संझना, फ्रान्स / Source: nepalplus
छन गेडी सबै मेरा, छैनन् गेडी सबै टेढा । यो उखान उनमा ठ्याक्कै लाग्छ । हिजो उनी ठिम्ठिमाउँदै हिँड्थे । नेपाली साथीहरुपनि सँगै थिए । उनी हरेक जसो नेपाली कार्यक्रममा टुप्लुक्क पुग्थे । जे सकेको सहयोग गर्थे । त्यतिबेला पेरिसका सारा नेपालीसित उनको उठबस थियो । उनले कति सामान त यहिँका नेपाली एसोसिएसनलाई दिए । अहिले उनलाई उमेरले खर्मर्žयाउँदै लतारेर ९० मा पुर्žयायो । आँखा बसे । गोडा काँप्न थाले । उनी बसिरहेको पेरिसको एक ब्रिद्दाश्रमको एक तल्लाबट तल नियाल्दै बस्न बाध्य छन् । उनी ३५, ४० को उमेरमा नेपालका अग्ला हिमाल नापेको स्मरण गर्दै बसेका छन । रातदिन नेपालका हिमाल गोडामा सुम्सुम्यान आउँछन् । सेता हिमाल टलक्क टल्किएको आँखै अगाडि उभिएझैं लाग्ने रहेछ तर अगाडिकै चस्मा छामछुम गर्नुपर्दा उनी उराठिन्छन् । उच्च हिमाली भागमा खच्चरले टार्लाङ र टुर्लुङ बजाउँदै दगुरेको उनको कानमा गुञ्जन्छ । तर यतिखेर एउटा बन्द कोठामा आफ्नै आवाजमा सिमित हुनु परेको सम्झँदा उनी झ्ल्याँस्स हुन्छन् । कोठामा फोन त छ तर खासै घण्टी बज्दैन । पहिले वरिपरि उनी मित्रहरुले घेरिन्थे । अहिले उनका वरिपरि तिनै केहि थान किताब र कापी छन् । साथी तिनै कपी र किताब । छोराछोरी भनेपनि तिनै । सुन्ने, बोल्ने, हेर्ने, जिस्किने, दुख पोख्ने, सम्झने सबै तिनै छरपस्ट भूइमा लडेका निर्जिव वस्तु हुन् ।

शरिरमा फूर्ती, मनमा उत्साह अनि क्षितिज नाघ्ने सबल आँखा रहुन्जेल हिमाल उनको आकर्षण थियो । हिमाली जनतालाई उनले ह्रिदयभरि लुकाएका थिए । हिमालको सिरेटो र चिसो पानी उनको शरिरमा भिजेको थियो । नेपालीको मित्रता, स्वागत र मुस्कानलाई मनभरि साँचेका थिए । त्यहि भएर उनले हिमाल र हिमाली जनता भनेपछि भुतुक्क हुने फ्रान्सेलीहरु खोजि खोजि समूह बनाउँदै नेपाल लैजाने गरे । रहँदा बस्दा उनी नेपालको माया र प्रेममा डुब्नुसम्म डुबेछन्। त्यसैलाई फैलाउन उनले नेपाल फ्रान्स कल्चरल एसोसिएसन खोले । थुप्रै नेपालीलाई फ्रान्समा घुमाएर पठाए । उनैले फ्रान्स ल्याएर यहाँ स्थापित गराएका करिब सात जना नेपालीको नाम त करिब १० महिना अघि म उनको आश्रममा पुग्दा फटाफट सुनाउँदै थिए । कसैलाई बेलायत त कोहि उनको सहयोगमा अष्ट्रेलिया पुगेछन् ।
