Monthly Archives: June 2009

विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा भेटियो

विश्वब्यापी महामारीका रुपमा फैलिएको रोग स्वाईन फ्लु नेपालमा पनि भेटिएको पुष्टि भएको छ । अमेरीकाबाट कतारको दोहा हुदै नेपालमा आएका तीन जनामा स्वाइन फलुको भाइरस एचवानएनवान भेटिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरि महाशाखाका प्रमुख शैलेन्द्रकुमार उप्रेतीले पाण्डेमिक इञ्फ्लुएञ्जा एचवानएनवान भेटिएको जानकारी दिए । जुन २१ तारिखमा नेपालमा आएका उनीहरु नेपाली नागरिक भएपनि उनीहरुको बारेमा थप जानकारी भने दिइएको छैन । उनीको परिचय गोप्य राखिएको छ । उनीहरुलाई महाशाखाले आफ्नो नियन्त्रण लिएर एचवान एन वान नियन्त्रणका लागि विश्व बै‌कको सहयोगमा टेकुमा बनाइएको उपचारकक्षमा विशेष निगरानीका साथ राखेको बताइएको छ । लामो समयदेखि परिक्षण जारी राखेपछि मात्र स्वाइन फ्लु भएको पुष्टी भएको उनले बताए । एकै परिवारका ३८ वर्षका श्रीमती, ४२ वर्षका श्रीमान र उनीहरुका ८ वर्षिय छोरा तीनै जनामा स्वाइन फ्लु भेटिएको हो ।

परिक्षणपछि आइतबार मात्र उनीहरुमा स्वाईन फ्लु भएको पुष्टि भएको हो । जुन २१ तारिखमा कतार एयरवेजबाट उनीहरुसंगै नेपाल भित्रिएका नेपालीहरुको पनि परिक्षण शुरु गरिने भएको छ । छिमेकि राष्ट्र भारत र चीनमा पनि भेटिएको स्वाइन फ्लु अहिलेसम्म ११३ देशमा भेटिएको छ भने ६० हजार बढी प्रभावित भइसकेका छन् । भारतमा अहिलेसम्म एक दर्जनभन्दा बढीमा एचवानएनवान भेटिएको छ । यो महामारी फैलने वित्तिकै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष निगरानी सुरु गरिएको थियो । उनीहरुमा एचवानएनवानको लक्षण देखिएपछि थप अनुसन्धानका लागि बेलायतमा परिक्षण गराउँदा एचवानएनवानको पुष्टि भएको हो ।

माओवादीद्बारा आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउने पहल

संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउने पहल गर्न छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। राष्ट्रिय सरकारबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि दुई हप्ता लामो बहसपछि पोलिटब्युरो बैठकले उक्त प्रस्ताव केन्द्रीय समितिमा लैजान सहमति जनाएको थियो। अकस्मात् सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि बसेको नेकपा माओवादीको पोलिटब्युरोको बैठकको निर्णय अध्यक्ष प्रचण्डका लागि आंशिक विजय हो। संविधानसभाबाट राष्ट्रिय सरकारको संभावना कम देख्ने उनका आलोचकहरु जनविद्रोहमार्फत सरकार हात पार्ने पक्षमा थिए।

एकरुपता

तर प्रचण्ड आफ्ना आलोचकहरुमाथि हावी हुन सफल भएको संकेतका रुपमा पोलिटब्युरोको निर्णयलाई हेरिएको छ। प्रवक्ता दीनानाथ शर्माले भने, अध्यक्षको राजनीतिक प्रतिवेदनमा विभिन्न कोणबाट छलफल भएको कुरा सत्य हो। त्यसमा अध्यक्षले जवाफ दिएपछि पार्टीमा विचारको एकरुपता भयो। विचारमा एकरुपता भएको भनिएपनि राष्ट्रिय सरकारको प्रचण्डको प्रस्तावलाई तत्काल अगाडि बढाउनु भन्दा त्यसमाथि थप र वृहत् स्तरमा छलफल गर्नु जरुरी भएको पोलिटब्युरोको निष्कर्ष थियो। प्रवक्ता शर्माले भने, नागरिक सर्वोच्चता सहित राष्ट्रिय सरकारको पहल गर्ने सहमति भएको छ। तर पोलिटब्युरो भन्दा केन्द्रीय समिति माथिल्लो निकाय भएकाले त्यहाँबाट पारित गर्नु बढी बैज्ञानिक हुने ठानियो। एमालेको नेतृत्वको सरकारमै सामेल भइ यसलाई राष्ट्रिय सरकारको स्वरुप दिने वर्तमान सत्ताधारीहरुको प्रयास सफल हुन नदिने कुरामा भने माओवादी दलभित्र कसैले पनि पसीना बगाउनु पर्ने स्थिति नदेखिएको पोलिटब्युरो बैठकबाट अरु स्पष्ट भएको छ। बैठकले अहिलेको सरकारमा सामेल हुने संभावनालाई ठाडै अस्वीकार गरेको प्रवक्ता शर्माले बताए।

