नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ । मूल्यवृद्धि १४.१ प्रतिशत बढेर महँगोमा खाद्य खरिद गर्न बाध्य सर्वसाधारणले २५ प्रतिशत कम मूल्यमा अबदेखि खाद्यान्न आपूर्ति गर्न पाउने भएका छन् । यद्यपि वनस्पति घ्यूतेलमा ५० प्रतिशतसम्म मूल्य गिरावट भइसकेको उद्योगीहरू बताउँछन् ।
| तेल र वनस्पति घ्यूमा ५० प्रतिशत कमी |
भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा आएको गिरावटका कारण नेपालमा पनि त्यसको मूल्य सस्तो पर्ने भएको हो । खाद्यान्नमा प्रयोग गरिने विभिन्न कच्चा पदार्थको मूल्यमा अहिले उच्च गिरावट आएको छ । तर, खाद्य पदार्थको खुद्रा मूल्यमा कुनै फरक नआएको ताहाचलमा किराना पसल गर्ने सीता महर्जनले बताइन् ।
सर्वसाधारणले सुपथ मूल्यमा खाद्यान्न खरिद गर्न पाउने भए पनि खाद्य उद्योगीले भने नोक्सानी वेहोर्नुपर्ने अवस्था आएको छ । तेल, घ्यू, मैदा, आटालगायत खाद्य सामग्री तथा तयारी खाद्यान्न बनाउन प्रयोग गरिने वस्तुको मूल्य तीन महिना अन्तरालमा ४० देखि ५० प्रतिशतसम्म गिरावट आएको छ । यसले सर्वसाधारणको खरिद व्ययभार कम गर्नेछ भने उच्च मूल्य हुँदा मौज्दात राखेका व्यवसायीलाई भने अहिलेको बजारभाउअनुसार नै उत्पादन बिक्री गर्नुपर्ने भएकाले करोडौं रुपैयाँ नोक्सान हुने कृष्ण घ्यू उद्योगका मनीषकुमार अग्रवालले बताए । नेपालमा हाल करिब पाँच सय खाद्य सञ्चालनमा उद्योग छन् ।
नेपाली बजारमा मात्र खाद्य उत्पादन बिक्री गर्दा खास नोक्सान नभए पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने सामग्रीमा उच्च नोक्सान हुने अग्रवालको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय बजारमा गहुँको पीठो प्रतिटन पाँच सय ३३ अमेरिकी डलर छ । तीन महिनाअघि त्यसको मूल्य सात सय ७५ थियो ।
यसैगरी मकैको तीन सय ५२, भटमासको आठ सय ८१, भटमास तेलको ३२, भटमासको खाना दुई सय ५६ र चामलको १३ अमेरिकी डलर बजार मूल्य छ ।
नेपाली उद्योगले सबैभन्दा बढी प्रयोग गर्ने अन्तर्राष्ट्रिय खाद्य कच्चा पदार्थ पाम आयलको मूल्य ११ सयबाट झरेर चार सय ३० डलरमा झरेको छ । तीन महिना अन्तरमै यति ठूलो रुपमा मूल्यमा गिरावट हुँदा खाद्य उद्योग संकटमा परेको अग्रवालले बताए । ‘तीन महिनाको अन्तरमा यति ठूलो रुपमा मूल्य गिरावट हुन्छ,’ उनले भने, ‘महँगोमा कच्चा पदार्थ खरिद गरेर मौज्दात राखेका उद्योग झनै संकटमा पर्ने भए ।’
यस्तै, अन्तर्राष्ट्रिय बजारमा बटर एक सय ४९, पाउडर दूध १५ र मासु ८५ अमेरिकी डलरमा उपलब्ध हुन थालेको छ । यसैगरी चिनी तथा कफी मूल्य घटेर क्रमशः १९ र एक सय १२ -प्रतिकेजी) अमेरिकी डलर छ । तीन महिनाअघि ती खाद्य सामग्री मूल्य ४० प्रतिशतसम्म महँगो थियो ।
