कान्तिपूर काठमाण्डौ,
नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र ४ मुलुकमा दूतावास खोल्ने भएको छ । कुवेत, दक्षिण अफ्रिका, क्यानडा र ब्राजिलमा दूतावास खोल्ने तयारी भइरहेको परराष्ट्र प्रवक्ता मदन भट्टराईले बताए । त्यसका लागि बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको पनि उनले जनाए । दूतावास स्थापनापछि ती मुलुकमा नेपालको सीधा कूटनीतिक सम्बन्ध हुनेछ । क्यानडा नेपालको ठूला दातृराष्ट्रमध्ये पर्ने भए पनि दूतावास नहुँदा वासिङटनस्थित दूतावासमार्फत सम्पर्क गरिँदै आएको छ ।
ब्राजिलमा दूतावास खुलेपछि ल्याटिन अमेरिकी मुलुकसँग सम्बन्ध सहज बन्नेछ । कुवेतसँगको कूटनीतिक सम्बन्ध हाल साउदी अरवस्थित दूतावासले हेर्दै आएको छ भने दक्षिण अफ्रिकासँगको सम्बन्ध इजिप्टस्थित नेपाली दूतावासमार्फत हुने गरेको छ । कुवेत नेपाली कामदारहरूको आकर्षक गन्तव्यमध्ये पर्छ भने दक्षिण अफ्रिका- अफ्रिकाकै ‘बिग इकोनोमी’ राष्ट्र हो । प्रवक्ता भट्टराईले भने, दूतावास खुलेपछि सहयोग र लगानी भित्र्याउनमात्र होइन नेपाली उत्पादनको बजार विदेशमा खोज्न र पहिचान गर्न पनि सजिलो हुनेछ ।
हाल नेपालको २३ देशमा दूतावास छन् । जेनेभा र राष्ट्रसंघमा दुई स्थायी नियोग तथा ल्हासा, कोलकता र हङकङमा कन्सुलेट अफिस छन् । हाल ती नियोगसहित परराष्ट्र मन्त्रालयको कर्मचारी संख्या तीन सय दुई छ । परराष्ट्र मन्त्रालयले कर्मचारी संख्या बढाउन पनि सरकारसँग माग गर्ने भएको छ । ‘कर्मचारी नबढाइ छिटोछरितो काम गर्न सकिने अवस्था छैन,’ प्रवक्ता भट्टराईले भने ।
यसैगरी सन् २०१० को अप्रिलभित्र मेसिन रिडेवल पासपोर्ट जारी गर्न तयारी गरिरहेको परराष्ट्रले बताएको छ । इन्टरनेसनल कर्पोरेसन एभिएसन अर्गनाइजेसन -ईसीएओ) ले उक्त समयभित्र मेसिन रिडेवल पासपोर्ट जारी गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई निर्देशन दिएको हो । नेपाल ईसीएओको सदस्य हो । मेसिन रिडेवल पासपोर्ट जारी गर्नेबारे पनि गृह मन्त्रालयसँग छलफल भइरहेको प्रवक्ता भट्टराईले जनाए ।













































