पाण्डेमिक भाइरल इन्फ्लुएजा स्वाइन फ्लुको आशंका गरि जिल्ला अस्पताल म्याग्दीमा उपचार गराउन आउने बिरामीहरुको सङ्ख्या तीनसय नाघेको छ । बिरामीहरुमा रुघाखोकी ज्वरो आउने टाउको दुख्ने लगायतका लक्षण देखिएकाले स्वाइन फ्लुको आशंकामा १५ जनाको रगत तथा खकार लगायतका नमुना सङ्कलन गरि परीक्षणका लागि काठमाण्डौ पठाईएको अस्पताल प्रमुख डा. लालबहादुर मल्लले बताए । काठमाण्डौ लगिएको नमुना परीक्षण गरि शनिबार साँझसम्ममा नतिजा आउने बताउँदै महामारी रोग नियन्त्रण महाशाखा काठमाडौका डा. बिश्वराज खनालले अहिले नेपालमा देखापरेको स्वाइनफ्लु त्यति डरलाग्दो नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
सदरमुकाम आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि रोगनियन्त्रण महाशाखा काडमाण्डौबाट डा खनालसहितको आठ जनाको टोली बेनी आएको थियो र सो टोलीले सोमबार दिनभर बिरामीहरुलाई बेनीमा उपचार गरेको थियो । स्वाइनफ्लुकै आशंकामा सदरमुकामका सरकारी तथा नीजि विद्यालयहरु बिहिबारसम्मका लागि बन्द गरिएका छन् । बिगत केहिदिनयता जिल्लाका ग्रामिण क्षेत्रका स्वास्थ्यचौकीहरुमा पनि रुघाखोकी ज्वरो लगायतका बिरामीहरुको सङ्ख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको सम्वन्धित उपस्वास्थ्य चौकीहरुले जनाएका छन् ।













