सबैभन्दा बढी मार घ्यू तथा तेल उद्योगलाई परेको छ । घ्यूमा प्रयोग हुने पाम आयल मूल्यमा आएको उच्च गिरावटका कारण ती उद्योग धराशयी बन्दै गएको हुन् । ‘घ्यू उद्योग त पहिलेदेखि नै रुग्ण हुन्’, अग्रवालले भने, ‘त्यसमाथि कच्चा पदार्थ मूल्यमा आएको गिरावटले बन्द अवस्थामा पुर्याएको छ ।’
अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले पनि खाद्यान्न उद्योगलाई संकटमा पार्ने काम गरेको अग्रवालले बताए । उनका अनुसार, गहँु, मकै, उखु तथा तेल उत्पादन हुने अन्य अन्न इथानोल बनाउन प्रयोग गरिंदा एकाएक बढेको खाद्यान्न मूल्य पेट्रोलियम पदार्थ इथानोलभन्दा सस्तो बन्दै गए पनि खाद्यान्न मूल्य घटेको हो ।
घ्यू निर्यात अझै भएन
भारतले वनस्पति घ्यू आयातमा नेपाललाई लगाउँदै आएको केनलाइजिङ एजेन्ट व्यवस्था हटाइसक्दा पनि घ्यू निर्यात हुनसकेको छैन । त्यस्ता एजेन्टका कारण नौ महिनादेखि घ्यू निर्यात गर्न नसकेका नेपाली उद्योगीले निर्यात प्रक्रिया नतोकिएका कारण घ्यू निर्यात गर्न नसकेका हुन् ।
केनलाइजिङ एजेन्टले नेपाली घ्यू उद्योगीसँग आयातमा प्रतिकिलो अतिरिक्त दुई रुपैयाँ ४० पैसा कमिसन बुझाउनुपर्ने भएपछि घ्यू निर्यात गरेका थिएनन् । भारतले हरेक वर्ष नेपाललाई एक लाख मेटि्रक टन कोटा दिएको छ ।
नेपालको घ्यू उद्योगको सबैभन्दा ठूलो बजार भारत भएकाले बेलैमा निर्यात प्रक्रिया टुङ्गो नलागे यो वर्षको कोटा घ्यू निर्यात गर्न नसकिने घ्यू उद्योगी मनीषकुमार अग्रवालले बताए । यो वर्षको कोटा सकिन तीन महिना मात्र बाँकी छ । नेपालमा हाल सञ्चालनमा रहेका १५ उद्योगले घ्यू उत्पादन गरिरहेका छन् । बजार नहुँदा तीन उद्योग बन्द भइसकेका छन् । गत वर्षको उपलब्ध कोटामध्येको ४५ प्रतिशत मात्र घ्यूउ भारत निर्यात भएको थियो ।
आज उखु मूल्य निर्धारण
यो वर्षको उखु मूल्य आज निर्धारण हुने भएको छ । चिनी उद्योगी र उखु किसानबीच मूल्य निर्धारणमा कुरा नमिलेपछि धेरै दिनदेखि अल्भिmएको विवाद बिहीबार टुंगिने भएको छ । किसानले यो वर्षको उखु मूल्य प्रतिटन दुई सय ४६ रुपैयाँ मागेपछि विवाद लम्बिएको हो । चिनी उद्योगीले एक सय ९२ रुपैयाँभन्दा माथि दिन नसकिने बताउँदै आएका छन् । गत वर्ष किसानले एक सय ६८ रुपैयाँ उखु मूल्य पाएका थिए । महँगी बढेको भन्दै किसानले गत वर्षको मूल्यभन्दा धेरै माथि मागेपछि विवाद लम्बिएको थियो ।
बुधबार उखु किसान र चिनी उद्योगीबिच बसेको सर्वपक्षीय छलफलले दुवै पक्षलाई असर नपर्ने गरी मूल्य निर्धारण गर्ने सहमति बनेपछि बिहीबार उखु मूल्य निर्धारणका लागि निणर्ायक छलफल हुने एक उद्याेगीले बताए । उनले व्यवसायीले केही बढाउने र किसानले केही घटाउने गरी छलफल भएको बताए ।













