कठपुतली

शर्माले भने, यो कठपुतली सरकार हो, यसमा सामेल हुने संभावना शत प्रतिशतनै छैन। प्रधानसेनापति प्रकरणमा सत्ताबाट बाहिरिनुपरेकोमा अध्यक्ष प्रचण्डको नीतिको असफलता देख्ने उनका आलोचकहरु जनविद्रोहको पक्षमा पार्टी नेतृत्वलाई सहमत गराउने आशामा रहेको बताइएको थियो। यो कुरामा उनीहरु सफल भएको देखिएन तर प्रचण्डलाई पनि राष्ट्रिय सरकारको आफ्नो प्रस्ताव औपचारिक रुपमा अगाडि बढाउन केन्द्रीय समितिको बैठक कुर्नु पर्ने भएको छ। केन्द्रीय समितिको बैठकको मिति तय भइसकेको छैन, तर प्रवक्त शर्माका अनुसार बैठक एक हप्तामै डाक्ने कुरा भएको छ।

आज असारको पन्ध्र अर्थात नेपालीहरुको दहीचिउरा खाने पर्व

“असारको पन्ध्र” आज अधिराज्यभर खेतमा रोपाइँ गरी दही–चिउरा खाएर मनाइँदैछ । असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर भन्ने लोकोक्ति नेपालमा प्रख्यात छ । आज रोपाइँ गरी दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछाप गरेर रमाइलो गर्छन् । असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती  छ ।  बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि “मलाई अहिले असारको पन्ध छ” भन्ने गरिन्छ ।
 
रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ । यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ । तर यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन । “मानो रोपेर मुरी उब्जाउने” यस समयमा खेतमा पानी नभएपछि कृषकमा असार पन्ध्रको खासै उमङ्ग देखिएको छैन ।

एसएलसी परीक्षाको नतिजा सार्वजानिक, ६८.७४ प्रतिशत उर्तिण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा आज सार्वजानिक गरेको छ । एसएलसी परीक्षा २०६५ मा २ लाख ५६ हजार ७ सय ७९ विद्यार्थी उत्तीर्ण भएका छन् । यो ६८.७४ प्रतिशत हो । जसमध्ये नियमिततर्फ उत्तीर्ण हुनेमा २ लाख ५६ हजार ७ सय ७९ जना छन्। परीक्षामा ४ लाख १२ हजार ३ सय २१ जनाले फाराम भरेकामा ३ लाख ८८ हजार ५ सय २२ जना परीक्षार्थी सामेल थिए ।

परीक्षा प्रकाशन समितिको बैठकले ५ नम्बर ग्रेस दिने निर्णय गरेको थियो। जसअनुसार नियमित ६८.७४ प्रतिशत पास हुन सकेका हुन भने एक्जाम्टेडतर्फ ४७ प्रतिशत पास भएका हुन। ग्रेस नदिइएको भए नियमिततर्फ ६४ प्रतिशत मात्र पास हुन्थे। वि.सं. १९९० मा पहिलो पटक नेपालबाटै एसएलसीको परीक्षा दिने व्यवस्था सुरु भएको हो । त्यसअघि भारतबाट मात्र यो परीक्षा दिन पाइन्थ्यो । त्यसैगरी २०६३ देखि १० कक्षाको कितापबाट मात्र प्रश्न सोध्न थालिएको हो । त्यसअघि ९ र १० कक्षाको पाठ्यपुस्तकबाट प्रश्न सोधिन्थ्यो । सबैभन्दा पहिले अर्थात् पहिलो एसएलसी परीक्षामा पुष्पभक्त मल्ल बोर्डफस्ट भएका थिए । हालका माओवादी नेता बाबुराम भट्टराई २०२६ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

