काठमाडौं, सरकारले दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरेको एक महिना बिते पनि हालसम्म अफ्रिकाले दूतावास खोल्नका लागि स्वीकृति दिएको छैन । दूतावास खोल्ने स्वीकृति नआएका कारण परराष्ट्र मन्त्रालयले अफ्रिकाका लागि राजदूत सिफारिस गरिएका मन्त्रालयका सहसचिव अरुणप्रसाद धितालको नाम सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाउन सकेको छैन । धिताल हाल मन्त्रालयमा चीन महाशाखा प्रमुख हुनुहुन्छ ।
यसअघि समितिले ब्राजिल, राष्ट्रसंघ स्थायी नियोग र कुवेतका लागि राजदूत सिफारिस क्रमशः प्रद्युम्नविक्रम शाह, ज्ञानचन्द्र आचार्य र मधुवन पौडेलको नाम सुनुवाइपश्चात् अनुमोदन गरी पठाइसकेको छ। ब्राजिल र कुवेतले दूतावास खोल्ने स्वीकृति दिए पनि अफ्रिकाले भने अझै दिएको छैन । सरकारले इजिप्ट, बेलायत र फ्रान्सका लागि अझै राजदूत सिफारिस गर्न सकेको छैन । परराष्ट्रमन्त्री सुजाता कोइरालानिकट स्रोतका अनुसार दलहरूबीचको बढ्दो असहमतिका कारण ती देशमा राजदूत सिफारिस गर्न गाह्रो भएको हो।
देशमा राजनीतिक निकास ननिस्केसम्म ती देशमा राजदूत सिफारिस हुने सम्भावना कम छ, परराष्ट्रमन्त्रीनिकट स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- दलहरूबीचको बढ्दो राष्ट्रिय असहमति त छँदैछ, त्यसका अलावा कसलाई राजदूत बनाउने भन्ने अर्को विवाद कायमै छ । स्रोतका अनुसार इजिप्टका लागि सरकारमा सहभागी मधेसी दलहरूले आफ्नोतर्फाट राजदूत सिफारिस गर्न पाउनुपर्ने अडान छोडेका छैनन् । हाल इजिप्टमा राजदूत रहनुभएका मन्त्रालयका सहसचिव रामभक्त पीबी ठाकुर केही दिनमै चारवर्षो कार्यकाल पूरा गरी स्वदेश फर्किंदै हुनुहुन्छ । त्यस्तै बेलायतका लागि मुरारिराज शर्मा या सुरेश चालिसे कसलाई राजदूत बनाउने भन्ने प्रम नेपाल र परराष्ट्रमन्त्री कोइरालाबीचको मतभेद कायमै छ । स्रोतले प्रम नेपाल शर्मा र मन्त्री कोइराला चालिसेका पक्षमा रहेको दाबी गर्यो ।
फ्रान्सका लागि अघिल्लो सरकारद्वारा राजदूतमा सिफारिस माओवादी नेता राम कार्कीलाई नै निरन्तरता दिने वा अन्य कसैलाई सिफारिस गर्ने भन्ने विवाद पनि यथावत् नै छ । कार्कीको एग्रिमो गत जेठमा नै फ्रान्सले स्वीकृत गरेर मन्त्रालयमा पठाइसकेको छ । माओवादीले कार्कीलाई नै राजदूत बनाउन आग्रह गर्दै आएको छ । तर यसअघि साउनमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री कोइरालाले पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको नाम फ्रान्सका लागि राजदूत प्रस्ताव गरे पनि मन्त्रीहरूबीचको विवादले त्यत्तिकै रोकिएको थियो ।
स्रोतले कटवालको नाम पुनः राजदूतका लागि चर्चामा आउनै नसक्ने दाबी गर्यो। ‘मन्त्रीज्यूले अब आफू विवादमा तानिने गरी कटवाललाई राजदूत प्रस्ताव गर्ने कुनै सम्भावना छैन’ -परराष्ट्रमन्त्रीनिकट स्रोतले भन्यो । उता मन्त्रालय अहिले ब्राजिल, क्यानडा, कुबेतमा दूतावास भवन भाडामा लिने या नयाँ भवन लिने विषयमा छलफलमा जुटेको छ । ती देशमा अहिले पहिलो पटक दूतावास खोल्न लागिएको हो । सरकारले गत असारमा ती देशमा दूतावास खोल्ने निर्णयगरेको थियो । कर्मचारी दरबन्दी सामान्य प्रशासन मन्त्रालय र आवश्यक बजेट अर्थ मन्त्रालयबाट व्यवस्था भइसके पनि दूतावास भवन भने अझै स्थापना भएका छैनन् ।
(नेपाल समाचारपत्र)














































its nice to hear really good