हरि कृष्ण न्यौपाने (घायल)
सजिलो काम अनि राम्रो पारिश्रमिकको आशामा आफ्नो आर्थिक दायित्वलाई पुरा गर्दै, आफ्नो परिवार अनी समाज प्रतिको दायित्व पुरा गर्न जस्तो सुकै दु:ख गर्न पनि पछि नहट्ने साहसका साथ केही समय भए पनि कुवेतको मरुभुमिमा काम गरी केही पैसा कमाउने चाहनाका साथ यहाँ पहिला देखिनै नेपाली कामदारहरु आउने क्रम जारी छ । खास गरेर नेपाली महिला घरेलु कामदारको संख्या धेरै भएता पनि अन्य क्षेत्रमा पनि नेपाली महिला अनि पुरुष कामदारहरुको पनि घुँईचो नै लागेको छ, आजकल कुवेतमा ।
एकातिर आवश्यक ज्ञान, सीप अनी शिक्षाको कमिका कारण धेरै नेपालीहरुले कम पारिश्रमिकमा जोखिमपूर्ण काम त गर्नु परिरहेकै छ भनें अर्कोतिर नेपालको सरकारी निकायहरुको शून्यताको कारण पनि कुवेतमा धेरै नेपालीहरुले कठिनाई भोग्नु परिरहेको छ । यसै सन्दर्भमा कुवेतमा धेरै नेपालीहरु जेलमा रहेको सर्वविदितै छ । धेरै पहिला मृत्युदण्डको सजाय पाएकी डोल्मा शेर्पा मात्र होइन अरु धेरै नेपाली दाजुभाइ-दिदीबहिनिहरुले पनि कुवेतको जेलको अन्धकारमा आफ्नो जीबन गुजारा गर्न वाध्य छन ।
खास भन्ने हो भनें आर्थिक कमजोरी, भाषा समस्या अनि आफ्नो तर्फबाट वकालत गरिदिने उपयुक्त वकिलको अभावमा सानो-तिनो मुद्दामा पनि लामो समय सम्म कुवेतको जेलमा बस्न वाध्य छन् । यता उनिहरुको परिवारमा पनि पैसा कमाउन गएको आफ्नो मान्छे संपर्कबिहिन हुदाँ वा बिदेशमा जेल परेको कुरा थाहा पाउँदा कति नरमाईलो लाग्दो हो शायद शब्दमा व्यक्त गर्न सकिन्न होला । यसै सन्दर्भमा कुवेतमा रहेर लामो समय देखि इस्लामीक प्रिजेन्टेशन कमिटीमा सहायक शिक्षकका रुपमा कार्यरत केदार नाथ खरेलको सहयोगमा कुवेतको जेलमा भएका केहि नेपाली दाजुभाई-दिदीबहिनिहरुको कथा-ब्यथा अनि बेदनालाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
सुन्दरपुर-६ मोरङ घर भएका केदार थापा कुवेतको सुईडीस कम्पनीमा लामो समयदेखि कार्यरत हुनु हुन्थ्यो । आफु घर जान लाग्दा समयमा घर जान नदिएकाले सुन अफिसमा गएर केस् गरेर नेपाल जानु भयो । घरबाट आएपछी सिधै अर्को अल-मुल्ला कम्पनीमा काम गरेको हुनाले इलिगलको अवस्थामा पुलिस चेकिङमा पक्राउ परेर हाल १५ महीना देखी कुवेतको जेलमा परेका छन । नेपालमा घरयासी अवस्था एकदम नाजुक भएको कारण आफु कुवेत पुन: आउनुपरेको तर आफु लामो समय देखि जेल पर्दा पनि छुट्न गाह्रो परेकोले अति चिन्तित रहेका उनको भनाइ थियो, “अब कहिले फर्कने होला घर, नेपालमा जान पाए त पाखुरा बजारेर खान त पाइन्थ्यो”, उता चितवन जिल्ला, खैरनी गा.वि.स.-८ का नरेश महतो (पासपोर्ट नं २८४११२९०२२१७) को पनि आफ्नै सानो गल्तिका कारण कुवेतको जेलमा बस्नु पर्दा साह्रै मन रोएको छ । उहाँ कुवेतको मङगाफमा रहेर के.जी.एल. ट्रान्सपोर्ट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँ लिगल भएर पनि १७-अप्रिल २००९ मा रक्सि पिएको आरोपमा पक्राउ पर्नु भएको हो ।
उता इराक गई अलि धेरै पैंसा कमाउने रुपन्देही जिल्ला रुद्रपुर -८ का कृष्ण बहादुर थापामगर (पासपोर्ट नं-३०६१९६२) को सबै सपना चकनाचुर भएको छ । उहाँलाई नेपाली दलालले कुवेत हुँदै इराक लैजानको लागि यहाँ ल्याएको थियो तर कुवेतमै अलपत्र अवस्थामा पक्राउ पर्दा अहिले कुवेतको जेलमा परिवारको सम्झनामा तडपिनु परेको छ । त्यस्तै सुनसरी घर भएका देव बहादुर मेहता (पासपोर्ट नं-४२५३०१८) कुवेतको ग्रीन भन्ने ठाऊँमा काम गर्दथे । घरमा काम गर्न कठीन भएको हुनाले घर जान खोज्दा पासपोर्ट नदिएको हुनाले घरबाट भागेर एयरपोर्ट पुग्दा त्यहिँबाट पक्राउ परेर जेल पर्नु भएको हो । अब कहिले अनि कसरी आफ्नो घर पुग्ने भन्ने त्रासले सताई रहेको उनको भनाई छ ।