एसएलसीको इतिहासमै सबैभन्दा बढी प्रतिशत यसअघिको अर्थात् वि.सं. २०६४ को ब्याजमा पास भएका थिए । जसमा ६३.६३ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुन सकेका थिए । केही वर्षअघिदेखि सुरु भएको अपाङ्गका लागि अरुभन्दा डेढ घन्टा बढी समय यस पटक पनि उपलब्ध गराइएको थियो । एसएलसीकै इतिहासमा पहिलो पटक विदेशी परीक्षार्थीले पनि जाँच दिएकी थिइन । कोरियाली परीक्षार्थी रिमसोहे नेपालबाट एसएलसी दिने पहिलो विदेशी बन्न सफल भएकी थिइन ।यो परीक्षामा २५ परीक्षार्थी बराबर एक निरीक्षक व्यवस्था गरिएको थियो । त्यसैगरी सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा ४७ हजार ४ सय ९० जना थिए भने सबैभन्दा कम मनाङमा ५६ जना सामेल थिए । १ हजार ४ सय ५ परीक्षा केन्द्रमार्फत् ती परीक्षार्थीले परीक्षा दिएका थिए ।

ढुङ्गो भए पग्लन्थ्यो होला तर माओवादीको मन पग्लेन “माधव नेपाल”

प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधान निर्माण र शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन सहमति र सहकार्यमा ढिलाइ भए लोकतन्त्रको बाटो नै अवरुद्ध हुनसक्ने बताउनुभएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पटकपटक भेटेर र टेलिफोनमै पनि संसद् अवरोध खोल्न अनुनय विनय गरेको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री नेपालले भन्नुभयो, ढुङ्गो भए पनि पग्लन्थ्यो होला तर माओवादीको मन पग्लेन । यतिको सजिलो प्रधानमन्त्री पाउनुहुन्न । म त जे भने पनि सहेर बसेको छु । प्रधानमन्त्री नेपालले नेकपा -एमाले) गोठाटार गाउँ पार्टी कमिटीद्वारा गान्धी आदर्श उच्च माध्यमिक विद्यालय गोठाटारमा शनिबार आयोजित भेटघाट तथा चियापान कार्यक्रममा यस्तो विचार व्यक्त गर्नुभएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकार असफल बनेपछि राष्ट्रिय सहमतिका साथ मुलुकलाई अगाडि बढाउने जिम्मेवारी आफ्नो काँधमा आएको स्मरण गर्दै प्रधानमन्त्री नेपालले भन्नुभयो,  “अहिले पनि सहमतिमा आउनुभएन भने अब यस्तो वातावरण कहिल्यै पाउनुहुनेछैन ।

उहाँले एकीकृत नेकपा -माओवादी)लाई राष्ट्रिय सहमतिको सरकारमा आउन आग्रह गर्दै देश र जनताप्रति प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संसद्लाई बन्धक नबनाउनुस, प्रधानमन्त्री नेपालले भन्नुभयो, संविधान समयमा बनाउन चाहन्छौँ, शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन चाहन्छौँ, त्यसका लागि हातेमालो गरौँ । उहाँले नागरिक सर्वोच्चताको विषयमा बसेर छलफल गर्न सकिने बताउँदै संविधानसभा र संसद्लाई अवरुद्ध गर्ने काम नगरौँ भन्नुभयो । राष्ट्रपतिको कदमलाई असंवैधानिक किमार्थ भन्नेवाला छैनौँ, उहाँले भन्नुभयो, संविधान निर्माणमा ढिलाइ भयो भने त्यसको जिम्मेवारी माओवादीले लिनुपर्नेछ । उहाँले विकासका लागि शान्ति र राजनीतिक स्थिरता चाहिने भएकाले शान्तिसुरक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।प्रधानमन्त्री नेपालले जनताको बीचमा नेताहरूले कम्तीमा महिनाको एकपटक जानैपर्ने बताउँदै जनतानै आफ्नो शक्तिको आधार भएको धारणा व्यक्त गर्नुभयो । उहाँले केही समययता अपहरण, फिरौती असुली र हत्याका घटनाप्रति सरकारको ध्यान आकृष्ट भएको बताउँदै हत्यारा र अपराधीलाई बाँकी नराखिने स्पष्ट पार्नुभयो ।

