महिलामा मूत्र निष्काशन नली ज्यादै छोटो हुने भएकोले कीटाणुलाई मूत्र थैलीभित्र पुग्न सजिलो हुन्छ । मूत्र निष्काशन नलीको ढोकैमा योनिद्धार हुने र त्यहाँ रोग उत्पन्न गर्नसक्ने कीटाणुको बस्ती नै भएकोले मूत्रथैलीमा यस्ता कीटाणुको पहुँच सजिलो हुन्छ । अर्को महत्त्वपूर्ण तथ्य योनिद्धार प्रायः रसिलो भइरहने हुँदा कीटाणुहरू त्यहाँ सहजै बस्ती बसाल्छन् । मलद्धारबाट योनिको दूरी पनि थोरै हुने भएकाले दिसा त्याग गरेपछि सफा गर्ने सिलसिलामा यदि योनितिर पर्नेगरी पुछे वा धोएमा कीटाणुहरू ठूलो संख्यामा योनि र मूत्र निष्काशन नलीतिर छरिन सक्छन् । यौनक्रीडाको समयमा कीटाणुहरूको प्रवेश मूत्रथैलीतिर सहजै हुनसक्छ । खास गरेर परिवार नियोजनका साधनहरूको प्रयोग, प्रतिजीवाणुको अनियन्त्रित प्रयोग, जनाना अङ्गमा भएको शल्यक्रिया वा उमेरबाट उत्पन्न हर्मोनहरूको कमी, योनिमा रसायन पदार्थको प्रयोग गरेर सफा गर्नु जस्ता विभिन्न कार्यले योनिमा हुने सूक्ष्म वातावरणलाई खल्बलाएर रोग उत्पन्न गर्ने कीटाणुहरूलाई मौलाउने नयाँ वातावरण तयार पार्छ ।
संक्रमणको निदान
पिसाब संक्रमणको निदान सर्वप्रथम कीटाणुहरू मुख्यतया कुन ठाउँमा केन्दि्रत भएर रोगका लक्षण प्रस्तुत भएका छन्, त्यसमा भर पर्छ । मूत्रथैलीमा संक्रमण केन्दि्रत भएको खण्डमा धेरैपल्ट थोरै-थोरै गरी पिसाब भइराख्ने, पिसाब फेर्न बारम्बार मनलाग्ने र पिसाब निष्काशन भएपछि सन्तुष्टि अनुभूति नहुने, तल्लो पेट दुख्ने, असजिलो हुने, पिसाब पोल्ने, मूत्र निष्काशन नलीमा जलन हुने, जतिपल्ट पिसाब भए पनि फेरि उत्तिकै आतुरीले पिसाब फेर्ने आवश्यकता बोध हुने जस्ता लक्षणको प्रस्तुति हुने गर्छ । पिसाबमा रगत देखापर्ने वा धमिलो पिसाब पनि हुनसक्छ ।
मृगौलामा संक्रमण केन्दि्रत भएमा जाडो भएर ज्वरो आउने, कम्पन हुने, साह्रै कमजोरी महसुस हुने, कम्मर र कोखामा दुख्ने, पिसाब पोल्ने, छिटोछिटो पिसाब गरिराख्नुपर्ने, पिसाब थाम्नै नसकिने जस्ता लक्षण पनि एकैपल्ट मौजुद रहन्छन् ।
उल्लिखित लक्षणबाहेक पिसाब संक्रमणको निदान गर्न पिसाबको साधारण जाँच गरेर कीटाणु छन् या छैनन् भनेर हेर्नुपर्छ । कति र कस्ता कीटाणु ? कुन औषधीले तिनलाई निर्मूल गर्न सकिन्छ ? कुन प्रतिजीवाणुमा ती कीटाणु बानी परेर अभ्यस्त भइसकेका छन् ? त्यो पनि थाहा पाउनुपर्ने हुन्छ । रगतको विभिन्न परीक्षण, अल्ट्रासोनोग्राफी, एक्सरे, सिस्टोस्कोपी र अरू जाँच पनि रोग निदाननिम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । खास गरेर पिसाब संक्रमण महिलामा बारम्बार देखापरे विभिन्न जाँच र परीक्षण गरेरमात्र रोगको निदान र ठीक उपचार सम्भव हुन्छ । यस्तो अवस्थामा यौन सहभागीको वीर्य र पिसाबको जाँच पनि अनिवार्य रूपमा गर्नुपर्छ ।
