१२ जुन २००९, जय आले (कुवेत) ।
ईलामकी तारा शर्मा र झापा बाहुनडांगिका ज्ञानेश्वर शर्मा गत २२ महिना अगाडि नेपालमा विधिवत विवाह बन्धनमा बाँधिएका थिए । ज्ञानेश्वर शर्मा केही वर्षयता कुवेतमा कार्यरत रहेकाले आफ्नी श्रीमती तारालाई कुवेत ल्याउन, कुवेतको कानुनले तोकेको र आफुले पाउने तलब सुबिधा समानन्तर नभएकोले फेमिली भिसाको निवेदन अस्विकृत भई एक घरेलु कामदारको भिसामा तारालाई कुवेत झिकाएका थिए । कुवेतमा उनिहरुको वैवाहिक जिबनयात्रा अन्यान्तै खुशीयाली र एकअर्काको सुख-दु:ख साटासाट गर्दै गुज्रिरहेको थियो । अझ उनिहरुको खुशीमा वसन्तको वहार बोकी ७ महिना अगाडि एउटा नव-आगन्तुक - नावालक छोराको पनि प्रवेश भयो ।
(फोटोमा मृतकको ७ महिनाको नावालक छोरा)
तर नियतिको खेल, दैवको लिला कसले बुझ्न सक्दो रहेछ र आखिर ज्ञानेश्वर र ताराको जिबनमा पनि बिस्मातको हुरिले प्रवेश गर्न कत्तिपनी ढिलो गरेन । गत २०६६ जेष्ठ १ गते आफु कार्यरत कुवेत स्थित सुल्तान सेन्टर साल्मिया रेस्टुरेन्टमा ड्युटी गर्न जाँदै गर्दा सडक पार गर्ने क्रममा तिव्र गतिमा आएको कारको ठक्करले उहाँको घटनास्थलमानै मृत्यु भएको थियो । सोच्नुहोस् मरेर जाने गईहाले तर कुवेत जस्तो ठाउँमा ताराको अवस्था कस्तो भयो होला ? बेलैमा पितृमोह गुमाउन पुगेका नावालक छोराको भविष्य कस्तो होला ? शायद यि कुराहरु कसैले शब्दमा ब्याख्या गर्न सकिंदैन ।
यही परीवेशलाई मनन गरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेतले सक्दो आर्थिक सहयोग नेरु १६,००० (सोह्र हजार) मृतककी श्रीमतिलाई प्रदान गरेको छ । क्लवका नव निर्वाचित अध्यक्ष श्री किरण पौड्याल र उपाध्यक्ष श्री धर्मराज गिरीबाट क्लवको सहयोग पीडितलाई हस्तान्तरण गरिएको थियो साथै पीडित परिवारलाई एयर्पोर्ट सम्मको यातायात सुबिधा पनि उपलब्ध गराईएको थियो । पीडित श्रीमती तारा शर्माले वहाँहरुलाई बताए अनुसार, खानपिनको ब्यवस्था देखी लिएर कुनै किसिमको हेरबिचार मृतक कार्यरत कम्पनिले आफुलाई नगरेको र उनी कुवेत स्थित आफन्तजनहरुको कृपामा आजसम्म रहेको बताइन । उनले भनिन नेपालमा घरपरिवारले आफ्नो नावालक छोराको हेरबिचार गरिदिए जिबन गुजाराको निम्ती आफु केही महिनामै कुवेत वापस आउने छु र काम गर्नेछु ।
(फोटोमा क्लवका नव निर्वाचित अध्यक्ष किरण पौड्याल द्वारा मृतककी श्रीमती तारा शर्मालाई रकम हस्तान्तरण गर्दै)
मृतक ज्ञानेश्वर शर्माको पार्थिव शरीर र पीडित परिवार ११ जुन २००९ (३० जेष्ठ २०६६) बिहिवारको दिन कतार एयरबाट नेपाल पठाईएको छ र नेपालसम्म पुर्याइदिने जिम्मा कुवेतमा कार्यरत लक्ष्मी बिमली ज्यूले लिनु भएको छ ।













































