हङकङमा बुधबार दिउसो एक औंस सुन (२ तोला ६६ लाल) को १ हजार २ सय १२ डलरमा कारोबार भयो । यो भाउ अनुसारको मूल्य निर्धारण हुने हो भने बुधबार दिउसो स्थानीय बजारमा यसको मूल्य ३४ हजार रुपैयाँ नाघेको छ । मंगलबार अमेरिकाको न्युयोर्क मर्कन्टाइल एक्सचेन्जमा भएको अन्तिम कारोबारको आधारमा मूल्य निर्धारण भएकाले बुधबार दिउसो अन्तर्राष्ट्रिय मूल्यभन्दा केही सस्तोमै यसको कारोबार भयो ।
बुधबारका लागि नेपाल सुनचाँदी व्यवसायी संघले प्रति दशग्राम २९ हजार ६५ रुपैयाँ तोकेको थियो । जस अनुसार प्रति तोला सुनको मूल्य ३३ हजार ९ सय रुपैयाँमा कारोबार भयो । भारतीय बजारमा ‘अपडेटेड’ मूल्य अनुसार नै सुनको कारोबार भयो । त्यहाँ प्रति दशग्रामको मूल्य २९ हजार ६७ रुपैयाँमा कारोबार भएको भारतीय मिडियाले जनाएका छन् । नेपाली सुन बजारमा भएको यो सबैभन्दा महँगो कारोबार हो । सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो अन्तरले परिवर्तन आएको छ । एकै दिनमा चाँदीको प्रति दशग्राम मूल्यमा ११ रुपैयाँ बढेको संघले जनाएको छ । बुधबार एक तोला चाँदीको मूल्य पाँच सय ५५ रह्यो । न्युयोर्कमा प्रति औंस चाँदीको मूल्य १९ डलर नाघेको छ । यो चाँदीको पनि सबैभन्दा महँगो मूल्यको कारोबार हो ।
हामीले अघिल्लो दिनकै आधारमा आजको लागि मूल्य तोकेका हौं, अहिले भइरहेको कारोबारको तुलनामा यहाँको भाउ केही सस्तो छ, संघका अध्यक्ष तेजरत्न शाक्यले भने । उनका अनुसार सुनको भाउ केही बढ्ने र केही घट्नेक्रमले पहेलो धातु महँगिनेक्रम अझै रहने देखिएको छ । सुन विश्लेषकहरुले प्रति औस सुनको मूल्य १ हजार १ सय ७० कट्यो भने यसको भाउ डिसेम्बभत्र १ हजार २ सय ५० डलर पुग्ने अड्कल काटै आएका छन् । अघिल्लो सातामात्रै एक औंस सुनको भाउ १ हजार १ सय ७० डलरबाट माथि पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ हजार दुई सय कट्नुलाई कारोबारको मनोवैज्ञानिक स्तर भनिएको थियो, सुन डिलर निर्मलज्योति तुलाधरले भने, यो दर सजिलै कटेकाले सुनको भाउ १ हजार २ सय ५० पक्कै पुग्छ । उनका अनुसार भाउ बढेकाले नेपालमा सुन कारेबार गर्नेहरु पर्ख र हेरको अवस्थामा छन् । अहिले नेपालका लगानीकर्ताले संग्रह गर्नेगमात्र सुन किनेका छन्, उनले भने ।













