माओवादीसँग खेल्नु आगो सँग खेल्नु सरह “प्रचण्ड”

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “विदेशी प्रभुहरूले माओवादीसँग खेल्न खोज्नु आगोसँग खेल्नुबराबर” भएको टिप्पणी गर्नुभएको छ । प्रचण्डले शनिबार माओवादीमा प्रवेश गरेका चलचित्रकर्मीलाई स्वागत गर्दै चेतावनीपूर्ण भाषामा भन्नुभयो, यो देशलाई आफ्नो इच्छाअनुसार घुमाउँछु भन्ठान्ने विदेशी प्रभुहरूले जानून्, माओवादीसँग खेल्नु आगोसँग खेल्नुबराबर हो । पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशी शक्तिका कारण आफूले राजीनामा दिएको दाबीसमेत गर्नुभयो । अध्यक्ष प्रचण्डले माओवादी छुट्टै धातुले बनेको हुनाले दुनियाँको कुनै पनि तागतसँग नझुक्ने बताउनुभयो । चलचित्र-कर्मीको अभिव्यक्तिबाट प्रभावित प्रचण्डले उनीहरूको प्रवेश नेपाललाई स्वाधीन बनाउने विषयको उद्घोष भएको बताउँदै भन्नुभयो, नेपाल अमर हुनेछ । नेपाली जनता महान् हुनेछन् । हामी कुनै पनि तागतसाग झुक्नेछैनौं, विदेशी दलाल ध्वंस हुनेछन, नेपाल मुक्त हुनेछ ।

पार्टीमा चलचित्रकर्मीको माओवादी प्रवेश स्वाभिमान र स्वतन्त्रताको पक्षमा रहेको टिप्पणी गर्दै उहांले एक हप्तापछि एमालेबाट हजारौं बुद्धिजीवी माओवादीमा प्रवेश गर्न लागेको दाबी गर्नुभयो । उहांले देशका मुठ्ठीभर सामन्तहरूले शान्ति बिथोल्न र नेपाली जनताले चाहेजस्तो संविधान निर्माण हुन नदिन चाहिरहेको बताउनुभयो । सरकारको नेतृत्वबाट राजीनामा दिएपछि एनेकपा -माओवादी)प्रति देशैभर आकर्षण बढेको उहांले दाबी गर्नुभयो । वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ले एनेकपा -माओवादी) नयाँ जनवादी क्रान्ति पूरा गर्न अन्तिम सङ्घर्षमा लागिरहेको बताउदै आफूहरू क्रान्तिलाई छिटोभन्दा छिटो अगाडि ल्याउन सफल हुने दाबी गर्नुभयो ।

नेपाली सिने उद्योगका दर्जनौं कलाकारहरु माओवादीमा प्रवेश

rajendra khadkiकाठमाडौं – नेपाली सिने उद्योगमा पनि औपचारिक रुपमा राजनीतिक रंग लागेको छ । नेपाल सिने उद्योगका दर्जनौ कलाकारहरु शनिबार एकै पटक माओवादीमा प्रवेश गरेपछि रंगीन संसार राजनीतिबाट रंगिएको हो । माओवादीमा चर्चित निर्माता निर्देशक युवराज लामासहित यसअघिनै माओवादीको ट्याग लागि सकेका निर्देशक केपी पाठकको नेतृत्वमा करिब सय जना कलाकार माओवादी प्रवेश गरेका हुन ।

mausamiमाओवादी प्रवेश गर्र्ने कलाकारहरुमा मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, केपी पाठक, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसी लगायतका कलाकारहरु रहेका छन । माओवादीमा प्रवेश गर्ने अन्य सिनेकर्मीहरुमा दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाय कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर, शम्भु सापकोटा लगायतका छन् ।

माओवादीमा प्रवेश गर्ने कलाकारहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातो टीका र अवीर माला लगाएर स्वागत गर्नु भएको थियो ।