राज बहादुर भाट क्षेत्री, हवालीमा काल्देन मार्केटमा काम गर्नु हुन्थ्यो । के कारण र कुन अवस्थामा पक्राउ पर्नु भयो भन्ने पूर्ण जानकारी प्राप्त भएको छैन । किरण के.सी., योग राई, जीतेन्द्र थापा, अशोक राना र ज्ञान बहादुर मगर वहाँहरुको नेपालको ठेगाना खुलाईएको छैन । वहाँहरु सबैजना ईशा अल-मसाब कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । वहाँहरु कसैको वहकावमा लागेर रक्सी बेच्न थाल्दा पक्राउ परेर १३ महीना देखी जेल परेको गुनासो गर्नुहुन्छ ।
त्यसो त कुवेतमा नेपाली दूतावास तथा नेपालीहरुको हक-हितको लागि बोलिदिने कोहि नभएकोले होला बिना जानकारी कुवेतको जेलमा आफ्नो अमुल्य समय आफन्तको सम्झनामा बिताउन धेरै नेपाली वाध्य छन । कति जनालाई त आफु कुवेतको जेलमा रहेको कुरा न आफ्नो परिवारलाई थाहा छ न त आफ्नो साथिहरुलाई नै ! किन कि कुवेतको पुलिसले कहाँबाट कसरी समात्छ कसैलाई जानकारी नै हुन्न । कुनै मिडियामा पनि दिइन्न, अनि कसैलाई भेट्न पनि हप्तामा आइतबार मात्र जानु पर्ने र आधिकारीक व्यक्ति हुनुपर्ने नियम भएको हुनाले पनि सबै नेपालिहरुको ब्यथा आफैमा बिलाएको छ ।
केहि महिना पहिले कुवेत टाइम्सबाट फोटो सहित नेपाली युवती ड्रग काण्डमा, अनि केहि हप्ता अगाडि नेपाली युवतिले बंगाली युवकसंग यौन संपर्क राखेको खबर बाहेकका केहि खबरहरु कसैलाई पनि थाहा नहुने हुनाले पनि यकिनका साथ यति संख्यामा नेपालीहरु कुवेतको जेलमा छ्न भन्न त सकिन्न तर भर्खरै मात्र एक कुवेती अधिकारीले दिएको जानकारी अनुसार कुवेतको जेलमा २०६ जना नेपाली महिलाहरु रहेका र जसमा २१ जना बच्चा सहित रहेको जानकारी प्राप्त भएको छ । हालै मात्र कुवेत सरकारले एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेतको केन्द्रिय कारागारमा सजाय बेहोरिरहेकी नेपाली युवती सिन्धुपाल्चोक की डोल्मा शेर्पा सन् २०१२ को जुन १९ मा कारगार मुक्त हुने कुरा जनाएको छ ।
चाहे जो नेपाली दिदीबहिनी वा दाजुभाईहरु जे मुद्दाको अभियोगमा कुवेतको जेलमा बस्न वाध्य भएपनि उनिहरुको मन मस्तिष्कमा कसले कसरी अनि कस्तो हिसाबले सहयोग गरेमा चाडैं मुद्दाको किनारा लागि आफु जेलमुक्त हुन पाइन्छ भन्ने मात्र रहि रहेको प्रष्ट हुन्छ । आशा गरौं नेपाल सरकार अनि सरोकार वाला सबैले कुवेतको जेलमा बस्न वाध्य नेपालीहरुको ब्यथालाई बुझी छिट्टै जेल मुक्त गर्ने छ । हाम्रो पनि यहि कामना छ, “सबै नेपालीहरुले छिट्टै जेल मुक्त भई आफ्नो जन्मभुमिमा फर्कन पाउन ।”
उही परदेशबाट,

हरि कृष्ण न्यौपाने (घायल)
ईमेल: harineupane_3@yahoo.com
कालिका १, पुरानाकोट, सिन्धुपाल्चोक
हाल: अनकुण्डा बलाद (इराक)
सम्पादक/प्रकाशक: नेपालकुवेत डट कम
तथा
सह-सचिव: प्रवासी प्रगतीशिल पत्रकार मन्च (कुवेत)














































नेपाल आमाका स्वाभिमानी सन्ततिहरु विविध कारणवश कुवेतको जेलको अन्धकारमा अन्यौलपूर्ण जीबन व्यतित गर्न विवश भएका अत्यान्तै सूचनामुलक खबर उपलब्ध गराउनु हुने हरी कृष्णजीलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छौं । साथै यस कार्यमा सहयोग पुर्याउनु हुने इस्लामिक प्रिजेन्टेसन कमिटिका सहायक शिक्षक केदार नाथजीलाई पनि धन्यवाद ।
कुवेतनेपाल डट कम
thanks hari-krishna naupane sir and thanks all kuwaitnepal family…..God bless kuwaitnepal.com patrika….
Hi Hari sir!! Good job yaar keep it up