बारम्बार पिसाब संक्रमण हुने गरेमा किन यस्तो संक्रमण दोहोरिने गर्छ, महिला स्वयम्ले त्यसको राम्रो ख्याल गर्नुपर्छ । यस्ता महिलाहरूमा सिस्टोस्कोपी, सीटी युरोग्राफी, युरोफ््लोमेट्री, युरोडाइनामिक्सजस्ता जटिल जाँच गरेर संक्रमणको कारण थाहा पाउन सकिन्छ । मधुमेह पिसाबको पत्थरी, मूत्र प्रणालीमा कुनै अवरोध छ-छैन, त्यसको ठोस जाँच, पिसाब थैली तल झरेको अवस्था, मूत्र निष्काशन नली साँघुरिएको वा दोबि्रएको अवस्था इत्यादिको प्रमाण पाउनेगरी सबै परीक्षण हुनुपर्छ । कम्मरबाट पिसाबको थैली र मूत्र निष्काशन नलीतिर जाने सबै नसाहरू राम्रो अवस्थामा छन् या छैनन् भनेर पनि पूरा जाँच हुनुपर्छ । यसको निम्ति विभिन्न विशेषज्ञहरूलाई सम्मिलित गर्नुपर्ने हुनसक्छ । दिसामा कुनै समस्या छ र खासगरी कब्जियत हुने गरेमा त्यसको पनि समाधान नगरी पिसाब संक्रमणको समस्याबाट मुक्त हुन सकिन्न ।
कुन पक्षलाई प्राथमिकता
कीटाणु निराकरण उपचारको प्रमुख लक्ष्य हुनुपर्छ । यसको निम्ति प्रतिजीवाणु औषधीहरूको प्रयोगले ठूलो भूमिका खेल्छ । तर प्रतिजीवाणुहरूको प्रयोग गर्दा योनिको सूक्ष्म वातावरण पनि खल्बलिन सक्ने र त्यसले गर्दा नै फेरि अरू कीटाणुहरूलाई योनि, मूत्र निष्काशन नली र त्यसको द्धारमा नयाँ बस्ती बसाल्न सहयोग पुग्ने भएकोले प्रतिजीवाणुको उपयोग गर्दा चौतर्फी ध्यान पुर्याउनु अति आवश्यक हुन्छ । प्रतिजीवाणु छान्दा पिसाबको जाँच गरेर उम्रेका कीटाणुलाई मार्ने तर योनिमा सामान्य अवस्थामा हुने गुणकारी कीटाणुको वृद्धिमा खासै असर नपार्ने गरिकन छनोट गर्नुपर्ने हुन्छ ।
उपचारको सिलसिलामा महिलाको पिसाब संक्रमणको केन्द्रविन्दु मृगौलामा छ वा पिसाबको थैलीमा छ, त्यो वास्तविकतालाई ध्यानमा राखेर मात्र प्रतिजीवाणु रोज्ने गर्नुपर्छ । मृगौलामा कीटाणुहरू बस्ती बसालेर बसेको पिसाब संक्रमणको गम्भीरता मूत्रथैलीमा सीमित रहेको संक्रमणभन्दा ज्यादै बढी हुन्छ । त्यसैले यद्यपि दुवै अवस्थामा पिसाबको जाँच गर्दा पिप र कीटाणुहरू उस्तै देखापर्छन् । तर प्रतिजीवाणुको प्रयोग, उपचार गर्नुपर्ने समय र परीक्षण गर्नुपर्ने विधिहरूमा ठूलो अन्तर रहन्छ ।
पिसाब संक्रमणको उपचार गर्दा महिलाहरूमा यो रोग जटिल अवस्थामा छ वा छैन, त्यसको ठोस निदान गरेरमात्र औषधीको प्रयोग हुनुपर्छ । जटिल पिसाब संक्रमण गर्भवती महिलामा, मधुमेहबाट ग्रसितमा वा पक्षाघात भएका -ढाड वा मस्तिष्कमा असर परेर) बिरामीमा देखापर्छ । त्यस्तै जटिल पिसाब संक्रमण मूत्र प्रणालीमा पत्थरी वा अरू कुनै पनि खराबीबाट पिसाबको प्रवाहनमा अवरोध भएको अवस्थामा हुने गर्छ । सामान्य अवस्थामा प्रत्येक बिरामीले जटिल पिसाब संक्रमण छ भन्ने