दलित महिलालाई दिसा कोच्याउने हेडमास्टर्नी अभिनन्दित

बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् । बोक्सीको आरोपमा प्युटारकी कल्लीकुमारी विकलाई चरम यातनासहित दिसा कोच्याएर फरार भएकी विमलालाई प्रहरीले गत २७ जेठमा पक्राउ गरी चारदिनपछि धरौटीमा छोडेको थियो । विमला निर्दोष छिन् भन्दै गाउँलेले उनलाई फूलमाला लगाएर अभिनन्दन गरे, एक स्थानीयवासीले बताए ।

c26jun09_bimalaदलित महिलालाई यातना दिएको अभियोगमा मुद्दा खेपिरहेकी विमलालाई गाउँलेले उनले पढाउने गडिभञ्ज्याङ प्राथमिक विद्यालयमा स-सम्मान फर्काएका छन् । विमला भोलेन्टिएर्स शिक्षिकाका रूपमा सो विद्यालयमा पढाउँदै आएकी थिइन् । गोलेमाथिको मुद्दा फैसला नै नभइसकेको अवस्थामा उनलाई पूर्ववत अवस्थामा फर्काउन नहुने भन्दै राष्ट्रिय महिला आयोगले विरोध जनाएको छ । आयोगकी सदस्य धनकुमारी सुनारले यस विषयमा कुरा गर्न शिक्षामन्त्रीसँग समय मागिएको बताइन् । ‘उनीमाथिको मुद्दा नै फैसला हुन बाँकी छँदै जागिरमा फर्काउनुहुन्न भन्ने हाम्रो माग हो, यस विषयमा शिक्षामन्त्रीसँग कुरा गर्न समय मागेका छौं, सुनारले भनिन् । फोटोमा प्रधानाध्यापिका बिमला गोले ।

सभासद् विनोद पहाडीले विमलालाई शिक्षिकाका रूपमा पूर्ववत् अवस्थामा फर्काइएको विरोधमा जिल्ला शिक्षा कार्यालयमा डेलिगेसन जाने बताए । ललितपुर जिल्ला शिक्षा कार्यालयले भने शिक्षिका विमला स्थायी शिक्षक नभएकाले समुदायले उनलाई बहाली गरे केही गर्न नसकिने जनाएको पहाडीले बताए । विमलाले दिसा कोच्याएकी दलित महिला कल्लीकुमारी दुई महिनासम्म राजधानी बसेर जेठको अन्तिम साता गाउँ फर्किएकी थिइन् ।

पप सम्राट माइकल ज्याक्सनको निधन

विश्व प्रख्यात अमेरिकी पप गायक माइकल ज्याक्सनको बिहीबार राति लस एन्जेलेसमा हृदयघातका कारण निधन भएको छ । उनको श्वासप्रश्वास प्रक्रियामा अप्ठ्यारो महसुस भएपछि चिकित्सकहरूलाई उपचारको लागि आफ्नै निवासमा बोलाएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि ला-मेडिकल सेन्टरमा लगिएका ज्याक्सनलाई दुई घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए ।

micle jackson

संगीतका सम्राटका रुपमा चिनिएका ५० वर्षीय ज्याक्सनले आफ्नो संगीतिक यात्रा आफ्नो परिवारको “पप ग्रुप अफ द ज्याक्सन फाइफ” बाट सुरू गरेका थिए । यो शताब्दीकै सफल गायक मानिएका ज्याक्सनले विभिन्न १३ विधामा गिनिज बुकमा आफ्नो नाम दर्ज गराउन सफल भएका छन । १९८२ मा रिलिज भएको उनका संगीत एलबम थ्रिलर आजसम्मकै बढी विक्रीहुने एलबम मानिन्छ । अनेकौं स्वास्थ्य समस्याहरूबाट जुझिरहेका ज्याक्सनले जुलाई १३ तारिख लण्डनमा हुन गईरहेको आफ्नो ‘कमब्याक कन्सर्ट’को तयारी गर्दै थिए । आर्थिक समस्याबाट पनि पिरोलिरहेका ज्याक्सनका स्वास्थ्यका कारण हुने भनिएका केही कन्सर्टहरू रद्दसमेत भएका थिए । पप सम्राट ज्याक्सनको मृत्युपछि अमेरिकालगायत विश्वभरका लाखौं समर्थकहरूले उनका मृतात्मको चिर शान्तिको कामना गर्दै शोक तथा श्रद्धाञ्जलि सभा मनाइरहेका छन् ।

कुवेतमा NRNA स्थापना भै नेपालीको हत हितको लागि वकालक गर्लात ???