तर अहिले उनी तिनै नेपाली मित्रहरुसितका हरेक क्षण र पलहरुको घुट्को सुर्क्याउँदै एक्लै बसेका छन् । कोहि आएर एकाध घण्टा बसिबियाँलो गरिदिए ! सोच्दै बस्छन् । हट्टाकट्टा हुँदा ‘ज्याक मार्बो‘ भन्दै हप्तैपिच्छे फोन गर्ने नेपाली मित्रहरुले अहिले एक पटक पनि नसम्झेको देखेर उनी मन कुँड्याउँदै थिए । ‘नेपालका साथीहरु त लौ टाढा भए रे, यहाँकाले त कहिलेकाहिँ सम्झिए हुने थिएन र ?’ सुनाउँदै थिए । ‘ज्याक, मैले एउटा पुस्तक लेख्न लागेको छु । तपाईलाई पनि मैले छनोट गरेको छु त्यो पुस्तककालागि‘ भनें । ओहो उनी औधी खुशि भए । केहि समय पछि उनले सम्झेर केहि फोटापनि पठाए मेरो ठेगानामा ।
उनले ठेगाना बदलेका रहेछन् तर फोन भने उहि थियो । मैले फोन गर्दा औधि खुशि भएका रहेछन् । उनी बस्ने ब्रिद्दाश्रममा रिसेप्सनकि किशोरीलाई सुनाएका रहेछन् । ‘हेर है! मेरो एक जना नेपाली साथी भेट्न आउँछ राम्रो सित देखाइदिनु है ? ‘ खुशिले अर्थ्याएका रहेछन् । भेट्नासाथ च्याप्प हात समात्दै कोठमा लगे । गहिरोसित मेरो अनुहार नियाले तर चिन्न सकेनन् । उनले मलाई पेरिसका बिभिन्न नेपाली जमघटमा कम्तिमा आधा दर्जन पल्ट देखेका थिए । मैले उनलाई चिन्दा पनि उनको उमेर त पाकै थियो । तर पनि उनी बडो फूर्तिकासाथ हिँड्थे । नेपाली कार्यक्रममा केहि न केहि चाखलाग्दो प्रसंग सुनाएर हसाउँथे । हौस्याउँथे । तर यो पटक उनलाई देख्दा म आफैंलाई निकै नरमाइलो लाग्यो । आँखाले देख्न छोडेका । कपाल जिंरिंग छोडेका । कोठामा यतै किताब मिल्किएको । उता लुगा छरपस्ट । बोली कमजोर भैसकेको । स्मरण शक्ति निकै गुमाईसकेका रहेछन् । तर नेपालको प्रसंगले जहाँ उनलाई उमंग दिन्थ्यो त्यो बेला कुर्सीबाट सकि नसकि उठेर सुनाउँन खोज्थे ।
जिवनका थुप्रै क्षण र आर्थिक समेत नेपालीको लागि खर्चिएका हुनले आफ्नो शेष पछाडी आधा भन्दा बढि सम्पत्ती त एक जना नेपाली किशोरका नाममा लेखिदिएका रहेछन् । आफुले चार पाँच वर्षको उमेरदेखि चिनेका ति फुच्चेको फोटो कोठाभरि सजाएका रहेछन् । भन्दै थिए-यो केटो मलाई पापा (बाबा) भन्छ । मैले मेरो आधा सम्पत्ती यसैको नाममा लेखिदिएँ ।‘ जिवनभरि नेपाली साथीहरुलाई सहयोग गरिदिएकाले आफ्ना छोरा छोरीहरु बिदेशीलाई सहयोग गरेको भन्दै टाढा भएकोमा दुख पोख्दै थिए । आफ्नो सम्पत्ती नेपालीहरुलाई बाँडेको भनेर उनका दुई छोरा र एक छोरी झन टाढिएका रहेछन् । कान्छो छोरोबाट नाती जन्मिएको आठ वर्ष भैसक्दापनि देख्न नपाएकोमा भक्कानिँदै थिए उनी । पेरिसमा भएका नेपाली मित्रहरुले नसम्झेकोमा अति गुनासो