई आग छुपा दी जाए ।” भनेर परिभाषित गरेका छन ।
•गजल अरबि शब्द हो र यसको माने नारि शौन्दर्यको वर्णन वा प्रेयसीसंग प्रेमालाम भन्ने हुन्छ ।
•मतला बाहेकका बिचका कुनै शेरमा पनि दुबै मिसरामा काफिया राखेर लेखीएको शेरलाई ‘हुस्न-ए-मतला’ भनिन्छ ।














































मनोज जि धन्यवाद। अझ मिठा कोशेलिको प्रतिक्षा मा छौ , आसा छ कोशेली पस्किनु हुन्छ भन्नेमा।।।।।।
नबराज पन्थी पाल्पाली
Thanks Nabraj sir ashaa garau. tara kosheli paskida paskidai katai bhuima jharne po ho ki 1st jan ko ko program jastai….
Manoj
Thanks sir,
tapaiko prativa actually ati ramro lagyo malai. Yestai pragati gardai gaya tapaiko sunaulo bhabisya ko dhoka najik chha jasto maile dekheko chhu.Keep it up for your excellant progress.
Thanks Dai,
keep it up for your good progress in writing gajals and poems.Thanks …………………always
Madhav ji ra narayan ji lai Aatma dekhinai Dhanyaabaad chha sahityeek yatraa ma satha kahile natutos………….
Manoj
मनोज जि धन्यवाद।