मध्य पश्चिम क्षेत्रको खाडी मुलुक कुवेत , पेट्रोलको खानि भयको देश भनी चिनियको यो देशमा कारीब ४० हजार नेपाली कामदारहरु कार्यरत छन । यती धेरै कामदारहरु भयको देशमा अहिले सम्म नेपाल सरकारले कुनै नियोग खोलेको छैन । ५०% भन्दा बढी घरेलु कामदारहरु रहेको ठाउमा नेपाली नियोग नहुँदा यहाँ कामगर्नी पुगेका नेपालीहरुले धेरै पिडा उठाउनु परेको छ । Continue reading

अन्मिनको म्याद थपिने, थप चार देशमा दूतावास खोल्ने निर्णय

हालसम्म माओवादी लडाकूको रेखदेख, समायोजन र व्यवस्थापनको काम नसकिएको र शान्ति प्रक्रियाले पूर्णता पाइनसकेका कारण सरकारले संयुक्त राष्ट्रसंघीय राजनीतिक मिसन (अन्मिन) को म्याद थपगरी अन्मिनलाई नेपालमै रहन दिने सैद्धान्तिक सहमति भएको मन्त्रिपरिषद् स्रोतले बतायो । परराष्ट्र मन्त्रालयका प्रवक्ता मदनकुमार भट्टर्राईले विगतमा जस्तै अब पनि ६ महिना अन्मिनको म्याद थपिने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । Continue reading

नेपालमा चट्याङबाट ११ जनाको मृत्यु, १३ घाइते

Breaking news,
 
देशका विभिन्न भागमा परेको चट्याङ लागेर मङ्गलबार ११ जनाको मृत्यु भएको छ । लामो समयको खडेरीपछि पर्न थालेको पानीसँगै लगातार चट्याङ पर्दा मोबाइल फोनका लागि घरघरमा राखिएका एन्टेनाका कारण पनि यति धेरै हताहती भएको हो । प्राप्त खबरनुसार सर्लाहीमा मङ्गलबार लगातार परेको चट्याङबाट विभिन्न स्थानका सातजनाको मृत्यु भएको छ । चट्याङ लागी मृत्यु हुनेमा औरही-७ का तीन वर्षे रोहित महतो, मधुवनी-५ की ३५ वर्षे मरनीदेवी महते, भक्तिपुर-५ का ३० वर्षे रघुवीर राउत, छटौल-९ का ६५ वर्षे भुकल राय र ३५ वर्षे बुधनीदेवी साह, मधुवन गोठ-४ का पथरु राय र उहाँकी पत्नी आनन्दीदेवी रहेको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागी मधुवन गोठका राय दम्पती गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको हो । यसैगरी रौतहट जिल्लाको सन्तपुर दोस्तिया-६ का एकै परिवारका दुईजना र गौर नगरपालिका-२ का एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोस्कीकी २३ वर्षिया कविता साह र ३ वर्षे धिरोज साह, गौर नगरपालिकाका १२ वर्षे सञ्जीव पासवान रहेका छन् । घरमा राखेको मोबाइलको एन्टिनामा चट्याङ लागेर तार सट भई साहद्वय र पासवनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

यसैगरी नवलपरासीको भारतीपुर-२ की १० वर्षिया तीलामाया रानाको चट्याङ्ग लागेर घटनास्थलमै मृत्यु हुनुका साथै सोही परिवारका पाँचजना घाइते भएका र चट्याङबाट घरसमेत जलेर पूर्ण नष्ट भएको छ । स्थानीय उपस्वास्थ्यचौकीमा उपचार गरिरहेका घाइतेहरूको अवस्था अहिले सामान्य बन्दै गइरहको उपस्वास्थ्यचौकीले जनाएको छ । यसैगरी सुनसरीको डुम्रहा गाविस- ७ मा चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा घरमाथि नै चट्याङ झर्दा विनोदकुमार गुप्ता, उनकी ८ वर्षिया छोरी, आमा, श्रीमती, दुईजना पाहुना समेत घाइते भएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेहरुको उपचार स्थानीय स्वास्थ्यकीमा भइरहेको छ । चट्याङ लागेर एक दर्जनभन्दा बढी चौपाया पनि मरेको खबर छ ।