थियो । ‘मेरा छोरा छोरी त नेपालीलाई सहयोग गर्žयो भनेर ईर्ष्याले मलाई भेट्नै आउँदैनन् । तपाई नेपालीहरुनै हो मेरो सबै आफन्त । मेरो परिवार । मलाई सम्झिने । म कहिँ जान सक्दिन । मिलेसम्म तपाईहरु आउने हो‘ आशा गर्दै थिए उनी । सन् १९७५ देखि नेपाल जान थालेका उनी कति पटक नेपाल गए भन्ने हेक्का पनि रहेन । ‘कति गएँ गएँ, फुर्सद हुँदा नेपाल गएँ । कहिले वर्षमा तिन चार पटक पनि गएँ‘ यसो भन्दा चाहि उनी जरक्क उठेर रौसिए । फ्रान्सका पाँच वटा शहरमा शाखा फैलिएको उनको एशोसियसनले नेपाली संस्क्रिति, हिमाल र नेपालको प्राक्रितिक सौन्दर्यको भरचुर प्रचार गर्दै युवाहरुलाई लोभ्याओ नेपाल जान । आभिन्यो भन्ने ठाउँबाट उनले त्यो बेला निकालेको पत्रिकाले अझै निरन्तरता पाइरहेको रहेछ ।
उनलाई ठ्याककै वर्ष त याद रहेनछ । तर एक पटक स्वर्गिय दिपेन्द्र फ्रान्स आएका बेला उनलाई भेट्न बोलाएछन् । पेरिसमा भेटघाट राखेका दिपेन्द्रले उनीसित फ्रान्सेली बैज्ञानिक क्षेत्रका बिबिध विषयमा निकै चासो राखेका रहेछन् । यि ज्याक मार्बो फ्रान्सका नाम चलेका आणविक क्षेत्रका बैज्ञानिक मध्ये एक हुन । ज्याकले पिएचडी गरेका छन् बिज्ञान विषयमा भन्ने सबै नालीबेली थाह रहेछ दिपेन्द्रलाई । ‘तगडा रहेछन् दिपेन्द्र । म को हुँ, के गर्छु भनेर सबै कुरो कसरि थाह पाएका ?’ अचम्म मान्दै थिए दिपेन्द्रको खुबी सम्झेर ।
ज्याकले फ्रान्सका सबैजसो आणविक गतिबिधीमा भाग लिएको समेत जानकारि राखेका दिपेन्द्रले ‘हामीले नेपालका आणविक गतिबिधी गर्न के गर्नु पर्ला ?’ भनेर सोधेका रहेछन् । ‘मैले पहिले त रेडियम हुनुपर्छ भने‘ उनले सम्झिए‘त्यहि बेला उनले मलाई यो बुद्दको सुन्दर मुर्ती उपहार दिए । कस्ता दयालु है ?’ टेबलको कतै कुनाबाट मूर्ती झिकेर झुम्रोले धुलो टक्टकाउँदै देखाए उनले । ‘यो बुद्द मूर्तीमा त तिम्रा राजकुमारका हातले स्पर्श गरेका छन् नी‘ यति खेर भने फिस्स हाँसे उनी । उनले सुनेका कतिपय प्रसंगको त मैले मेसो पाउनै सकिन । मैले फूर्तीका साथ यता र उति मान्छे हसाउँदै, हौस्याउँदै आफ्नै अगाडिबाट हिँड्ने गरेका उनको अवस्था वरिपरि जंगलले घेरिएको एकलासे भवनको एउटा कोठमा सिमित थियो । उनी पुरै निरास थिए । ‘म त ९० को भएँ, अब दिन गनेर बसेको छु‘ च्वास्स छोयो आफैंलाई । लाग्यो, हाम्रो पनि त जिवनको गोरेटो हेर्दा हेर्दै, देख्दा देख्दै र भोग्दाभोग्दै आइपुग्ने त्यहि हो । उफ !!!!!