गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन

girija son

गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन - तस्विरमा । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन, तर छोरा सुरेश गुमनाम छन । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन भन्नेसमेत थाहा छैन ।

कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटी स्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन । राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन । म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ? उनले भने ।

सुरेश २२ चैत २००४ मा जन्मिएका हुन जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत भएको थिएन । आमा दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन । त्यसपछि सुरेशको लालनपालनको सम्पूर्ण जिम्मा लिए गिरिजाप्रसादले । बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमानबिच सम्बन्धविच्छेद भयो । यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो ।

सुष्मा यति सुन्दरी थिइन कि गिरिजाप्रसाद पग्लिए । उनले बच्चाकी आमासमेत भनेनन, प्रेमप्रस्ताव राखे । छोरा सुरेशलाई समेत स्विकार्ने सर्तमा गिरिजाप्रसाद र सुष्माको बिहे भयो । गिरिजाकी आमा दिव्यालाई बच्चासहितकी बुहारी भित्रिन लागेको मन परेको थिएन । बिपीले पनि तत्काल बिहे नगरेर आमचुनावको तयारीमा लाग्न भाइलाई निर्देशन दिएका थिए । तर प्रेममा पग्लिएका गिरिजा रोकिएनन, उनले कोलकाता पुगेर बिहे गरे । उहाँहरू बिहे गर्न नै कोलकाता जानुभयो, केशव र नोनाले उहाँहरूलाई साथ दिनुभयो, कोइराला निकट रहेर काम गरेका सभासद पुरुषोत्तम बस्नेतले भने, आमासँगै आएका सुरेशलाई गिरिजाबाबुले आफ्नै छोरा मान्नुभयो, अभिभावकत्व दिनुभयो ।

२००९ सालमा बिहे गरेको गिरिजादम्पतीबाट ०११ सालमा सुजाता जन्मिइन । घरमा नयाँ सन्तान आएपछि पनि सुरेशको महत्त्व कम भएन । कतिसम्म भने गिरिजाप्रसादले आफ्नी छोरीको नाम पनि सुरेशसँगै मिल्नेगरी राखिदिए- सुजाता । ०२२ सालमा आफ्नै घरको फ्रिजमा लागेको आगोले जलेर सुष्माको निधन भयो । सुष्मासँग १३ वर्ष मात्र बिताएका गिरिजाप्रसादले अर्को बिहे पनि गरेनन् र सुरेशलाई हेला पनि गरेनन । सुष्माको निधन भएको २२ वर्षपछि गिरिजाप्रसादले आफ्नै छोराको रूपमा सुरेशको नागरिकता बनाइदिए । सुरेशले २२ पुस ०४३ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन । वंशजको आधारमा जारी उनको नागरिकतामा बुबाको नाम छ- गिरिजाप्रसाद कोइराला ।

कोइरालानिवासमा हुर्केका सुरेशलाई कोइरालानिवासमा भेदभावको अनुभव भएन । उनले अरूले जत्तिकै सुविधासाथ पढ्ने अवसर पनि पाए । बिपी, केशव र तारिणीप्रसाद कोइरालाका छोराहरूसँगै सुरेशले पनि पहिले दार्जिलिङ र पछि बनारसमा पढे । हामी सँगै खेल्यौँ, सँगै खायौँ र पढ्यौँ, तारिणीपुत्र ज्योतिले भने, अन्य कुरा त हामीलाई महसुस नै भएन । बनारसबाट बिएस्सी सकेपछि सुरेश विराटनगर फर्के । ०२८ सालमा विराटनगरको अस्पतालचोककी भानु थापासँग उनको मागीबिहे भयो । केटी माग्ने काम पनि गिरिजाप्रसादकै पहलमा भएको थियो । बिहेअघि जिल्लास्तरीय राजनीतिमा सक्रिय सुरेश बिहेपछि राजनीतिबाट टाढा भए । खोइ पहिलेको कुरा त थाहा भएन, बिहेपछि त राजनीतिमा हिँड्नुभएको छैन, श्रीमती भानुले भनिन ।

विज्ञानमा स्नातक पढेका सुरेश विराटनगरमा खेती-किसानीमा लागे । पञ्चायतकालमा कोइराला परिवारका सदस्यहरूका लागि सरकारी जागिर निषेध थियो । तर, विराटनगरमा कोइराला परिवारको प्रशस्त जग्गा थियो । त्यही जग्गामा उनले २८ सालदेखि दुई दशकसम्म कृषिको काम गरे । ०४८ सालमा पिता गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि सुरेश पनि काठमाडौं आए । उनले जागिर पाए शाही (तत्कालीन) नेपाल वायुसेवा निगममा । पिता प्रधानमन्त्री भएको वेला छोरी सुजाताले शानेवानिका जहाज बिक्रीकाण्ड र धमिजाकाण्ड मच्चाएको आरोप छ । त्यहीवेला छोरा सुरेश भने निगममा बजार प्रबन्धकको रूपमा ‘लो प्रोफाइल’ को जागिर खाइरहेका थिए । चार वर्षसम्म निगममा काम गरेपछि उनी लागे प्रेस चलाउन ।

सुरेशको नाममा विराटनगरमा १५ बिघा जग्गा छ । यो जग्गा पनि पिता गिरिजाप्रसादले दिएका हुन । उनी अहिले राजधानीको बौद्ध टुसालस्थित मनोहर चालिसेको घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका छन । प्रेसको आम्दानीले नै उनको खर्च चल्ने गरेको छ । अहिले पनि कोइराला परिवारभित्रै अनेक शक्तिकेन्द्र छन । तर ‘लो प्रोफाइल’का सुरेश कुनै पनि केन्द्रमा छैनन । त्यसैले उनलाई सबैले माया गर्छन । त्यसमा पनि गिरिजाप्रसादले त झन धेरै माया गर्छन । हामी भेट्न गइरहन्छौँ, साह्रोगाह्रो के छ भनेर सोध्नुहुन्छ, सुरेशकी श्रीमती भानुले भनिन । सुरेश बाबुलाई भेट्न हप्तैपिच्छे जस्तो जाने गरेका छन । भानुका अनुसार पछिल्लोपटक सातादिनअघि पनि उनीहरू दुवैजना कोइरालानिवास महाराजगन्ज पुगेका थिए ।

सुजाताले पनि दाइलाई राम्रै व्यवहार गर्छिन । सुजाता नानी मन्त्री भएपछि बधाई दिन गएका थियौँ, भानुले भनिन्, उहाँ पनि हामीकहाँ आउनुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ, हामी खुसी छौँ । सुरेशका दुई छोरा छन, जेठा परितोष बिपीपुत्र डा. शशांकको घरमा बस्दै आएका छन । कान्छा अभिषेक मुम्बईमा कलसेन्टरमा काम गर्छन । इन्जिनियरिङ पढेका ३२ वर्षीय परितोषको बिहेका लागि बधूको खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

(नयाँ पत्रिका)

Leave a Reply

Fill in your details below or click an icon to log in:

Gravatar
WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s