कुवेतमा NRNA स्थापना सम्बन्धी अत्यन्तै जरुरी सूचना

मिति : २४ जून २००९

कुवेत नगरिमा पेशारत समस्त नेपाली दाजुभाई, दिदिबहिनीहरु;

NRNA – ICC तथा NRNA – NCC का प्रतिनिधिहरु यही आगामी १६ जुलाई २००९ मा कुवेत आउने र १७ जुलाई २००९ मा कुवेतमा NRNA – NCC (गैर-आवासीय नेपाली संघ) स्थापनाको निम्ती छलफल गरी पदाधिकारीहरु चयन समेत गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण ईच्छुक कुवेतवासी नेपालीहरुलाई १७ जुलाई २००९, शुक्रवारको बिहान १० बजे कुवेतको मालिया पार्कमा भेला भई दिनु हुन यस माउण्ट एभरेष्ट क्लव हार्दिक अनुरोध गर्दछ । Continue reading

नेपालमा कर्मचारीको तलब वृद्धि हुने सम्भावना

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले आर्थिक वर्ष २०६६/०६७ मा कर्मचारीको तलबमान एकमुष्ट रुपमा पाँच हजार रुपियाँ वृद्धि गर्न सरकारसँग माग गरेको छ ।कर्मचारी मिलन केन्द्रले मङ्गलबार अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भेट गरी एकमुष्ट तलब वृद्धिको माग गरेको हो । केन्द्रले १९ बुँदे मागसहित अर्थमन्त्रीसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ । सो क्रममा अर्थमन्त्री सुरेन्द्र पाण्डेले देश सङ्क्रमणकालीन अवस्थामा गुज्रिएको हुनाले यस वर्ष एकमुस्ट पाँच हजार रुपियाँ तलब वृद्धि गर्न नसकिने बताउनुभयो । तपाईंहरूको मागबारे म सकारात्मक छु तर सबै क्षेत्रलाई समेट्नुपर्ने हुँदा पाँच हजार वृद्धि नहुन सक्छ अर्थमन्त्रीलाई उद्धृत गर्दै कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले भन्नुभयो- विगतको वर्षमा भन्दा केही तलब वृद्धि हुन्छ । महँगी बढ्दा साना तहका कर्मचारीलाई थोरै र ठूला कमचारीलाई धेरै बढ्दैन । त्यसैले गणतन्त्रको अनुभूति दिलाउन समानरुपमा तलब वृद्धि गर्नुपर्छ अध्यक्ष भण्डारीको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले तलब वृद्धिसँगै एक दिनको तलब बराबर एक ग्रेड दिनुपर्ने, अस्थायी, करारसेवा, ज्यालादारी कर्मचारीलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने, भत्तामा वृद्धि गर्नुपर्नेलगायतका माग पनि सरकारसमक्ष राखेको छ । आफ्ना १९ बुँदे माग पूरा नभए चरणवद्ध रूपमा आन्दोलन गर्ने केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । यसैबीच मङ्गलबार नै कर्मचारी मिलन केन्द्रले सामान्य प्रशासनमन्त्री रविन्द्र श्रेष्ठलाई पनि १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने, ठूला र साना तहका कर्मचारीबीच विभेद गर्न नहुने लगायतको माग उल्लेख गरेको छ । मन्त्री श्रेष्ठले एक साताभित्र छलफल गरी कर्मचारीका मागबारे निष्कर्षमा पुग्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