आफंै जान्नका निम्ति निम्न कुरामा ध्यान दिनुपर्छ- पिसाब पोल्ने, कोखा दुख्ने बाहेक यस्ता बिरामी ज्यादै कमजोर अनुभव गर्ने, जाडो भएर ज्वरो आएको महसुस गर्ने, वान्ता गर्ने र प्रतिजीवाणुको प्रयोग गर्दा धेरै घन्टासम्म पनि लक्षणमा सुधार अनुभव नगर्ने हुन्छन् । पिसाब संक्रमण भएका महिलाले माथि उल्लिखित अवस्था आफूमा पाए त्यसको उपचारको निम्ति अस्पतालमा भर्ना भएर नसाभित्र प्रयोग गरिने औषधी-उपचारको विधि अपनाउनु अति आवश्यक हुन्छ ।
उपचारको सिलसिलामा सधैं खालि प्रतिजीवाणु औषधीमा सीमित भएर बस्न मिल्दैन । खास गरेर यौन अभ्यासपछि पिसाब संक्रमण अनुभव गर्नेहरूले अस्थायी परिवार नियोजनका साधानको प्रयोग गर्दा ध्यान पुर्याउनुपर्छ । योनिमा प्रयोग हुने शुक्राणुनाशक जेलले योनिको सूक्ष्म वातावरणलाई ठूलो खलबल पारेर मलद्धारमा हुने रोग उत्पन्न गर्नसक्ने ई कोली भन्ने कीटाणुलाई वासस्थान प्रदान गर्छ । त्यसैले पिसाब संक्रमण हुने महिलाहरूले यस्ता साधनको अभ्यास रोक्नैपर्छ । भित्री जनाना अङ््गहरूमा शल्यक्रिया भएपछि वा उमेरको कारणले नारी हर्मोनको कमी भएर योनि सुख्खा भए यौनक्रीडाको समयमा मूत्रनलीको ढोका र योनिमा घाउ हुने भएकाले त्यहाँ रोग उत्पादन गर्ने क्षमता भएका कीटाणुहरू बस्ती बसाल्छन् र बिस्तारै ती मूत्रनलीतिर प्रवेश गर्छन् । यसरी मोटो आन्द्रा, योनि र मूत्रथैली संक्रमणको भण्डारमा परिणत भएर बारम्बार पिसाब संक्रमणले सताउने गर्छ । यौनक्रीडाको समयमा र त्यसको लगत्तैपछि पिसाबको थैली, मूत्र निष्काशन नली र योनिमा रोग उत्पादन गर्नसक्ने कीटाणुहरूको संख्या सक्दो कम होस् भन्न यौन अभ्यास अगाडि र पछि मूत्रथैली सफा गर्ने बानी बसाल्नुपर्छ ।
महिला पिसाब संक्रमणको उपचार एउटा चुनौतीपूर्ण विषय हो । यो चुनौती उपचारमा संलग्न चिकित्सकहरू, स्वयम् पीडित महिला, उनका यौन सहभागी र समाजका अरू थुप्रै व्यक्तिको परामर्श र सहयोगबाट मात्र राम्रो परिणाममा टुङ्गिन सक्छ । खालि औषधी-उपचार -खासगरेर प्रतिजीवाणुको प्रयोग) मा मात्र जोड दिएर राम्रो उपलब्धि पाउने चेष्टा गरे त्यसको परिणाम ज्यादै निराशाजनक हुने पक्का हुन्छ । त्यसैले उपचारमा कुन पक्षलाई प्राथमिकता दिने भन्ने महिलाको शरीरको अवस्थामा भर पर्छ । प्रतिजीवाणु उपचारको ठूलो महत्त्व हुँदाहुँदै पनि पूरै त्यसैमा मात्र भरपर्ने खालको प्रवृत्ति बिरामी र चिकित्सक कसैको पनि हुनुहुँदैन । यो रोगलाई निको नहुने भनेर नकारात्मक भावना सञ्चय गरेर उपचार गर्नुको साटो बारम्बार देखिने पिसाब संक्रमणमा घट्दै गरेको पटक र कम हुँदै गरेको त्यसको जटिलतामा चिकित्सक, बिरामी र संलग्न सबैले खुसी हुन अभ्यास गर्दै अरू सफलता पाउन कठोर प्रयत्न गर्नुपर्छ ।