ताज महल होटलको तेस्रो तलामा पहिलोपटक गोली चलेको आवाज सुन्दा सर गुलाम नुन आत्तिएनन् ।
बि्रटेनको ‘हाई प्रोफाइल’का एसियाली व्यापारीले सोही होटलको रेस्टुरेन्टमा रातको खानाका लागि टेबल ‘बुक’ गरिसकेका थिए । तर, अन्तिम समयमा उनले बिसन्चो अनुभव गरे । र, कोठामै रातको खाना लिने विचार गरे । कोठामा उनका भाइका साथै अन्य दुई व्यापारी साथी थिए । ‘योजना परिवर्तन गरेकाले मर्नबाट जोगिएको हुन सक्छु, किनकि आतंकवादी पहिले रेस्टुरेन्टमै छिरे होलान्,’ सर गुलाम भन्छन् ।
| मुम्बई हमलालाई नजिकबाट निहालेका भारतीय मूलका ‘हाई प्रोफाइल’ ब्रिटिस व्यापारीको त्रासदीपूर्ण अनुभव |
मुम्बईमा जन्मेका सर गुलाम ‘कुरे किङ’ उपनामबाट चिनिन्छन् । भारतीय तयारी खानाको बि्रटेनमा हुने उनको साप्ताहिक कारोबार एक दशमलब पाँच मिलियन डलरबराबर छ । ‘सुरुमा कसैको विवाहको आतिसबाजी भइरहेको हामीले अनुमान गर्यौँ, कुनै मूर्खले लबिमा नै पटाका पड्काएको हाम्रो सोचाइ थियो,’ उनी भन्छन् । आतिसबाजी हेर्न झ्यालबाट हेरे उनीहरूले । तर, आतिसबाजी थिएन, आतंक थियो बाहिर ।
‘कोही मानिस भवनभित्र दौडिरहेका र कोही आतंकित भई भागिरहेका देख्यौँ,’ उनी भन्छन्, ‘त्यति नै वेला बम विस्फोट भयो, भुइँचालो गए जसरी, सम्पूर्ण बिल्डिङ नै हल्लियो, त्यसपछि त लगातार विस्फोट भइरहे, म भन्डै बाहिर भागेको थिएँ, तर प्वालबाट चिहाएर हेर्दा एके ४७ बोकेको व्यक्ति कोरिडरमा आउँदै गरेको देखेँ ।’
उनले स्वागत कक्ष (रिसेप्सन) मा रहेका ड्युटी म्यानेजरलाई फोन गरे । ‘आश्चर्यजनक रूपमा उनी अझै त्यहाँ रहेछन्, उनले मलाई ढोका बन्द गरेर बस्न भने, हातमा बन्दुक बोकेका मानिस अमेरिकी र बि्रटिस नागरिकलाई खोज्दै रहेको जानकारी पनि उनैले दिए,’ उनी भन्छन् ।
अनि टेलिभिजन पनि चल्न छोड्यो । एयर कन्डिसन पनि बन्द भयो । कोठाको तापक्रम निकै बढ्यो । तर, उनको मोबाइल अझै चलिरहेको थियो ।
उनको परिवारले होटलको माथिल्लो तलामा आगो लागेको जानकारी फोनबाट दियो । ‘कोरिडोरमा धुवाँ आइरहेको म देख्न सक्थेँ, म्यानेजरले ढोकाको प्वालमा चिसो तौलिया राख्न भने, तर पनि धुवाँ आइरहेको थियो, सेना अचम्मका थिए, उनीहरू आतंकवादीलाई खोज्दै तल र माथि गरिरहेका थिए । तर, होटलका पाहुनाप्रति कुनै चासो दिइरहेका थिएनन् ।’ ७२ वषर्ीय सर गुलाम राति साढे नौ बजेदेखि बिहान ६ बजेसम्म कोठाभित्रै थुनिए ।
‘रातभरि गोली चल्यो, झुक्किएर कमान्डोले गोली हान्न सक्ने भएकाले हामीलाई कोठाबाहिर नआउन भनिएको थियो, आफ्नै तलामा रहेका दुई आतंकवादी हामीले देख्यौँ । हाम्रै कोठाबाहिर गोली चलिरहेको पनि सुन्यौँ । निकै डरलाग्दो अनुभूति थियो त्यो, कुनै पनि वेला ढोकामा गोली प्रहार गर्दै आतंकवादी भित्र छिर्न सक्ने डर लागिरह्यो । कतिवेला ढोका चहार्दै विदेशी खोज्नतिर लाग्ने हुन् भन्ने डर भइरह्यो ।
पुत्पुताइरहेको धुवाँको सामना गर्ने कि होटलमा जारी रगतको लडाइँको सामना गर्ने ? कुनै एक निर्णय गर्नु थियो उनलाई । ‘कोरिडरमा जान सक्दिनँ भन्ने मलाई थाहा थियो, त्यसैले झ्यालबाट हेर्दै कोठामै बसिरह्यौँ, तल एम्बुलेन्स आएको, त्यसमा लास राखिएको हामी माथिबाटै हेरिरहेका थियौँ । केही घन्टापछि दमकलका मान्छेले झ्याल फुटालेर क्रेनको सहयोगले हामीलाई तल झारे । तल बसेका होटलका म्यानेजरले बाँचेकोमा हामीलाई शुभकामना दिए, होटलका कर्मचारी आफ्नो ज्यानको बाजी थाप्दै रातभरि बसेछन्,’ उनी अनुभव सुनाउँछन् ।
होटलबाट भाग्दा यी व्यापारीले केही पनि बोक्न भ्याएनन् । ‘पासपोर्ट, आवश्यक औषधी र लुगा लिने समय पनि पाइनँ मैले,’ उनी भन्छन् ।
आतंककारीको हमलाबाट जोगिएपछि उनले बिहीबार सर्ट, पाइन्ट र औषधी किने । अनि नयाँ पासपोर्ट बनाउन बि्रटिस हाई कमिसनकहाँ पनि पुगे उनी ।
टोनी ब्लेयर, गोर्डन ब्राउन र पि्रन्स अफ वेल्सका साथी सर गुलाम बम्बईमा जन्मे र भारत स्वतन्त्र हुँदासमेत त्यहीँ थिए । ब्रिटेनमा बस्ने भए पनि उनी हरेक वर्ष मुम्बई आइरहेका हुन्छन् । १९९३ को बम विस्फोटका वेला पनि उनी मुम्बईको ताज होटलमै थिए । त्यतिवेला उनको ड्राइभरलाई चोट लागेको थियो ।
‘मुम्बईका मानिस बहादुर छन्, आज बम विस्फोट भए पनि भोलिदेखि काममा जानेहरूको भीड रेलमा उत्तिकै हुन्छ । यस्तो हमलाबाट डराए आतंकवादी आफ्नो जित भएको ठान्छन्,’ उनी भन्छन् ।
सो हमलामा इस्लाम अतिवादीको संलग्नता रहेको सुन्दा तर्सिएको बताउँछन् गुलाम, ‘म मुस्लिम हुँ, त्यसैले हमलामा उनीहरूको संलग्नता छ भन्दा सहन गाह्रो हुन्छ, यो वास्तविक इस्लामको काम होइन, त्यस्तो कुनै धर्म छैन जसले मानिसलाई आतंकित बनाउने काम गर्छ । उनीहरू बि्रटिस र अमेरिकनलाई खोजिरहेका थिए, अफगानिस्तान र इराक युद्धमा हामीले अमेरिकालाई साथ दिएकाले त्यसो गरेको हुन सक्छ ।’