दक्षिण एसियाका देशहरूमा मनसुन वर्षा कम, नेपाल कृषिप्रधान देश भएकोले बढी चिन्तित

दक्षिण एसियाका प्राय: देशहरूमा यस पटक मनसुन वर्षा अहिलेसम्म निकै कम भएकोले सो क्षेत्रका मानिसहरू चिन्तित बनेका छन् । यसैपनि अन्य स्रोतबाट कम उपलब्ध हुँदै गएको पानी अब मनसुनबाट पनि थौरै प्राप्त भए जनजीविका नै नराम्रोसित प्रभावित हुने देखिएको छ । हरेक वर्ष यस क्षेत्रले पाउने आकासे पानीको पचहत्तर प्रतिशत मनसुनबाट प्राप्त हुने गर्दछ । तर मनसुन वर्षा शुरू भएको झण्डै दुई हप्ता बितिसक्दा पनि भारतका कतिपय राज्यहरुमा लगभग ५० प्रतिशत कम पानी परेको विज्ञहरुले बताएका छन् । भारतको मौसम विभागका प्रमुख बिपि यादवले भने, मनसुनी गतिविधिहरूको समीक्षा गर्दा यो जून महिनाभरी नै वर्षा निकै कम हुने हामीले देखेका छौ । आगामी महिना कस्तो हुन्छ त्यो थाहा पाउन अझै केही दिन कुर्नुपर्ने हुन्छ । बाङ्लादेशमा पनि यस पटक निकै कम वर्षा भएको अधिकारीहरूले जनाएका छन् । त्यहाँका मौसम विभागका एकजना मौसमविद शादेक आलमले भने, गएको एक हप्तामा बाङ्लादेशमा ८० प्रतिशत कम पानी परेको छ, यो निकै ठूलो प्रभाव पार्ने विषय हो ।

कमजोर मनसुन,
main2009-6-23eve_nepयस पटक हिन्द महासागरमा पूर्वतर्फबाट नभई पश्चिमतर्फबाट वायु बगेकोले मनसुन कमजोर बनेको विज्ञहरूको भनाइ छ । त्यसैकारणले मनसुनी बादल उत्तरतर्फ बढन नसकेपछि नेपालका धेरै स्थानहरुमा आकासे पानीमा निर्भर धानखेतीको रोपाईं नराम्ररी प्रभावित भएको छ । अघिल्ला वर्षहरुमा यतिबेलासम्म भइसक्ने रोपाईं यो वर्ष शुरुहुन नसकेपछि धेरै किसानहरु यसपाली धानबाली बिग्रने हो कि भन्ने चिन्तामा परेका छन् । यसपाली नेपालमा मनसुन दुई साताले ढिलो भइसकेको छ । सरकारी मौसमविद्हरु छिट्टै नेपालमा मनसुनी वर्षा हुने भविष्यवाणी गरिरहेका छन् । नेपालका बिभिन्न ठाउँमा खेतहरु फाटेका छन, मनसुन वर्षा कम भएकोले गर्मी बढेर नेपालका कयौंठाउँमा मान्छेहरु बिरामी परेका छन ।

खडेरी,
असारको दोस्रो साता लागिसक्दा पनि झमझम पानी पर्न नसकेका कारण नेपालका अधिकांश भूभागमा खडेरी परेको छ । समाचारहरुमा जनाइए अनुसार खडेरीका कारण पहाडी क्षेत्रमा मकै र मध्य पहाड र तराईमा धान बाली नराम्ररी प्रभावित भएको छ । मनसुनी पानी आउन दुई साताले ढिलो भएपछि काठमाण्डू शहर नजिकै मनोहरा फाँट, पाल्पाको फाँट खडेरीग्रस्त भएको छ । धान रोपाईं गर्नका लागि किसानहरु टन्टलापुर घाममा खेत र गराहरु सम्याइरहेका देखिन्थे । तर खडेरीका कारण धानको बिउ डढ्न थालेको छ ।

चिन्तित किसान,
कतिपय किसानहरु जमिनमुनीबाट पानी तानेरै भएपनि सिंचाइ गरिरहेका छन् । तर किसानहरु भन्छन्, अब त खोला र जमिन मुनीका स्रोतहरु पनि सुक्न थालिसकेका छन् । मनोहरा फाँटस्थित कृषकहरु यसपाली समयमैं पानी नपरेकाले धान बाली राम्रो नहुने डरले चिन्तित छन् । अब भगवानले दिए भने खाउँला । जति छिटो पानी पर्‍यो त्यति राम्रो, एकजना किसानले भने । मनोहरा क्षेत्रमै वर्षा राम्रो नभएका कारण मकै र गोलभेंडालगायतका तरकारी बाली पनि प्रभावित भएको किसानहरु बताउँछन् । हालैका कतिपय अन्तर्राष्ट्रिय अध्ययनहरूले विश्वव्यापी जलवायु परिवर्तनका कारण दक्षिण एसियामा मनसुनी वर्षा प्रभावित हुने जनाएका छन् । ती अध्ययनहरुले त्यस्तो देखाउनु र मनसुन वर्षा यसरी कमजोर देखिनुले विज्ञ तथा सर्वसाधारण चिन्तित बन्दै गएका छन् ।